आज पनि संविधानसभा भित्र र बाहिर आन्दोलन हुने

७ माघ, काठमाडौँ ।


एमाओवादी, मधेशीसहित विपक्षी दलले दुई तिहाइ प्रक्रियाबाट संविधान निर्माण गर्ने काम नरोकेसम्म संविधानसभा र बाहिर आन्दोलन जारी राख्ने बताएका छन् । एकैपटक संविधानसभा र सडक अवरुद्ध गरेका विपक्षीहरुले सहमतिको प्रक्रिया सुरु नभएसम्म आन्दोलनको नीतिलाई यथावत राख्ने जनाएका छन् ।

आन्दोलनबीच कांग्रेस, एमालेसंग संवादको ढोका बन्द नभएको विपक्षीले बताएका छन् । 'सहमतिको प्रयास नभएसम्म संधिवानसभा र बाहिर आन्दोलन जारी रहनेछ' एमाओवादी महासचिब कृष्णबहादुर महराले बताए, 'यसबीचमा दलहरुबीच संवाद जारी रहनेछ ।'

राजनीतिक दलबीच द्वन्द्व घटाउन सहमतिको प्रयास तत्काल हुनुपर्ने उनको भनाइ छ । 'दलहरुबीच सहमति हुने संभावना भयो भने आन्दोलन पुर्नबिचार गर्न सकिनेछ' उनले भने, 'बुधबार संविधानसभामा हाम्रो आन्दोलन जारी छ ।' विपक्षीले सभामुख सुभाष नेम्वाङले आफ्नो कुरा नसुनी सभा संचालन गर्न खोजको आरोप लगाएका छन् ।



मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले बिगतमा भएका आन्दोलनको उपलब्धी गुम्न नदिन आन्दोलनलाई निरन्तरता दिने बताए । 'आन्दोलनका उपलब्धि गुम्न नदिन हामी आन्दोलन जारी राखेका छौ' उनले भने । बिपक्षीले केही दिन बन्दको कार्यक्रम नरहेको जानकारी गराएका छन् ।

यसैबीच संविधानसभा अवरुद्ध भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउबाबीच टेलिफोनमा कुराकानी भएको छ । आन्दोलनबाट फर्केपछि दाहाल र देउवाबीच कुराकानी भएको हो । 'दलहरुबीच द्वन्द हुनु भएन, मिलाउनुपर्छ' देउबाको भनाइ थियो । दाहालले भेटेर सहमति खोज्नबारे कुराकानी गर्न सकिने देउबालाई बताएको दाहाल निकट स्रोतले जनाएको छ । कांग्रेस, एमालेका शिर्ष नेताबीच भने सोमबार कुनै संवाद भएन ।

0 comments

Write Down Your Responses