अपराध नियन्त्रण गर्न सीमा क्षेत्रमा बढ्यो प्रहरीको सक्रियता

कपिलवस्तु, १९ चैत– सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा पर्ने कृष्णनगर बजारलगायत अन्य क्षेत्रमा सक्रियता बढाएको छ ।


पछिल्लो समय जिल्लाका सीमा क्षेत्रमा चोरी तस्करीका साथै विभिन्न किसिमका आपराधिक क्रियाकलापमा कमी ल्याउन प्रहरीले सीमा क्षेत्रमा गस्ती अभियानमा तीव्रता दिएको जनाएको छ ।
अभियानका क्रममा कृष्णनगर प्रहरीले गत एक वर्षभित्र लागुऔषध बेचबिखन, जबर्जस्ती करणी, हातहतियारलगायतका अन्य घटनाका दोषीलाई कानुनी दायरामा ल्याएको जानकारी प्रहरी निरीक्षक डिलबहादुर मल्लले दिए ।
यस्तै मानव बेचबिखनसम्बन्धी छ वटा, जबर्जस्ती करणीका दुई वटा, जबर्जस्ती करणी उद्योगअन्तर्गत तीन वटा, अप्राकृतिक मैथुनका एक तथा हातहतियार खरखजानासम्बन्धी घटनाका दोषीलाई कारबाहीका लागि अदालती प्रक्रियामा पु¥याएर थुनामा पठाइएको उनले बताए ।
सो अभियानमा मानवअधिकारवादी संस्था, शान्ति पुनःस्थापना गृह, के आई नेपाल, थ्रि एन्जेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानलगायतका सङ्घसंस्थाले ठूलो सहयोग गरेको उनको भनाइ छ ।
यस्तै सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउनका लागि ट्राफिकसम्बन्धी जनचेतना कार्यक्रम, अवैधरुपमा ओसारपसार गरिने मदिराजन्य पदार्थमा रोक र राति १० बजेदेखि होटल तथा रेस्टुरा सञ्चालनमा रोक गरिने प्रहरी निरीक्षक मल्लले बताए ।
उनले अवैधरुपमा चोरी निकासी तथा पैठारी नियन्त्रणका क्रममा खाद्यपदार्थ, कपडा, सुपारी मोटरसाइकल, ट्र्याक्टर तथा अन्य सवारीसाधनबाट रु ८५ लाख बराबरको सामान भन्सार चलान गरेको जानकारी दिए । रासस

0 comments

Write Down Your Responses