मेजर पत्नी लतासाको रहस्यमय मृत्युले सनसनी : हत्या भएको माईतिपक्षको दाबी

काठमाडौं ।


नेपाली सेनाका मेजर विष्णु कार्कीकी २२ बर्षीया पत्नीको रहस्यमय मृत्यु भएको छ । मेजर परिवारले घरको छतबाट खसेर मृत्यु भएको बताएपनि माइती पक्षले भने हत्या भएको आशंका गरेका छन् । हत्या भएको आशंकामा उनीहरुले प्रहरीमा उजुरी दिएका छन् ।
७ महिनाअघि मात्र नुवाकोट घर भएका मेजर कार्की र धरानकी लतासा विवाह बन्धनमा बाँधिएका थिए । विवाह भएको दुई सातादेखि नै मेजर कार्कीले यातना दिने गरेको माइति पक्षले बताएका छन् । मृत्यु भएकै दिन लतासाले धरानमा रहेकी आमा शारदासँग टेलिफोन संवाद गरेकी थिइन । संवादमा आफ्नो ज्यान खतरामा रहेको आमालाई बताएकी थिइन । श्रीमानले आफुलाई निरन्तर मानसिक र शारीरिक यातना दिने गरेको बताएपछि तत्कालै आमा शारदा काठमाडौं हिडेकी थिइन । काठमाडौ आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।
नुवाकोट घर भएका मेजर कार्की पत्नी लतासासँगै काठमाडौको धापासीमा बस्दै आएका थिए । कार्की परिवारले घरको छतबाट खसेर घाइते भएको उपचारका लागि ग्रान्डी अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताएका छन् । तर माइती पक्षले भने उक्त भनाईलाई अस्वीकार गरेका छन् । लतासाको स्वभाविक मृत्यु नभई हत्या भएको दावी गर्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका छन् । पत्नीको मृत्युपछि पनि मेजर कार्की सम्पर्कमा आएका छैनन् ।
माइती पक्षले हत्या भएको आशंकामा महानगरीय प्रहरी बृत्त महाराजगन्जमा उजुरी दिएपछि लतासाको अन्त्यष्टी रोकिएको छ । सीतापाइला स्थित एभरेष्ट कजेलमा बीबीए तेस्रो बर्षमा अध्ययनरत लतासाले बुधबार मात्र आफ्ना बाबुलाई भेटेकी थिइन । उनले बाबुसँग आफु अप्ठेरोमा परेको पनि बताएकी थिइन ।

0 comments

Write Down Your Responses