आन्दोलन एक, एजेन्डा अनेक
८ माघ, काठमाडौं । प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन केही दिनदेखि संयुक्त सडक आन्दोलनमा छन् । तर, उनीहरुको गन्तव्य फरक-फरक छ ।
संयुक्तरुपमा आन्दोलन गरे पनि यी दल र मोर्चाले फरक-फरक नारा र उद्देश्य बोकेका छन् । फरक-फरक उद्देश्य र नारा बोकेका दलहरुको आ-आफ्नो स्वार्थमा आन्दोलन भइरहेको छ ।
एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चामा संविधानसभा भित्रका १९ को सहभागिता छ भने संविधानसभा बाहिरका ११ दल छन् । यसअघि दोस्रो संविधानसभा निर्वाचनको बेला निर्वाचन बहिस्कार गरेको नेकपा-माओवादी नेतृत्वमा ३३ दलको मोर्चा थियो ।
वैद्य माओवादी नेतृत्वमा रहेका तत्कालीन ३३ दलीय मोर्चामा रहेका कतिपय दलहरु अहिले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा पनि छन् ।
खासगरी अढाइ वर्षअघि विभाजित भएको एकीकृत माओवादी र नेकपा-माओवादी आफूलाई बढी पहिचान पक्षधर देखाउने प्रयासमा छन् । तर, संयुक्त भनिएको आन्दोलनभित्र द्वीपक्षीय मात्रै होइन, त्रिपक्षीय प्रतिस्पर्धी छन् ।
एमाओवादी आफूले सबै पहिचान पक्षधर भन्नेलाई साथमा लिएर आफ्नो पक्षमा ठूलो शक्ति देखाएर सहमतीय प्रक्रियाबाट संविधान निर्माण गर्ने र कांग्रेस एमालेसँग सत्ता साझेदारी गर्ने योजनामा आन्दोलनमा उत्रेको छ ।
वैद्यको दाउ- संविधानसभा विघटन
मोहन वैद्य नेतृत्वको माओवादी आफूले बहिस्कार गरेको संविधानसभालाई असफल पार्न संविधानसभाभित्र वितण्डा मच्चाउन एमाओवादीलाई उक्साउने र एमाओवादीलाई समेत आफूहरुले सडकमा ल्याएको संविधानसभा असफल भएको प्रमाणित गर्ने प्रयासमा छ ।
पद्मरत्नको दाउ- एकल जातीय पहिचान
संघीयताको प्रश्नमा जनजातिहरु स्पष्टरुपमा एकल जातीय पहिचानसहितको संघीय राज्य चाहन्छन् । जबकि माओवादीहरु एकल जातीय पहिचान चाहँदैनन् ।
तुलाधर नेतृत्वको जनजाति आन्दोलन दुबै माओवादी शक्तिलाई पक्षमा सडकमा उतारेर त्यसको बलमा एकल जातीय पहिचानको पक्षमा तागत देखाउन चाहन्छ ।
आन्दोलन एक, एजेन्डा अनेक
‘पहिचान’मा तीनवटै मोर्चा एक देखिए पनि तीनै मोर्चाको रणनीति पृथक-पृथक छ । तर, नेकपा-माओवादीका सचिव देव गुरुङ माओवादी पार्टी टुक्रा-टुक्रा भए पनि संविधानको मुद्दामा एक रहेको दाबी गर्छन् ।
संविधानसभा नै बहिस्कार गरेको वैद्य माओवादी संविधानसभा असफल भएको प्रमाणित गर्न चाहन्छ । उसले अहिले पनि संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभाको मागमा अडिग छ ।
तर, एकीकृत माओवादी भने अझै पनि संविधानसभाबाटै सहमति गरेर अघि बढ्नुपर्ने भन्दै चौतर्फी दवाव सिर्जना गर्न चाहन्छ । केही दिनदेखि संयुक्त आन्दोलनमा देखिएका यी दलहरु धेरै दिन एकै ठाउँमा टिक्ने सम्भावना निकै कमै छ ।
.jpg)

0 comments
Write Down Your Responses