नवीन झा
२८ पुस, काठमाडा । आज मधेस बन्द छ । केही महिनायता मधेस तीव्ररुपमा चलायमान देखिन थालेको छ । हप्तैपिच्छे सिके राउतका कार्यकर्ता र प्रहरीवीच ठाउँ-ठाउँमा झडपका घटना भइरहेका छन् । अघिल्लो साता वीरगञ्जमा देखिएको यो दृश्य निकै उदेकलाग्दो भए पनि यसले काठमाडौंलाई खासै झक्झकाएको छैन । तर, जानकारहरुले यो दृश्यलाई बडो गम्भीर रुपमा लिन थालेका छन् ।
मधेसमा सिके राउतप्रति आकर्षण बढेको हो या सिके राउतको मधेसप्रति आकर्षण बढिरहेको हो ? छुट्याउन गाह्रो छ । तर, प्रहरीले खुट्टो भाँचिदिए पनि सीके राउत बैसाखी टेकेर आफ्नो अभियानमा हिँडिरहेका छन् ।
एकातिर सिके राउतको अभियान अगाडि बढिरहेको छ भने अर्कातिर एमाओवादी, मधेसी मोर्चा र मात्रिका यादव, जेपी गुप्ताहरु पनि मैदानमा ओर्लन थालेका छन् । कांग्रेस र एमालेका स्थानीय नेताहरुको पनि मधेसी मोर्चासँग उठबस हुन थालेको छ ।
दोस्रो संविधानसभापछि काठमाडौंमा संघीयताको बहस सुरु भएसँगै मधेसमा निकै ठूलो तरङ्ग देखिन थालेको छ । यो पंक्तिकार दुई हप्ता अगाडि जनकपुरमा रहँदा त्यहाँका स्थानीय नेताहरु भन्दै थिए, हेर्नुस् मधेसीहरुले संघीयताका लागि फेरि आन्दोलन गर्नै पर्ने भो, हामी त्यो मनस्थितिमा छा खाली केेन्द्रीय नेताहरुको निर्णयको प्रतिक्षामा छौं ।
काठमाडौमा भइरहेका पछिल्ला वार्ता र छलफलहरुले मधेसमा थप अन्यौल र असन्तोष सिर्जना गरेको छ ।
सिन्धुलीको ग्रामीण इलाकामा पढाउने एकजना स्कुले साथीले शुक्रबार बिहानै फोन गरेर यो पंक्तिकारलाई सुनाए- ‘मधेसमा फेरि आन्दोलन हुन लाग्यो भनेर सुनें, सिन्धुलीबाट आज जनकपुर जाँदैछु ।
उनले व्याख्या त गरेनन् तर, सम्झाउन खोजे – ‘हेर्नुस मधेसलाई पहाडमा मिसाएर पाँचवटा प्रदेश कांग्रेस र एमाले जस्तो बनाउन भएन, त्यो हामीहरुले मान्नु पनि हुँदैन ।’
काठमाडौलाई थाहा छैन
काठमाडौंमा कांग्रेस र एमालेका नेताहरुले आफूहरु नै अहिले मधेसका अधिकारिक प्रतिनिधि भएको बताउने गरेका छन् । तर, मधेसका जिल्लाहरुमा कांग्रेस र एमालेकै स्थानीय नेताहरु पनि संघीयताका सवालमा मधेसी पार्टी दलका नेताहरुसँग एकसाथ छलफल र बहस गर्दै उठबस गरिरहेका छन् । यो कुरा काठमाडौंमा रहेका कांग्रेस एमालेका नेताहरुलाई थाहा छैन ।
स्मरण रहोस्, मधेस आन्दोलनमा पनि कांग्रेस एमालेका स्थानीय नेताहरुको ठूलो सहभागी भएको थियो । मधेस आन्दोलनका क्रममा कांग्रेस एमालेका धेरै नेताहरुले पार्टी छाडेका थिए ।
जेपी र मात्रिकाको गठबन्धन
मधेसमा राम्रो प्रभाव बनाएका नेता मात्रिका यादव र जेपी गुप्ताले गते शुक्रबार मात्रै संयुक्त आन्दोलनको खाका अघि सार्दै सहकार्यको घोषणा गरेका छन् । उनीहरुले मधेसभरि पहिलो चरणअन्र्तगत प्रचारात्मक कार्यक्रम गरिरहेका छन् । यही हप्ताको अन्त्यतिर उनीहरुको महत्वपूर्ण बैठक बस्दैछ, जसले उनीहरुका भाषामा सशक्त आन्दोलनको कार्यक्रम तय गर्नेछ ।
आन्दोलनको तयारीका लागि मात्रिका यादव लगायतका नेताहरु पछिल्लो समयमा तीव्र छलफल र आन्तरिक कोठे बैठकहरुमा व्यस्त छन् ।
नयाँ द्वन्द्वउन्मुख मधेस
पछिल्लो केही समययता मधेसमा भइरहेका विभिन्न गतिविधिहरुले कतै मधेसलाई फेरि एउटा लामो द्वन्द्वको सुरुङतर्फ त लगिरहेको छैन भन्ने आभास हुन थालेको छ ।
माओवादी द्वन्द्व चर्किएसँगै मधेसमा मौलाएका सशस्त्र समुहरुबाट आक्रान्त बन्न पुगेको मधेसको जनजीवन फेरि कतै नयाँ द्वन्द्वको चपेटामा त पर्न थालेको होइन ? धेरैमा चिन्ता देखिन थालेको छ ।
जानकारहरु भन्छन्- संघीयतामा मधेस आन्दोलनको भावनालाई प्रतिविम्व हुने गरी चाँडै राजनीतिक स्थायित्व भएन भने मधेस फेरि द्वन्द्वको सुरुङमा फस्ने लगभग निश्चित छ । यो कुरा सिके राउतदेखि अन्य नेताहरुका वर्तमान गतिविधिबाट देखिन थालिसकेको छ । काठमाडौमा मधेसी नेताहरुले एकपछि अर्को मोर्चाबन्दीको घोषणा गरिरहँदा मधेसका सहरहरुमा सीके राउतको कार्यक्रम चलिरहेको छ ।
कमल थापा र प्रचण्डको ध्यान मधेसतिरै
हालै हिन्दू राष्ट्रका लागि राप्रपा नेपालले चलाएको रथ अभियानको केन्द्र पनि मधेसकै अधिकांश सहरहरु थिए ।
पूर्वराजा ज्ञानेन्द्रले पनि केही हप्ताहरु मधेसमै बिताइसकेका छन् ।
नेपालका राजनीतिक खेलाडीहरु राम्ररी थाहा छ कि संविधानमा देखिएको असन्तुष्टि विरुद्ध मधेस नै सबैभन्दा पहिले सडकमा उत्रने छ
एमाओवादीसँगको मोर्चा बनाएका मधेसी दलहरु केन्द्रको निर्णयअनुसार जिल्ला सदरमुकामहरुमा मधेसी पार्टीका स्थानीय नेताहरु विरोध प्रर्दशनमा उत्रेका छन् ।
कांग्रेस एमालेले आफ्ना स्थानीय नेताहरुलाई सम्भावित प्रतिकारका लागि आन्तरिक तयारीमा राख्ने काम पनि गरिरहेका छन् ।
नेपालका राजनीतिक खेलाडीहरु राम्ररी थाहा छ कि संविधानमा देखिएको असन्तुष्टि विरुद्ध मधेस नै सबैभन्दा पहिले सडकमा उत्रने छ । त्यही भएर होला, एमाओवादी अध्यक्ष प्रचण्डले सिम्रौनगढदेखि जनकपुरसम्म पुगेर आमसभामार्फत भनेका छन्, काठमाडौं मधेसी मोर्चाको साथ छोडन तयार छैन ।
मधेसमा एक साथ देखिरहेका यी दृश्यले मधेस कति अस्थिर छ भन्ने कुरा देखाइरहेको छ । जसले जे भने पनि अहिले मधेस राजनीतिको केन्द्रमा छ । तर, दुर्भाग्यपूर्ण के छ भने, यदि चाँडै यसको ठोस सम्बोधन भएन भने मधेस नराम्ररी भड्कन सक्छ ।
सुरक्षा निकायले ८ माघको सन्दर्भमा मधेसका जिल्लाहरुलाई संवेदनशील घोषणा गरेर उच्च सर्तकतामा राखेको छ ।
जानकारहरुको बुझाइमा मधेसको भावनाअनुरुपको संघीयतासहितको नयाँ संविधान चाँडोभन्दा चाँडो घोषणाले नै यसलाई स्थिरताको मार्गमा डोर्याउने छ । अन्यथा यो द्वन्द्वको नयाँ सुरुङमा फस्ने सम्भावना अत्याधिक छ ।
मधेस कुनै पनि बेला भड्किन सक्छ
नयाँ संविधानमा अहिले मुख्यरुपमा दलहरुवीच कुरा नमिलेको विषय हो संघीयता । संघीयतामा देखिएको विवादको केन्द्रमा छ मधेस । मुख्य गरी मधेसका पूर्वी जिल्लाहरु झापा, मोरड र सुनसरी तथा पश्चिमी जिल्लाहरु कैलाली र कञ्चनपुरका लागि विवाद देखिएका छन् । कांग्रेस एमाले यी जिल्लालाई पहाडसँग जोड्न चाहन्छन् भने मधेसी पार्टीहरु मधेस प्रदेशमै राख्नका लागि अडान लिँदै आएका छन् ।
एक मधेस प्रदेशको आफ्नो मागबाट लचक हुँदै दुई मधेस प्रदेशमा झरेका मधेसी पार्टीका लागि ‘गर या मर’को अवस्था छ अहिले ।
कांग्रेस र एमाले संख्यात्मक हिसाबले अहिले आफूहरु मजवुत भएको दम्भमा मधेस आन्दोलनको म्यान्डेड उल्टाउने पक्षमा देखिन्छन्, जुन मधेसी नेतृत्वका लागि मात्रै नभई सम्रग मुलुकका लागि अहितकर हुने कांग्रेस र एमाले नेतृत्वले अहिलेसम्म बुझेको छैन वा बुझ पचाइरहेको छ ।
मधेसमा पछिल्लो समयमा अभिव्यक्त भइरहेका विभिन्न विचार र गतिविधिलाई मूल्याकंन नगर्नु कांग्रेसको परम्परागत कमजोरी हो भने एमालेको बलमिच्याइँ ।
एमाओवादीले क्षति ब्यहोरेका कारणले होला, कमसे कम मधेसको संवेदनशीलतामा अहिले इमान्दार देखिएको छ ।
दुई मधेस प्रदेशमा सहमत हुन तयार भइसकेका मधेसी पार्टीहरुलाई अनाहकमा गिजोलेर नयाँ संविधान जारी गर्न ढिलाइ गर्नेतिर कांग्रेस र एमाले जानु उचित देखिँदैन । यसले कसलाई कति क्षति वा फाइदा हुन्छ ? त्यो पछिको कुरा हो । तर, एउटा कुराचाहिँ निश्चित छ, यसले मधेसलाई थप अस्थिरताको भुँवरीमा धकेल्ने छ । मधेस भड्कन बेर लाग्ने छैन, जुन सबैका लागि घातक हुन सक्छ ।
0 comments
Write Down Your Responses