दोलखा, पुस ५ - शान्तिको प्रतीक मानिने मानिसप्रेमी पङ्छी परेवा हरेक मिनेटमा एउटाको दरले घटिरहको छ भीमेश्वर मन्दिर परिसरबाट ।
यस्तो डरलाग्दो पङ्छीसंहारको श्रृङ्खला दोलखा बजारस्थित भीमेश्वर मन्दिर परिसरमा पुगेपछि देख्न सकिन्छ ।
बाटो, गल्ली, डबली, घरका छाना, टुडाँल, आँगन, वरपर मृत परेवाका डङ्गुरले सिरिङ्ग बनाउछ जो कोहीलाई । परेवा संहारको यस्तो भयावह रोक्न हप्तादिनसम्म प्रयत्न भएको देखिदैन । 'हप्ता दिनमा पाँचहजार हाराहारीमा परेवा गायव भए मन्दिर परिसरबाट,' भीमेश्वर मन्दिर पुजा तथा गुठी व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले शनिवार चिन्ता व्यक्त गरे । यो संख्या दैनिक करिब सातसयको दरले हुन आउछ ।
समिति अध्यक्ष जीवन श्रेष्ठले परेवा बँचाउन उपाय खोज्दै आइतबार पशु सेवा केन्द्रमा जाने बताए । जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक रामचन्द्र सापकोटाले ठूलो संख्यामा परेवा मर्नुमा भइरसको कारण हुनसक्ने बताउँदै शनिवार नै कर्मचारी पठाएर उपचार थाल्ने बताए ।
पहिला १० हजार हाराहारीको संख्यामा परेवा भएको अनुमान थियो । भक्तजनले चढाएको र कोरलेर बढेका परेवाहरुले परिसरमा आकर्षण भरेको थियो । भक्तजनहरु धर्म र मायाले मकै र चामल लिएर उभिनेवित्तिकै परेका हुल भुरुरु उडेर भुईमा वस्थे । त्यसपछि भक्तजनले अन्नलाई विस्तारै भुईमा फालिदिन्थे । त्यसलाई परेवाहरुले एकैछिनमा खान्थे र उडेर जान्थे । परेवा उड्दा निस्किएको हावा स्वस्थ्यकर हुन्छ र धर्म हुन्छ भन्ने विश्वासले परेवाको खान्की टरेको थियो ।
'यस्तो भयो कि छरिएका अन्नहरु खानेसम्म पनि हुन छाडे,' पूजासामाग्री व्यापारी दिपक नेपाली चिन्ता गर्छन । उनका अनुसार करिब १५ वटा जति मन्दिरछेऊका पसलहरुबाट दैनिक २० केजीका दरले मकै, चामल र गहु परेवालाई खुवाउन बिक्री हुन्थ्यो । शनिवार, मंगलबार र जात्रा पर्वका बेला त दैनिक ४० केजीसम्म अन्न विक्थे । 'खान आइदिने नभएपछि त्यसको विक्री शून्य जस्तै भयो ।' दिपकको अनुमानमा कुकुरमा लाग्ने झिंगाले परेवालाई आक्रमण थालिएपछि संहार सुरु भएको हो । झिंगाले परेवाको पखेटामुनी वा अन्यत्र गएर टोकिदिएपछि ज्वरो आउछ । त्यसपछि परेवाले मुन्टो घुमान थाल्छ र क्षणभरमै मरिहाल्छ ।
यस्तो रोगको संक्रमण पहिले पनि देखिन्थ्यो । 'तर यस्तो विधि परेवा मरेको घटना पहिलो हो,' मृत परेवा फाल्दै हैरानीमा परेका मन्दिरका टहलुवा काशीनारायण श्रेष्ठ बताउछन् । मन्दिर सफा गर्ने क्रममा यत्रतत्र परेवा कुहिएको पाइन थालेपछि मानिसलाई पनि खतरा हुने भय उनले सुनाए । भुईमा खसेको मात्रै फालिन्छ । रुखमा, घरका छत र नदेखिने स्थनमा मरेकाहरु त्यहीँ कुहिनाले गन्ध फैलने डर काशीनारायणको छ ।
.jpg)

0 comments
Write Down Your Responses