हाम्रो विवाह पन्ध्र वर्षअघि भएको हो। मागी विवाह भएकाले सुरुमा मलाई श्रीमान् (इन्द्र गुरुङ)को माया लागिसकेको थिएन। उमेर सानै थियो। विवाहको महत्त्व बुझेकै थिइनँ।
विवाहप्रति ममा उत्सुकता पनि थिएन। त्यही भएर होला, हनिमुन जाने योजना बनेन। अहिलेजस्तो हनिमुनको अर्थ र महत्त्व बुझ्ने भएको भए सायद हामी जान्थ्यौं होला।
प्रकृतिको नियम हामीले पनि पालना गर्यौं। शारीरिक सम्बन्धको मिठासमा नरमाउने कुरै भएन।
विवाह भएको एक वर्षमै बच्चा जन्मियो। त्यसपछि बाहिर जाने मौकै मिलेन। मेरो विचारमा विवाह एउटा सम्झौता हो, श्रीमान्/मती दुवैले सम्झौता गर्नैपर्छ। विवाह केवल शारीरिक सम्बन्धमात्रै होइन, सहकार्य पनि हो।
सानैदेखि पुरुषप्रति राम्रो धारणा नभएकाले म धेरै समर्पित हुन सकिनँ। त्यति बेला श्रीमान् आफूसँगै बसिरहे हुन्थ्यो भन्ने पनि लागेन। जीवनमा खुसी अरूले दिने होइन, आफैं लिने कुरा हो।
पहिले श्रीमान्को त्यति माया लाग्दैनथ्यो। बरु अहिले माया गर्न थालेकी छु। कहिलेकाहीँ सहरतिर सँगै निस्कन्छौं। हनिमुन वा रमाइलोका लागि भनेर काठमाडौंबाहिर गएका छैनौं।
जीवनसाथीको महत्त्व जवानीमा होइन बुढेसकालमा बढी हुन्छ। जीवनसाथी एकअर्काको सहारा भए पनि मलाई अझसम्म कसैकी श्रीमती हुँजस्तो महसुस हुँदैन। तर, मेरो मनमा रहेको श्रीमान्को स्थान अरू कसैले लिन सक्दैन।
मेरो विवाह भएको उमेरमा शारीरिक सम्बन्धको खास महत्त्व बुझेकै थिइनँ। शारीरिक सम्बन्ध जैविक कुरा हो तर सब थोकचाहिँ होइन। विवाह दुई व्यक्ति एक भएर अगाडि बढ्ने यात्राको आरम्भ भएकाले एकअर्कालाई बुझ्न जरुरी छ।
हुन त जीवनमा अरूलाई पूर्ण रूपमा बुझ्न गाह्रो छ तापनि छोटो समयमा एकअर्कालाई केही मात्रामा बुझ्न हनिमुन जरुरी छ। संयुक्त परिवारमा बस्ने जोडीलाई त हनिमुनको समय झनै उपयोगी हुन्छ।
.jpg)

0 comments
Write Down Your Responses