४१ बर्षीय पुरुषको छोरीभन्दा पनि कान्छी १४ बर्षीया बालिकासँग दोस्रो बिहे

सप्तरी ।


दुलहा पक्षले दाइजो नलिने र विवाहको दुवैतर्फको सम्पूर्ण खर्च बेहोर्ने सर्तमा सप्तरीकी १४ वर्षीया कञ्चनको बिहे उनीभन्दा तेब्बर उमेरका हुलासप्रसाद साहसँग भएको छ ।

कञ्चनरूपको पिप्रा पूर्वगाउँकी १४ वर्षीया निरक्षर कञ्चनकुमारी साहको विवाह ४१ वर्षका हुलासप्रसादसँग बिहीबार भारदहको कंकालिनी मन्दिरमा भएको हो। कमजोर आर्थिक अवस्थाका कारण दाइजो दिन नसकेपछि परिवारले २७ वर्ष जेठा हुलासप्रसादसँग कञ्चनको विवाह गरिदिएको हो। सप्तरी तरही २ का हुलासप्रसादको पहिलो विवाह जनकपुर भानुचोककी बिनादेवी साहसँग २०५० सालमा भएको थियो। बिनाबाट जन्मिएकी १९ वर्षकी छोरी रहेको हुलासले बताए।  जेठी श्रीमतीबाट छोरा नभएकाले गरिब परिवारकी कन्या कञ्चनका अभिभावक छोरीको विवाह मसँग गरिदिन तयार भएपछि सल्लाहमै दोस्रो विवाह गरेको हुँ, उनले भने।

महेन्द्र र शिवकुमारीका चार छोरीमध्ये कञ्चन साइँली हुन्। महेन्द्रका साढुभाइ सिराहा पोखरभिन्डाका मदन साहले विवाहको सबै तारतम्य मिलाइदिएको कञ्चनले बताइन्।
पहिले नै विवाह गरिसकेका पुरुषका पत्नीको मृत्युपछि वा सन्तान नभएपछि दुलाहा पक्षले अर्को विवाह गर्नेसँग दाइजो माग्दैनन्। त्यसैले धेरै छोरी भएका र आर्थिक अवस्था कमजोर भएकाले सानै उमेरका छोरीको विवाह त्यस्तासँग गरिदिने चलन छ ।– युवा अगुवा दिवाकर साहले भने, दाइजोप्रथाका कारण अनमेल विवाह र बहुविवाह बढ्दो छ।

कानुनले दाइजोप्रथालाई रोक लगाए पनि मधेसी तथा मुस्लिम समुदायमा यो यथावत् छ। केटी पक्षले नगद, गरगहना, मोटरसाइकललगायत सामान दाइजोबापत दिनैपर्ने चलन झन्झन् बढेको अधिकारकर्मी अनिता देवकोटाले बताइन्।

दाइजो दिन घरखेत बेच्नुपर्ने र बेच्न घरखेतसमेत नहुने परिवारका अभिभावक दाइजो नलिने केटासँग छोरीको विवाह गर्न बाध्य छन्, बालविवाह र दाइजोप्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेकी जिल्ला बाल सञ्जालकी अध्यक्ष भावना पौडेलले भनिन्, छोरीलाई दाइजो दिन घरखेत दिनुभन्दा छुट्कारा पाउन अनमेल विवाह गर्ने चलन बढिरहेको छ।

विवाहको खबर पाएलगत्तै प्रहरीले खोजतलास थालेको सुइँको पाएपछि कञ्चन र हुलासप्रसाद भारतको लौकहीस्थित हुलासकी काकीको घर पुगेका थिए। सप्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा आइतबार उनीहरूलाई पक्राउ गरेर ल्याएपछि कञ्चन भने जिल्ला प्रहरी कार्यालय सप्तरीको एउटा कुनामा बसेर टोलाइरहिन्। उनलाई बालविवाह गर्नु हुँदैन भन्ने थाहा छैन।

उनले भनिन, माइली दिदीले विवाह गर्न नमानेपछि बाबुआमाले मेरो विवाह गरिदिएका हुन्।ु कञ्चनले आफ्नो बिहेबारे पहिले थाहै नपाएको बताइन्। ुमेरो बिहेबारे मलाई पहिला केही जानकारी थिएन।

दिदीको बिहे हुने तयारी भइरहँदा दिदीले नमानेपछि अभिभावकले मलाई बिहे गर्न भने, उनले भनिन्, आमाबुबाले गरेको काम राम्रै होला भनेर विवाह गरें।

सम्पन्न परिवारको एक्लो छोरासँग विवाह गरेर नाबालक छोरीलाई ठाउँ लगाउन पाएकोमा खुसी भएका बाबु महेन्द्रले भने, चार छोरी छन्। जेठीको जसोतसो विवाह गरियो। अब माइली र कान्छीका लागि वर खोजिरहेका छौं। बिस्तारै चारै छोरीलाई ठाउँ लगाएर जिम्मेवारीबाट मुक्त हुनुपर्‍यो।

आमा शिवकुमारी भने छोरीको बिहेबारे प्रहरीलाई खबर गरिदिने आफन्तसँग क्रोधित छिन्। ुछोरीसँग किन सोधिराख्नुपर्‍योरु सकेसम्म राम्रै घर र वर खोजेका छौुं, उनले भनिन्, हाम्रो विवाह हुँदा पनि बुबाआमाले सोधेनन्, पहिलेदेखि यस्तै परम्परा छ।

मुलुकी ऐनको बिहाबारीको महलमा १० वर्ष नपुगेकी बालिकाको विवाह गरेगराएमा ६ महिनादेखि तीन वर्षसम्म कैद र एक हजारदेखि १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।

१० वर्षदेखि १४ वर्ष नपुगेकी बालिकाको विवाह गरेगराएमा तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।

१४ वर्षदेखि १८ वर्ष नपुगेका बालिकाको विवाह गरेगराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

जिल्लामा ठूलो संख्यामा बालविवाह र बहुविवाह हुँदै आए पनि बालविवाह प्रकरणमा पक्राउ परेको घटना पहिलो भएको प्रहरीले जनाएको छ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे पाँच लाख किशोरी १९ वर्षअघि नै आमा बन्ने गरेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ ।

0 comments

Write Down Your Responses