जनता जागेपछि बन्दकर्ताको भागाभाग
झापा । एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको बन्दको प्रतिकारमा सर्वसाधारण र व्यापारी उत्रिन थालेका छन्। झापा र डडेलधुरामा सोमबार बन्दको प्रतिकारमा व्यापारी र सर्वसाधारण उत्रिए। पोखरा र सुर्खेतमा आइतबार बन्द अवज्ञा गरिएको थियो।
झापा चन्द्रगढीका व्यापारीले जुलुस निकालेर बन्द अवज्ञा गरेका हुन्। उनीहरूलाई स्थानीयले पनि साथ दिए। डडेलधुरा सदरमुकाम अमरगढीमा बजार बन्द गराउन हिँडेका बन्दकर्तालाई स्थानीयवासी र व्यापारी मिलेर लखेटे।
डडेलधुरा बन्द कार्यक्रम नभए एमाओवादीसहितका कार्यकर्ता बन्द भन्दै सडकमा आए। अमरगढीमा व्यापारी र सर्वसाधारणले राष्ट्रिय झन्डा बोकेर प्रतिकार जुलुस निकाली अवज्ञा गरेको जानकारी व्यापारी शम्भुप्रसाद अवस्थीले दिए। विरोधमा जुलुस निकालिएपछि बन्द पक्षधर भागे।
झापामा बन्द विरोधमा सडकमा निस्किएका व्यापारी र बन्द पक्षधरबीच झडपसमेत भयो। झडपमा बन्द पक्षधर गठबन्धनको एक घटक मधेसी जनअधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको र अन्य दुईजना सामान्य घाइते भएको पार्टीका उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकले बताए।
उनका अनुसार घाइतेको उपचार मेची अञ्चल अस्पतालमा भइरहेको छ।
झडपपछि चन्द्रगढी र भद्रपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। व्यापारीहरूले ुगरिखान नदिने बन्द अन्त्य गर, काम गर्न नदिने भए हाम्रो ऋण तिरिदेऊ, हााम्रा बालबच्चा पालनपोषणको जिम्मा लेऊु जस्ता नारा लगाएका थिए।
सिरहाको लहानमा भने बन्द पक्षधर र प्रहरीबीच झडप हुँदा पूर्वमन्त्री राजलाल यादवसहित पाँच प्रदर्शनकारी घाइते भएका छन्। लहानस्थित पेट्रोलपम्पनजिकै झडप भएको हो।
आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
0 comments
Write Down Your Responses