जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्, धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू ‘ज्योतिष पण्डित’को साइनबोर्ड झुन्ड्याएर बसेका छन् । लुटेरा बाबा र माताका काला कर्तुत उतारेका छन्, अम्मर जिसीले ।
………
सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ । दिउँसोको साढे ३ बजे केही महिलामात्र ‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँ महिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाई प्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले ‘ज्योतिष सेवा’ दिइरहेका थिए । लामो चुल्ठो पालेका उनले एउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकै स्टुलमा एक अधबैँसे महिला राखेका थिए । महिलाको कपडाभित्र उनका दुवै हात सलबलाइरहेका थिए । ती महिलापछि एक किशोरीको पालो आयो । उनको पनि कपडा छिचोलेर पेटतिरबाट ज्योतिषका हात सलबलाउन थाले । ती किशोरी काउकुतीले भुतुक्क भइन् । ‘के काउकुती मान्या, मोरी’ भन्दै टीकाले गाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँग ठट्टा गर्दै उनले आफ्नो काम जारी राखे । अर्की छोरी समाएर बसेकी ती किशोरीकी आमा छेउमै थिइन् । किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसम खुवाए ज्योतिषले, ‘अबदेखि बुवासँग रिसाउन्न । ठूलाले भनेको मान्छु । नराम्रो संगत छोड्छु…।’ त्यसपछि उनले किशोरीलाई कम्मरमा बुटी बानिदिए । र, शुल्क लिए, एक हजार रुपैयाँ ।
आधा घण्टाको बीच उनले चारपाँच जना महिलासँग यही प्रक्रिया दोहो¥याए । ‘मैले गाउँमै ज्योतिष विद्या पढेको हुँ,’ उनले शुक्रवार संवाददातासँग गाह्रो मानेर कुरा गरे, ‘यहाँ केन्द्र खोलेको १४ वर्ष भयो । धेरै विधि हुन्छन् ज्योतिष उपचारका । धेरैले विश्वास गरेर त अहिलेसम्म टिकेको छु । दिनमा कहिले पाँच सय त कहिले पाँच हजार रुपैयाँ कमाइन्छ । धेरैलाई निको पारिसकेको छु ।
उनको यो केन्द्रमा धाउने अधिकांश महिला हुन्छन् । अस्पतालमा बिरामीको जत्तिकै त्यहाँ पनि लामै लाइन बस्नुपर्छ । डाक्टरकोमा धाउँदाधाउँदा हैरान परेर उहाँकोमा आएकी छु,’ उपचार गराउने एक महिलाले भनिन्, ‘मलाई त डाक्टरको भन्दा गुरुबाको उपचारमा विश्वास लाग्छ । उहाँको झारफुकले पीडा कम भएको छ ।
सेक्समार्फत उपचार
नयाँबानेश्वरस्थित संविधासभा भवनको सीधा अगाडि छ, महाकाली ज्योतिष तथा हस्तरेखा विज्ञान केन्द्र । यसका सञ्चालक हुन्, आफूलाई चर्चित युवा ज्योतिष र ज्योतिषविद्यामा विद्यावारिधिको उपाधि पाएको बताउने हरि खरेल । सधैँजसो मान्छेहरूको भीडभाड भइरहने यो केन्द्र केही दिनदेखि बन्द छ । कारण, उनका कुकृत्यहरू सार्वजनिक भए ।
विभिन्न रोगको उपचारका लागि आफूकहाँ धाउने महिलालाई ‘मसँग सम्भोग गरेमात्र तपाईंको उपचार सफल हुन्छ’ भन्ने सल्लाह दिएर आफ्नो यौनप्यास पनि मेट्ने र पैसा पनि कुम्ल्याउने ज्योतिष हुन् उनी । केही सञ्चारमाध्यममा उनको शोषण सार्वजनिक भएपछि उनी अहिले सम्पर्कविहीन भएका छन् ।
केन्द्रको बोर्डमा लेखिएको छ, ‘कम उमेरमै देशविदेशमा प्रसिद्धि कमाउन सफल ज्योतिष हरि खरेलबाट मानसिक रोग, दम, हातगोडा नचल्ने, बाथ, सुगर, महिलाको मासिक गडबडी, सेतोपानी बग्ने, कम्मर दुख्ने बिरामीको उपचार ।’ देशविदेशका राजनेता, कलाकार, गायिका, नायक–नायिकाको ग्रहफल हेरिसकेका भनेर आकर्षक विज्ञापन पनि गरिएको छ ।
बाँझोपनको उपचारमा भौँतारिइरहेका पुजन (नाम परिवर्तन) को जोडी ज्योतिष खरेलसम्म पुग्यो । ‘पहिला त धेरै रिंगाए हामीलाई पनि । कहिले ग्रहदशा शान्त गर्ने, कहिले पूजाआजा गर्ने त कहिले दान गर्ने भनेर धेरै खर्च गराए,’ पुजनले भने, ‘ज्योतिषले मेरी श्रीमतीलाई ‘मसँग सेक्स गरेमात्र बच्चा हुन्छ’ भन्न थालेपछि हामी पछि हटेका हौँ । उनका अनुसार ज्योतिष खरेलले आफूसँग सम्भोग गरेको तीन वर्षभित्र बच्चा जन्मने आश्वासन दिएका थिए । धेरै महिलाहरूले उपचार सफल हुने विश्वासमा खरेलले भनेअनुसार गरेको पुजनले बताए । ‘यस्ता पाखण्डी ज्योतिषलाई देखाएर के होला भनेर त्यसपछि हामी त्यहाँ जानै छोड्यौँ, उनले भने ।
पीडितहरूको जानकारीका आधारमा समस्या समाधानको पहल गरिरहेको बताए, वैदिक सनातन हिन्दू परिषद् संस्थागत संघर्ष समितिका उपाध्यक्ष रामेश्वर थापाले । ‘हरि खरेलबाट पीडित भएकाहरूको आग्रहमा हामीले यो पहल थालेको हौँ, उनले भने । खरेलले आफूमाथि लागेका सबै आरोप स्विकारेको र सुध्रने मौका मागेको उनले जानकारी दिए । उनका दुई श्रीमतीसमेतलाई राखेर छलफल गर्दा खरेलले माफी माग्ने र अबदेखि त्यसो नगर्ने बताएका छन्, थापाले भने । उनका अनुसार ज्योतिष खरेलले लामो समयदेखि उपचारका नाममा महिलाहरूसँग शारीरिक सम्पर्क गर्दै आएका थिए । विदेशमा श्रीमान् भएका श्रीमतीहरूलाई एक्लोपन हटाइदिने, कसैलाई जोडी मिलाउने त कसैलाई श्रीमान्–श्रीमती छुटाइदिनेसम्मका आश्वासन दिँदा रहेछन्, उनले भने । धर्मको खोल ओढेर मनपरी भ्रम सिर्जना गर्ने खरेलजस्ता व्यक्तिले ज्योतिष विज्ञान र हिन्दू धर्ममै गम्भीर आघात पुगेको थापाको ठहर छ ।
.jpg)

0 comments
Write Down Your Responses