हरि पराजुलीका पक्षमा १० जना उभिए मेरो पक्षमा एक हजार वकिल उभिन्छन्: रामकुमारी झाँक्री (अन्तर्वार्ता)
केन्द्रीय सदस्य, नेकपा एमाले
२०७२ असार २२ गते
कृषिमन्त्रीबाट राजीनामा दिएका एमालेका केन्द्रीय सदस्य हरि पराजुलीले अदालत गुहार्ने चेतावनी दिएपछि नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री झनै कठोर रुपमा प्रस्तुत हुन थालेकी छिन् । एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा अत्याधिक मत पाएर निर्वाचित भएकी झाँक्रीले पार्टीभित्रका विकृतिलाई सामाजिक सञ्जाल तथा मिडियाहरुमा छताछुल्ल पार्ने गरेकी छिन् । नेपालको विद्यार्थी आन्दोलनबाट खारिएकी झाँक्री किन पार्टीमा स्थायी प्रतिपक्षीझैँ उभिएकी छिन् ? यसैको जवाफ खोजेका छन् दैनिक नेपालका विश्वास खड्काथोकीले:
कृषि मन्त्रीको फोटो र भिडियो सार्वजनिक भएपछि तपाईँ फेसबुकमार्फत निकै कडा रुपमा प्रस्तुत हुनुभयो, यो त पार्टीमा राख्दा राम्रो हुन्थ्यो होला नि ?
त्यतिबेला म लमजुङमा थिएँ । निकै धेरै पत्रकार साथीहरुले प्रतिक्रिया माग्न फोन गर्नुभएको थियो । त्यसपछि मैले मेरो नीजि बिचार फेसबुकमा राखेकी हुँ । त्यति कुरा राख्नका लागि केन्द्रिय कमिटीको बैठक कस्ले डाक्छ ? मैले ऐन मौकामा मेरो कुरा भनिन भने, म जिउँदो छु कि छैन भन्ने हुन्छ । यस्ता कुरा राख्नका लागि पार्टीमा बन्देज पनि छैन । म भन्दा दिग्गज नेताहरुले पनि कस्ता कस्ता विवादित विषयबारे फेसबुकमा लेखेका छन् । बरु, म विवादित विषयमा कम बोलेकी छु ।
हरि पराजुलीजीले नियतबश त्यस्तो काम नगरेको प्रतिक्रिया दिँदै आउनु भएको छ ?
नियतबश थियो या थिएन त्यो हामीलाई थाहा हुने कुरा भएन । तर त्यहाँ त्यतिधेरै मानिस थिए, सुरक्षा अंग थिए त्यो ठाउँमा उहाँले नियत राखेरै त्यस्तो व्यवहार गर्नुभयो होला भन्ने त मलाई पनि लाग्दैन । तर, जे काम भयो त्यो अशोभनीय छ । सार्वजनिक व्यक्तित्वले गर्ने काम उहाँले गर्नु भएन ।
राजीनामा नै दिनुपर्ने स्तरको गल्ती हो त उहाँको ?
राजीनामा नगराउने कुरै आएन नि । नियत थियो या थिएन त्यो अलग कुरा हो । तर, काम त गलत भयो नि । गलत काम गरेपछि उहाँले नैतिक जिम्मेवारी लिनुपर्छ । त्यो भनेको सरकारमा भएपछि पद छाड्ने नै हो ।
उहाँले मन्त्री त छाडिसक्नु भयो, एमालेको केन्द्रीय सदस्यमा हुनुहुन्छ । त्यहाँ चाँहि कारबाही हुन्छ कि हुँदैन ?
‘चेक एण्ड व्यालेन्स’का लागि पार्टीमा अनुशासन आयोग छ । अनुशासन आयोग पार्टीको केन्द्रिय कमिटी जस्तै शक्तिशाली छ । उहाँहरुको ध्यान पुगेको होला । नपुगे पनि निवेदन परेको होला । आयोगले केही न केही गर्ला र गर्नुपर्छ । मैले आयोगका अध्यक्षभन्दा अगाडि बढेर कुरा गर्न मिल्दैन । बरु, अध्यक्षलाई दबाब दिन मिल्छ ।
भूकम्पपछि एमालेको स्वयंमसेवक परिचालन अभियानले जनता माझ राम्रो छाप छोडेको थियो, यो प्रकरणले त बदनामको भारी बोकायो, हैन ?
यो मात्र होइन, मन्त्री नियुक्ति लगायत अन्य निर्णय पनि विवादास्पद छन् । एक युग महिलामाथि हिंसा गरेका मान्छेहरु मन्त्रीमा छन् । यसले हाम्रो नेतृत्वले कस्तो मान्छे छान्छ, नेतृत्व कत्तिको जवाफदेही छ भन्ने देखाउँछ । हामीजस्ता गधा भएर काम गर्ने त छँदै छौँ नि । तर पार्टी बद्नाम गर्ने त त्यस्तै खल्तीका मान्छेहरुले हुन् ।
तपाईँ र केही मिडियालाई मानहानीको मुद्दा हाल्ने पराजुलीको प्रतिक्रिया आइरहेको छ, मुद्दा लड्न तयार हुनुहुन्छ ?
उहाँले निर्दोष छु भनेर मुद्दा दिनु भए धेरै राम्रो नि । हामीलाई सजाय भयो भने त अबको दिनहरुमा सबैको मुख टालिएला नि त !
त्यसो भए तपाईँ मुद्दा झेल्न तयार हुनुहुन्छ ?
त्यो फोटो र भिडियो हेर्दा मन्त्रीले ठिक काम गर्नुभयो वा आशिर्वाद लिएको हो भनेर कसैले भल्ला जस्तो लाग्दैन । त्यो कार्य गलत नै थियो । म त्यसको ‘डिफेन्स’ गर्छु । उहाँले चार जना अधिवक्ता, दुई जना भुतपूर्व महान्याधिबक्ता र १० जना वकिलाई बोल्न लगाउने कुरा गर्नु भएको छ रे । म दाबाका साथ भन्छु, उहाँका १० जना आउँछन् भने मेरा पक्षमा वकालतनामा गर्न एक हजार जना आउँछन् ।
पार्टीले एक जना मन्त्रीलाई त फिर्ता बोलायो तर त्यस्ता खराव आचरण भएकाहरुलार्ई कहिले कारवाही गर्ला भन्ने आशयको स्टाटस सार्वजनिक गर्नु भएको थियो । कुन–कुन नेतालाई भन्न खोज्नु भएको हो ?
मैले पर्यटन मन्त्री कृपाशुर शेर्पाको कुरा उठाएकी हुँ । उहाँ अहिलेको मन्त्री भएकोले पनि प्रश्न उठाएँ । नागरिकको हैसियतले यस्तो कुरा उठाएकी हुँ । अहिले महिला हिंसा, महिलाको अधिकार, समानताको तमाम मुद्दा सतहमा छन् । हामीले यस्ता मान्छे मन्त्री बनाउँछौ भने महिला संरक्षित, सुरक्षित छन्, न्याय पाउँछन् भन्ने कुरा कसरी परिकल्पना गर्न सकिन्छ ? त्यस्ता मान्छेहरुले सरकारको नेतृत्व गर्दा कस्तो कानुन् बन्छ ? हाम्रै पार्टीमा केही बहुविवाह गर्नेहरु पनि हुनुहुन्छ । त,र त्यसमा मलाई मुद्दा हाल्न हक हुँदैन । पार्टीभित्र नैतिक प्रश्न चाँहि उठाइन्छ । महाधिबेशनमा ब्यानरनै टाँसेर कुरा उठाएका थियौँ । त्यो ब्यानर राति कसले फालेछ ।
यस्तो कुराको फेसबुकमा मात्र हल्ला गरेर बस्ने कि पार्टीभित्र अभियाननै सञ्चालन गर्ने ?
अध्यक्ष कमरेड (केपी शर्मा ओली) ले चार जना मन्त्री हटाइसक्नु भएको छ । त्यसका कारण के हुन् हामीले थाहा त पाएनौँ, एउटाको सम्म थाहा पायौँ । अध्यक्षले गलत काम गर्ने मान्छेलाई हटाउँदै जानुभएको छ । उहाँले कृपाशुरलाई हटाउनुहुन्छ भन्नेमा म विश्वस्त छु । किनकी एउटा मान्छेको जिन्दगी ३७ वर्षसम्म प्रताडनामा बितेको छ । परिकल्पना गर्नुहोस्, ती आमाको जवानी कसरी बिते होला ? हाम्रा नेताको छोरीबहिनीलाई त्यस्तो परेका भए के गर्थे ? यस्ता गलत तत्वलाई आजको दिनमा क्षमा गर्नु हुँदैन । उहाँले राजीनामा गराउनुभएन भने म मात्र होइन् तमाम महिलाहरुले केही गर्नुपर्छ ।
विचार कम्युनिष्ट लिने अनि बहुविवाह गर्नेहरु धेरै छन् हगी ?
हाम्रो पार्टीमा बहुबिवाह, यौन हिंसाजस्ता विषयहरुलाई क्षम्य मानिँदैन । कुनै समय यस्तो थियो, प्रेम सम्बन्धलाई पनि पार्टीले स्वभाविक मान्दैनथ्यो । पार्टीमा केही बहुविवाह गर्नेहरु नभएका होइनन् । माओवादीहरुमा चाँहि डिभोर्स गराएर विवाह गर्ने अलि बढी नै देखिएको छ । माओवादी, जनमोर्चा लगायतका पार्टीमा यस्तो कुरा स्वभाविक जस्तो देखिन्छ ।
तपाईँ पार्टीमा सँधै प्रतिपक्षझै देखिनुहुन्छ नि ?
यति तलको कार्यकर्ताको सन्तुष्टि र असन्तुष्टिको अर्थ हुँदैन । केन्द्रीय कमिटिको मंसिर २२ गतेदेखि बैठक बसेको छैन । पार्टीको गतिविधिबारे हामीलाई केही थाहा नै छैन । आँखा नदेख्नेलाई दिन हो कि रात हो, उस्तै लाग्छ नि । हो, हामी त्यस्तै भएका छौँ ।
उसो भए तपाईँजस्तै धेरै केन्द्रीय नेताहरुको आँखामा पट्टि बाँधिएको छ ?
हो, केही पनि थाहा छैन ।
के कुरामा तपाईंको असन्तुष्टि ?
मान्छेहरु कसरी मन्त्री भए तिनका बारेमा हामीलाई केही थाहा छैन । पार्टी पद्दतिमा निर्णय गरेर अनुमोदन गर्ने चलन हुन्छ । त्यस्तो हुँदा तुलनात्मक रुपमा क्षमतावान, पार्टीलाई योगदान गरेकालाई लैजान सकिन्थ्यो । हिजो पार्टीमा संगठिन हिसाबले योगदान गरेको, चरित्र भएको र काम गर्नसक्ने क्षमता राख्ने मान्छेलाई बनाउन सकिन्थ्यो । पैसामा योगदान गर्ने मान्छेलाई सभाषद, मन्त्री बनाउने, गुटको लिस्टमा हालेर केन्द्रीय सदस्य जिताउने गरिएको छ । यो आन्दोलन कहाँ लैजान खोज्या हो ? मेरो गम्भीर आपत्ति भनेको यसैमा हो । हामी पार्टीमा लागेबापत नियमित पार्टीलाई पैसा तिर्छौँ । हाम्रो स्वाभिमानलाई सौदाबाजी गरेर पैसामा योगदान गरेका मान्छेलाई लाभका पदहरु दिने काम भएको छ ।
अहिले एमालेको इफिसेन्सीमा एकदम प्रश्न उठेको छ । खल्तीका पनि काम नलाग्ने सडे का, गन्हाएका मान्छेहरुलाई मन्त्री बनाइएको छ । एकाध मान्छेबाहेक मन्त्रिपरिषद्मा पठाएका मान्छेको पर्फमेन्स राम्रो छैन । यो सबैभन्दा कमजोर टिम हो ।
स्रोत दैनिक नेपाल
0 comments
Write Down Your Responses