माघ ८ आयो, तर संविधान आएन

काठमाडौं


सहमति र प्रक्रियाको विवादमा कस्सिएको गाँठोबाट संविधानसभा फुस्किन नसक्दा दलहरूले संविधान जारी गर्न प्रतिबद्धता गरेको समय माघ ८ मा नयाँ संविधान जारी हुने सम्पूर्ण सम्भावनाको ढोका बन्द भएका छन् ।

संविधान वा यसको मस्यौदा त परै जाओस् यसका लागि उचित वातावरणको संभवानाको क्षणसमेत समाप्त हुन पुगेको छ ।


दलहरू स्वयम्ले दोस्रो संविधानसभाको निर्वाचनमा जनतासामु मत माग्न जाँदा माघ ८ मा संविधान जारी गर्ने गरेको वाचाको समय घर्किन लागेका बेला यता अवरुद्ध संविधान लेखनका काम सुरु हुन्छ की हुँदैन ? सर्वत्र चासो र चिन्ता छाएको छ ।

संविधान लेखन त टाढा धकेलियो नै । अनि दलहरूबीचमा जोड्ने सेतुको शब्द सहमति कतै ओझेलमा त परेन ?

प्रक्रिया पनि अन्यौलको भासमा भासिन पुगेको छ । मुलुक पुनः एकपटक २०६९ जेठ १४ को मध्यरातमा फर्किन पुगेको छ । दलहरूकै आ आफ्ना अडान, हठका कारण नयाँ संविधान अन्यौलमा परेको हो ।


जुन विन्दुमा तत्कालीन समयमा अकल्पनीयरुपमा संविधानसभा विघटन गराइएको थियो त्यही विन्दुमा आज मुलुकको राजनीति पुगेको छ । तत्कालीन सययमा खासगरी सङ्घीयतामा प्रदेशको निर्माण, सीमाङ्कन, नामाङ्कनका विषयमा नेपाली काँग्रेस र नेकपा (एमाले)सँग एनेकपा (माओवादी)को कुरा नमिल्दा उसले एकतर्फिरुपमा संविधानसभा विघटन गराइदिएको थियो ।

आजका दिनमा आइपुग्दा पनि दलहरूबीचमा सङ्घीयता कै विषय झन पेचिलो रुपमा देखिएको छ । अन्य विवादित अन्तरवस्तु शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा लगभग कुरा मिलिसकेको बताइए पनि मिलन विन्दु पहिल्लिसकेको छैन । गत मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा दलहरूले तिनै मुद्दा लिएर जनतासामु गएका थिए ।

अर्कातर्फ एमाओवादी र मधेसी मोर्चाले संविधानसभामा सोमबार राति देखाएको हर्कतका कारण संविधान निर्माणलाई अवरोध पुर्‍यायो । यसबाट उनीहरूमाथि संविधानसभाबाट संविधान निर्माण नचाहेको हो कि भन्ने आशङ्कासमेत उब्जाएको छ । प्रजातन्त्रमा बुलेटलाईभन्दा बढी ब्यालेटलाई विश्वास गरिन्छ । तर उक्त दिन उनीहरूले संविधानसभामा मच्याएको उदण्डता र कार्यशैलीले कतै उनीहरूले नै संविधानसभालाई अवसान गर्न खोजेको त होइन भन्ने प्रश्न बौद्धिक क्षेत्रमा बहस सुरु गराएको छ ।

दलहरूले जनतासामु गरेको प्रतिबद्धता शितको थोपाजस्तै विलाएर गएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बुधबारको संविधानसभा बैठकमा गम्भीर भएर भने, “माघ ८ गते मुलुक र जनतालाई नयाँ संविधान दिने दलहरूले नै प्रतिबद्धता जनाएको हुन भोलि जनतालाई के जवाफ दिने ?”

0 comments

Write Down Your Responses