भन्सार घटेपछि सुनको भाउ ओर्लियो

२ साउन, काठमाडौं । यस हप्ता नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । चाँदीको भाउ भने साताको अन्त्यमा सामान्य उकालो लागेको छ ।
यस हप्ता सुनको भाउ अन्तर्राष्ट्रिय मूल्यका कारणमात्र नभई सरकारले बजेटमार्फत आयात भन्सार दर घटाएपछि आरालो लागेको हो । असार ३१ गते तोलाको ५० हजार २ सयमा किनबेच भएको सुन साउन १ गते ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी आयात भन्सार दर प्रतिशत ग्राम ५ हजार २ सयबाट ४ हजार २ सयमा झारेपछि ठूलो अन्तरले सुनको भाउ ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर, चाँदीमा भने प्रतिकिलो ४ हजार ६ सयबाट बढाएर ५ हजार ६ सय भन्सारदर कायम गरेपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेपनि नेपाली बजारमा सामान्य बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा विगत आठ महिनाकै न्यून विन्दूमा सुनको भाउ पुगेपछि नेपालमा पनि त्यसको प्रभाव पर्न गएको हो । विशेषगरी अमेरिकाको संघीय बैंक यो वर्षको अन्त्यतिर बचत ब्याज बढाउने नीतिमा अडिग देखिनु र अमेरिकी आर्थिक सूचकांक मजबुत देखिएपछि डलर अन्य देशको मुद्राको तुलनामा बलियो हुँदै गइरहेको छ ।
जसले गर्दा सुनमा हुने लगानी प्रभावित भएको छ । अमेरिकामा औद्योगिक उत्पादनमा भएको वृद्धिसँगै गैह्र कृषि क्षेत्रको रोजगारीमा भएको सुधारले पनि अर्थतन्त्र सवल हुँदै गएको छ । अर्कोतिर सुनसँग समानान्तर सम्बन्ध रहने तेलको मूल्यमा गिरावट कायम नै रहनुले पनि सुनको मूल्यमा सुधार आउन सकेन ।
ग्रीसको संसदले अन्तर्राष्ट्रिय मुद्राकोष र युरोपेली संघीय बैंकको सर्तका पक्षमा मतदान गरेपछि हाललाई ग्रीस युरोजोनबाट बाहिरिने खतरा टरेको छ भने ऋण योरोजोनले चाहेजस्तै समाधान उन्मूख भएकाले शेयर बजार सकरात्मक दिशातिर बढेको हुनाले सुनमा हुने लगानी खुम्चिएको हो ।
यही क्रम जारी रहेमा आगामी हप्ता सुनको भाउ ४९ हजारको हाराहारीमा कायम रहने आँकलन गरिएको छ ।

,

0 comments

Write Down Your Responses