ढुटोसमेत खान नपाएका कालिजलाई साढे १० लाख

काठमाडौं, फाल्गुन १७ - ढुटोसमेत खान नपाएर मर्न थालेका शाही कालिन कालिजलाई दाना ख्वाउन अर्थले यसै साता वन मन्त्रालयलाई १० लाख ४५ हजार रुपैयाँ निकासा गरेको छ ।

बजेट आएपछि शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जले शाहीकालिन पहेंलो र सुनौंलो प्रजातिका १ सय ६३ कालिजको दाना खरिद गर्न दुई दिनअघि टेन्डर खुलाएको छ ।


'रकम निकासा भएलगत्तै पिठो, भटमास, चोकर, नुन, मिश्चर, चना, मकै, गहुँ र पोसिलो ढुटोका लागि टेन्डर आह्वान गर्‍यौं,' निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) किशोरकुमार मेहताले शनिवार कान्तिपुरसित भने, 'बल्ल राहत भयो, यति रकम असारसम्म दानाका लागि पुर्‍याउनुपर्छ ।' कुनै बेला काजु, पिस्ता, किसमिस र बदाम खाएर रमाएका कालिजले माघदेखि बजेट अभावमा ढुटोसमेत खान पाएका थिएनन् ।

राजतन्त्रको अन्त्यसंगै नारायणहिटीबाट निकुञ्जको जिम्मामा रानीबनको ठूलो पिंजडामा राखिएका पहेंलो र सुनौंलो कालिजलाई ढुटोसमेत ख्वाउन नसक्दा मर्न थालेको भन्दै निकुञ्जले बजेट व्यवस्था गरिदिन गत महिना तालुकदार वन मन्त्रालयसंग आग्रह गरेको थियो ।

निकुञ्जको मागअनुसार मन्त्रालयले अर्थलाई आग्रह गरेपछि चार दिन अघि बजेट निकासा भएको हो । रानिबनमा राखिएका शाहीकालिन कालिजसहित गोदावारीमा राखिएका मृग र चित्तलका लागि दाना उपलव्ध गराउन वाषिर्क करिब १७ लाख बजेट विनियोजन हुने भए पनि चालु आर्थिक वर्षका लागि ६ लाख १५ हजार रुपैयाँ मात्रै प्राप्त भएको थियो ।

सीमित बजेटमै पनि निकुञ्जले मकै, गहुँ, चना र ढुटो किनेर ख्वाए पनि गत माघमा बजेट सकिएपछि केही ख्वाउन नसकिएको मेहताले बताए । निकुञ्जले रानिबनका कालिजको रेखदेख गर्न दुई कर्मचारी खटाएको छ । यसैबीच, गोदावरीमा रहेका १७ मृग छिट्टै शिवपुरी-नागार्जुन निकुञ्जमा प्राकृतिक वासस्थानमा छाड्ने तयारी गरिएको जानकारी मेहताले दिए ।

प्रकाशित मिति: २०७१ फाल्गुन १७

0 comments

Write Down Your Responses