सशस्त्रको बेस क्याम्पमा बम प्रहार, गौर आन्दोलन झन् हिंसात्मक
२०७१ चैत्र २३ सोमबार
रौतहट : गौरमा आन्दोलनकारीले शसस्त्र प्रहरीको बेलबिछुवा बेस क्याम्पमा आक्रमण गरेका छन्। आन्दोलनकारी बेस क्याम्पमा पेट्रोल बम प्रहार गरेपछि आगो लागेको थियो। आगजनीलाई तत्काल नियन्त्रणमा लिएको र अहिले आन्दोलनकारी त्यहाँबाट भागिसकेको रौतहटका शसस्त्र प्रहरी प्रमुख एसपी बिदुर खड्काले बताए।
उनीहरुले क्याम्प आसपासको संरचना तोडफोड गरेका छन्। गौरका एक स्थानीयको घाँटी रेटेर हत्या भएको सूचना बाहिर आएपछि गौर आन्दोलनले झन् हिंसात्मक मोड लिएको छ। वार्ता गर्न काठमाडौंबाट आएको टोली फर्केको छ।गौर बजार आज पनि बिहानैदेखि पूर्ण रुपमा बन्द छ। आन्दोलनकारीले अपरान्ह वृहत् जुलुस निकाल्ने तयारी गरेका छन्।
एक सातादेखि आन्दोलित गौरमा लुटेरा समूहले गौर-५ पोखरिया टोलका ६० वर्षीय जाहिर अन्सारीको हत्या गरेका छन्।लुटेराले अन्सारीको घरबाट पाँच लाख नगद समेत लुटपाट गरेका छन्। बाहिर कफ्र्यू लागेको छ भन्दै आइतबार राती बस बस्न आएका केही व्यक्तिले सुतिरहेका अन्सारीलाई घाँटी रेटेर हत्या गरेका थिए। अन्सारीले घर मर्मतका लागि बैंकबाट आइतबार पाँच लाख निकालेका थिए।
गौरमा चर्किएको आन्दोलनबारे वार्ता गर्न गाडीबाट पुगेको क्षेत्रीय प्रशासकसहितको टोलीलाई दिनभर बीच बाटोमै रोकेपछि काठमाडौंबाट हेलिकोप्टरमा अर्को टोली गौर पुगेको थियो। आइतबार बिहान ११ बजे रौतहटको गरुडा आइपुगेका सो बार्ता टोलीलाई दिनभर आन्दोलनकारीले रोकेपछि काठमाडौंबाट नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक गणेश राई र शसस्त्रका अतिरिक्त महानिरिक्षक कृष्ण कुमार तमाङ्ग सॉझ साढे ६ बजे हेलिकोप्टरबाट गौर आइपुगेका छन्।
वार्ताका लागी क्षेत्रिय प्रशासक रामकुमार आचार्य, मध्यमान्चाल क्षेत्रका डिआइजी देवेन्द्र सुवेदी र शसस्त्र प्रहरी पथलैयाका डिआइजी राम शरण पौडेल गौर आउने क्रममा आन्दोलनकारीले दिनभर गरुडा बजारमा अवरोध गरेका थिए। काठमाडौंबाट टोली गौर आएपुगेपछि गरुडामा रोकिएको क्षेत्रिय प्रशासकको टोली राति गौर आइपुगेको हो।
गौरमा रहेको मालपोत तथा नापीको सेवा केन्द्रलाई चन्द्रनिगाहपुरमा पनि विस्तार गर्ने सरकारको निर्णयको विरुद्ध गत बुधबारदेखि गौरमा प्रदर्शन सुरू भएको थियो। प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि गत शुक्रबार नै सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो। तर शनिबार गौर झन् तात्यो र स्थिति नियन्त्रण बाहिर जाने खतरा देखिएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाउनुपर्यो ।
यसैबीच मालपोत तथा नापीको सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना गर्ने सरकारको निर्णयलाई निरन्तरता दिनुपर्ने माग राख्दै चन्द्रनिगाहपुरमा पनि प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीले आज एक घन्टा चक्काजाम गरेका छन्।
.jpg)

0 comments
Write Down Your Responses