भो ‘पापी’ पारसलाई छाडिदेऊ हिमानी
चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
पारस शाह व्यवहार, चरित्र आनीबानी आदिका कारणले पतित भइसकेका पात्र हुन् । बैंककका छँदा तिनले धेरै उपद्रो गरे । लागुऔषधको कारोबार गरे । थाई केटीलाई खुलेआम प्रेमिका बनाएर मस्ती गरे । अन्ततः उनकै कारण नेपालको अन्तर्राष्ट्रिय छविमा समेत दाग लाग्यो । गाँजा काण्डमा धरौटी बुझाएर जेलबाट छुटेको केही दिनमै उनी नेपाल आए । बाबु,आमा,श्रीमती, छोरा, छोरी कोही पनि पारसलाई लिन विमानस्थल गएनन् । सायद उनीहरुले जान आवश्यक वा उचित ठानेनन् । तर, केही लठैतहरु विमानस्थलमा जम्मा भए ।
भिडमा सबै विगतमा पारसको वरिपरि बसेर तर मार्न पल्केकाहरु थिए । उनीहरुमा अझै आशा बाँकी रहेको हुन सक्छ कि, ‘फेरि पहिल्यै जसरी पारसको जयगान गाएर लुट्न पाउने दिन आउँछ ।’ तिनीहरुले नारा लगाए कि ‘पारस सरकार जिन्दावाद, राजा आऊ देश बचाऊ’ ए भाई हो, हिजो पनि त राजा थिए, देश पनि थियो । तर के बचाएको थियो त राजतन्त्रले देशलाई ? राजतन्त्रकै पालामा देशका महत्वपूर्ण नदी नाला बेचिएको थियो ।
देश विदेशीको क्रिडास्थल उतिबेलै बनेको थियो । भ्रष्टाचार, अराजकता, दण्डहिनता अहिले जति छन् ती सबै त्यतिबेला पनि थियो । तर पनि पारसका ‘लठैत’ हरु नेपाली झण्डा बोकेर राजतन्त्रको नारा लगाउँदै छन् । जो आफ्नो बाबु, आमा, श्रीमती र छोराछोरीको हुन सकेन त्यस्तो डुङडुङती गन्हाएको मान्छे कसरी नेपाली जनताको हुन्छ र ? राजाले देश बचाएको भए कसले छेकेको थियो र ? जनताले चुनेर पठाएका जनप्रतिनिधिको त यो हालत छ जन्मजात ‘भगवान’ भएर जन्मेकाले नेपाली जनताको के स्याहार सम्भार गर्लान् ?
अनुमान लगाउन गाह्रो छैन कि पारसको उदण्डता अहिले त यति सारो छ भने बाबु शासक भएका बेला उनले के नै बाँकी राखेका थिए होलान् ? गायक प्रवीण गुरुङको छातीमा गाडी गुडाएर मारेकै हुन् । श्रीमती साट्ने पारसको प्रस्ताव अस्वीकार गर्दा अर्का एक गायकले झापड खाएकै हुन् । सडकमा उनले गाडी गुडाएपछि अरुले मरिन्छ कि भन्नुपर्ने अवस्था सबैले भोगेकै हुन् । डिस्को र डान्सबार रक्सीले मातेर गरेको बितण्डाको त कुनै गर्नुपरेन । पारस अहिले बिग्रिएका होइनन् । उहिल्यै बिग्रिएका थिए । पक्कै पनि समय छँदासम्म परिवारले सम्हाल्न खोज्यो होला । तर पारस सध्रेनन् ।
आफ्नो छोरा वा पति कुलंगार होस्, अपराध कर्ममा लागोस्, सबैको घृणाको पात्र बनोस् भन्ने कोही पनि बाबुआमा र श्रीमतीले सोच्न पनि सक्दैन । ज्ञानेन्द्र, कोमल र हिमानीलाई पनि पारसको उदण्डताबाट दुःख लागेकै होला । एकपटक होइन,पटकपटक उस्तै गतिविधि गर्दा चित्त दुखेकै होला । सीमा छउञ्जेल सुधार्न प्रयास गरेकै हुनुपर्छ । सीमा नाघेपछि छोडिदिएका होलान् । यो कुरा नबुझेर बाबुका रुपमा ज्ञानेन्द्र र श्रीमतीका रुपमा हिमानीप्रति नै नकारात्मक सोच बनाउनु उचित होइन ।
राजतन्त्र नढलेको भए नेपालको ‘महाराजधिराज’ हुने मान्छे लागुऔषधको कारोबारमा जेल जाँदा परिवारलाई के भएको होला ? हिमानी सुशील र भद्र महिला हुन् । ती कसैकी छोरी हुन् । उनका बाबुआमाले प्रेम गरेर हुर्काएका थिए होलान् । आज दुःखको समुन्द्रमा छिन् । सुनियो कि उनी पारसलाई राखिएको सुधार केन्द्रमा भेट्न गएकी छैनन् ।
त्यस्तो अनाडी श्रीमानको पछि लाग्नुभन्दा सासु ससुराको चित्त बुझाएर बस्छु भन्ने उनलाई लागेको हुन सक्छ । संसारकै गन्हाएको मान्छेसँग किन सम्बन्ध राख्ने भन्ने होला । श्रीमान बिग्रँदा बाबुआमा भन्दा पनि बढी पीडा श्रीमातीलाई नै हुन्छ । हिमानी बाहिरबाट हेर्दा जति खुसी र प्रसन्न देखिन्छिन् भित्र अभागी रहिछन् । म त भन्छु कि मिहानी नानी ‘पापी’ पारसलाई भेट्न नगएकै ठीक । उनलाई माया मारेकै ठीक । पारसलाई श्रीमतीको खाँचो पनि छैन । वैधानिक श्रीमती पो एउटी । अरु त कति छन् कति । गाउँघर उखान छ, ‘जेठी मरे कान्छी ल्याउँला, मै मरे पो खाँचो ।’ यो चरित्र पारसमा छँदैछ । उनलाई जहान छोराछोरी, परिवार र राष्ट्रको कुनै चिन्ता छैन । नियतीले पारसले राजा हुने अवसर पाएनन् । राजा नभए पनि स्वतन्त्र र असल नागरिक भएर बसेको भए कति राम्रो हुन्थ्यो ?
आज मुलुकमा कोही पनि राजतन्त्र फर्कियोस् भन्ने पक्षमा छैनन् । भएकाहरुको कुरा निर्णायक तप्काले सुन्दैन र पत्याउँदैन । कुनै शंका छैन पारस बदनाम व्यक्ति हुन् । तर आज उनको समर्थनमा किन नाराबाजी हुन थालेको छ ? यसबारेमा कसैले घोत्लिएर सोचेको छ ? राजतन्त्रप्रति जनतामा विश्वास जागेर एयरपोर्टमा पारसको जयगान भएको होइन । यो त वर्तमान शासकहरु प्रतिको आक्रोश पोखिएको हो ।
उनीहरुको अक्षमता, अदुरदर्शीता, जनताप्रतिको गैरजिम्मेवारीको जवाफ हो । यो कुशासनको परिणाम हो । गलत राजनीति हाबी भएका कारण समाजमा पारस शाहजस्ता अरु धेरै पारसहरुको जन्म भइरहेको छ । राजनीतिक पार्टीका पछाडि लाखौं पारस शाहहरु छन् । उनीहरुले राजनीतिक पार्टीका आवरणमा ‘पारस चरित्र’ देखाइरहेकै छन् । अर्काथरि सम्पत्ति र खानदानका आधारमा ‘पारस राज’ चलाउन खोज्नेहरु पनि छन् ।
हो पारस तस्कर थिए । तर के अहिलेका शासकले चाहिं त्यो भन्दा कम तस्करी गरेका छन् र ? राजनीतिको आवरणमा तस्करी भइरहेको छ ।
नेपालको इतिहासमै यो सरकारका पालामा जस्तो सुन तस्करी कहिल्यै भएको थिएन । ०४६ देशका २५ सय विदेशी स्थायी रुपमा नेपालमा व्यापार गरेर बस्दा रहेछन् । उनीहरु व्यापार गरेर नाफा लिन होइन, सुन, खोटा पैसा र लागू पदार्थको बारोबार गर्छन् । जातीय, क्षेत्रीय सदभाव बिथोल्न व्यापारका नाममा धन्दा चलाएका छन् ।
ती सबैलाई शासक वर्गको सहयोग छ । बदमासीले सीमा नाघेको छ । ठूला अपराधीलाई पार्टीमा रातो कार्पेट बिच्याएर स्वागत गर्ने परम्परा डरलाग्दो ढंगले विकास भएको छ । सही र खराबको होइन मसल र पैसाको राजनीति हाबी हुँदै गएको छ ।
मुलुकको दृश्य राम्रो छैन । ज्ञानेन्द्र मात्र होइन, जो कोहीले प्रतिगमनका लागि दुस्साहस गर्ने वातावरण बन्दैछ । सरकारमा रहेका काँग्रेस–एमालेले प्रतिगमनका लागि बाटो बनाइदिएका छन् । देशमा भ्रष्टाचार मौलाएको मैलायै छ । दण्डहीनता बढेको छ । दण्डहिनता बढाउने मामलामा सत्ताधारी र प्रतिपक्षी दुवै कम्मर कसेर लागेका छन् । सत्ताधारी त लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउन व्यस्त छन् नै ।
तर प्रतिपक्ष झन् निकम्मा र पंगु छ । भ्रष्टाचार, तस्करी, असुरक्षा, अपराधले सीमा नाघिसक्यो । प्रतिपक्षसँग ती विषयको विरोध र जनतालाई जागरुक पार्ने कार्यसूची छैन । दिनदिनै बलात्कार, भ्रष्टाचार, मनपरी र हत्या हिंसा बढेको छ । त्यसमा प्रतिपक्ष पनि बोल्दैन । बरु जघन्य अपराध गरेकालाई आममाफी दिनुपर्छ भन्दै हिंडेका छन् ।
जातीयताका नाममा मुलुकलाई सोमालिया, नाइजेरिया, इराक, इरान र सिरिया बनाउने रिहर्सल भइरहेको छ । सोमालिया एकैदिन सोमालिया भएको होइन । सिरिया एकैदिन खरानी भएको थिएन । त्यसका लागि पश्चिमाहरुले डलरको बाढी ल्याएका थिए । उनीहरुले एकपछि अर्को गरी विस्तारै मिसन पूरा गरेका हुन् ।
अहिले नेपालमा पनि त्यही हुँदैछ । समाजको मानसिकतामा नकारात्मक परिवर्तन भइरहेको छ । अनेक जाल झेल र पैसा खर्च गरेर विदेशीले संघीयता नामको गलपासो भिराइदिएका छन् । यो नेपाली नेपालीबीच काटाकाट गराउने धन्धा हो ।
संघीयताका नाममा नेपालका दलहरु बाह्य शक्तिको त्यसैको गोटी बनेका छन् । नेताहरु सबैले विदेशी शक्तिको ‘इन्ट्रेस्ट’ बुझेका छन् । तर आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थका कारण जानीजानी विदेशीको गोटी भइरहेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses