पारसलाई किन खुलेन निर्मल निवासको ढोका
Apr 3, 2015
२० चैत, काठमाडौं ।
सामान्यत: चार वर्षसम्म विदेशमा रल्लिएका र आफ्नो नियन्त्रणबाहिर रहेका छोराको स्वदेश आगमनमा निर्मल निवासमा दीपावली हुनुपर्ने थियो बिहीबार। तर त्यसो भएन। बरु निर्मल निवासभन्दा करिब एक किलोमिटर टाढा ‘कुण्डलिनी’ पारस शाहको नयाँ डेरा बन्न पुग्यो।
दरबारका संस्कार तथा मामिलाबारे अनभिज्ञहरू अनेक अड्कल काट्छन्, विज्ञहरू र ‘भित्र’ का बोल्दैनन्। तर यो असहज परिस्थितिबारे जानकार आफन्तहरूमा चर्चा हुन थालेको छ।
उनीहरूका अनुसार पारसलाई सुध्रिन र घर फर्कने वातावरण निर्माणमा ज्ञानेद्र स्वयं सक्रिय रहे तर त्यसमा सफलता हासिल नभएपछि नियमित सम्पर्कका लागि धीरेन्द्र शाहका छोरीहरू, खासगरी शीताष्मा शाहलाई लगाइयो।
‘पारस शाह अहिले पनि बुवाआमाप्रति नतमस्तक, आज्ञाकारी र अत्यन्त शिष्ट शैलीमा पेस हुन्छन् तर उनको अनुमान गर्न नसकिने व्यवहारका कारण परिवारमा प्रवेश नपाएको’ विश्लेषण गर्छन् राजदरबारमा पहिले कार्यरत एक उच्च पदाधिकारी।
पूर्वराजाले प्रत्यक्ष र अन्य निकट नातेदारमार्फत पारसलाई ‘थाई प्रेमिकालाई छोड्न, स्वास्थ्य र चरित्रमा ध्यान दिन र पूर्ण रूपमा ठीक हुन डाक्टरहरूको सल्लाहअनुरूप रिहाबमा’ बस्नका लागि आवश्यक न्यूनतम सहयोग दिने सन्देश पुर्याए पनि, खासगरी गत वर्ष अस्पतालबाट गम्भीर हृदयाघातको उपचारपछि पनि प्रेमिका र ड्रग्स नछोडेपछि उनी अत्यन्त ‘खिन्न’ रहेको बताए ती पूर्व पदाधिकारीले।
त्यसैले पारस फर्कने सूचना आउनेबित्तिकै पनि यी सर्तहरू उनलाई सुनाइएको स्रोतको दाबी छ। उनी आएकाले सम्भवत: उनले आफू सुध्रिएको प्रमाण देखाउने आश्वासन मातापितालाई दिएका छन्।
‘उहाँका विगतका गतिविधि, आफ्ना परिवारजनप्रति उहाँको व्यवहार तथा उहाँमाथि भएका कानुनी व्यवहारबाट परिवारमाथि परेको असर, उहाँको हालसम्मको स्वास्थ्य अवस्था, आवश्यकीय उपचार व्यवस्थाका लागि सुधार केन्द्रमा बस्नुपर्ने सम्भावनासँगै अबको आचरण र व्यवहारसमेतलाई ध्यानमा राखी हाललाई कुण्डलिनीमा बस्ने व्यवस्था मिलाइएको छ’, स्रोतले भन्यो। कुण्डलिनी धीरेन्द्रकी छोरीको सम्पत्ति रहेको बताइएको छ।
‘पत्नी हिमानी शाहसँगको सम्बन्धमा तिक्ततासँगै लामो समय नावालिक छोराछोरीसँग टाढा रहँदा मनोवैज्ञानिक दूरी बढेकाले पनि निर्मल निवासमा उनको तत्काल प्रवेश सहज नभएको हो’, स्रोतले भन्यो। ‘मनोसामाजिक परामर्श’ र उनको भाबी आचरण अध्ययन निर्मल निवासको पहिलो प्राथमिकता बन्न पुगेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘त्यस्तै पूर्वराजाले नाति र नातिनीहरूप्रति अत्यन्त लगाव र अभिभावकीय भूमिका खेलेकाले उनीहरूमा कुनै किसिमको असुरक्षाको भावना नआओस् भन्ने प्राथमिक चाहनामा उनी सम्झौता गर्न चाहँदैनन्’, स्रोतले भन्यो, ‘पूर्वराजपरिवार र संस्थासँग जोडिएका र अहिले पनि सम्पर्कमा रहेका विभिन्न व्यक्तिले प्रत्यक्ष रूपमा राजनीतिबारे चर्चा नगरे पनि पूर्वराजाको समर्थन बढेका बेला परिवारभित्रबाट त्यसलाई घाटा पुग्ने गरी कुनै घटना होस् भन्ने उनी चाहँदैनन्। त्यसैले पारसलाई दूरीमा राखिएको हो।
.jpg)

0 comments
Write Down Your Responses