२३ दिनकी बालिकाले दान गरिन् आफ्ना दुबै मृगौला

बेलायतकी एक २३ दिने बालिका अंगदान गर्ने विश्वकी सबैभन्दा कम उमेरकी मानिस बनेकी छिन् । २३ दिनकी बालिकाद्वारा अंगदान, त्यो पनि दुइवटै मृगौला । सुन्दैमा अनौठो, अपत्यारिलो तथा डरलाग्दो लाग्नसक्छ । तर ती बालिकाका बाबुआमाले आफ्नी नाबालिका छोरीका दुइवटै मृगौला दान गरेर दुनियामा अहिलेसम्म कसैले गर्न नसकेको ‘धर्म’ कमाएका छन् भने ती बालिका अमर बनेकी छिन् ।
आमा एमी र बुवा लियाम डग्लेबीको कोखबाट बेलायतको इष्ट योर्कशायरमा जन्मिएकी मिनी डग्लेबी जन्मिँदै मुटु सम्बन्धी जटिल रोगबाट पीडित थिइन् । साथै उनको घाँटीका महत्वपूर्ण मांशपेशी पनि थिएनन् । त्यसैले डाक्टरहरुले ती बालिका जन्मिएको २४ घण्टामै यो दुखद कुरा उनका बुवाआमालाई सुनाए अनि नाबालिकालाई शल्यक्रिया गरेर पनि बचाउन नसकिने दुखेसो पोखे ।

डाक्टरले सुनाएको खबर अवश्य पनि निकै दर्दनाक थियो । तर डग्लेबी दम्पति डगमगाएनन् । उनीहरुले छोरीलाई बचाउने प्रयासमा आशाहीन शल्यक्रिया गरेर  दुख दिनुभन्दा उनलाई शान्तपूर्वक मृत्युवरण गर्न दिने हृदयविदारक निर्णय गरे ।
पीडाको त्यो क्षणमा उनीहरुले अर्को स्वार्थहीन तथा महान निर्णय पनि गरे ।
बच्ची जन्मिएको लीड्स जनरल इन्फर्मिटी अस्पतालका डाक्टरहरुसँग उनीहरुले एउटा आश्चर्यजनक जिज्ञासा राखे । २३ दिने छोरीको मृत्यु भएपनि उनका अंगहरु दान गर्न सकिन्छ वा सकिँदैन ? भन्ने प्रश्न उनीहरुको थियो ।
Minnie_Duggleby1
उनीहरुको त्यो प्रस्ताव अस्पतालले पारित गरेसँगै ती बालिकाको मृत्यु लगत्तै उनका दुइवटै मृगौला झिकियो र ती मृगौला एकजना वयस्क मानिसमा प्रत्यारोपण गरियो । बालिकाका मृगौला प्रत्यारोपण गरेका ती व्यक्तिले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।
आमा एमीका अनुसार छोरी नबाँच्ने निधो भएपछि आफुहरुले यस्तो निर्णय लिएको भन्दै छोरी आफु नबाँचेपनि अरुको जिवनमा बदलाव ल्याउन सक्छिन् भन्ने सोँचाइ आफुमा आएको बताइन् । आफुले २८ वर्षसम्म गर्न नसकेको काम छोरीले जन्मिने बित्तिकै गर्न सकेको उनको भनाइ छ ।
३७ हप्तामा जन्मिएकी मिनी जन्मिँदा झण्डै ६ पाउण्डकी थिइन् । हलक्क सप्रिएकी छोरी देख्दा खुसी भएका उनका बुवाआमालाई छोरीको सरीरभित्र त्यस्तो कठीन रोग थियो भने कल्पना पनि थिएन । परिवारमा दोश्री छोरीको जन्म हुँदा बाबुआमा निकै खुसी थिए । बहिनी जन्मिएकोमा ३ वर्षकी लिली पनि पुलकित थिइन् । तर आखिर बालिका जन्मिएपछि डाक्टरहरुले उनको चेकजाँच गर्दा ट्राकियोओइसोफ्याजियल फिस्टुला भन्ने समस्या रहेको एकिन गरे ।
अर्थात् उनको घाँटी र पेट जोड्ने नली राम्रोसँग जोडिएको थिएन । उनलाई तत्कालै आकस्मिक शल्यक्रियाका लागि रातारात लीड्स अस्पतालमा पूराइयो । त्यो शल्यक्रिया सफल पनि भयो । तर डाक्टरहरुले उनको मुटुमा पनि गम्भीर समस्या रहेको र मुटु राम्रोसँग विकशित नभएको पत्ता लगाए । डाक्टरहरुका लागि ती बच्चीको ५ वर्षभित्रमा ३ पटक मुटुको सर्जरी गर्नुपर्ने र त्यसो गर्दा सफल भैहाले पनि बच्ची ३० वर्षभन्दा धेरै नबाँच्ने बताए ।
यति मात्र होइन, ती बच्चीको घाँटीमा महत्वपूर्ण मांशपेशी नै नरहेको र अर्को शल्यक्रिया समेत गर्नुपर्ने बताइयो । अन्त्यमा डाक्टरहरु यो निष्कर्षमा पुगे की मिनीको अवस्था यतिधेरै नाजुक थियो की उनी अब एउटै शल्यक्रिया गर्दा नै ब्युँझिने अवस्थामा थिइनन् । तत्कालै शल्यक्रिया नगरे पनि बालिकाको मृत्यु हुने र शल्यक्रिया गरेपनि सफल नहुने अवस्था आएपछि डाक्टरहरुले उनका बुवाआमालाई सबै कुरा भने । त्यसपछि एमी र लिआमले छोरीको मृगौला दान गरेर मर्न लागेको अर्को मानिसलाई बँचाउने निधो गरे ।

,

0 comments

Write Down Your Responses