खैलाबैला किन भयो संविधानसभामा?


January 24th, 2015
खैलाबैला किन भयो संविधानसभामा?
– नारायण पौडेल
काठमाडौ । मुलुक यतिबेला दोस्रो संविधानसभा निर्वाचनमार्फत नयाँ लोकतान्त्रिक संविधान निर्माणको चरणमा अगाडि बढिरहेको छ। पहिलो संविधानसभा निर्वाचन २०६४ ले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्न नसकी विघटन भएपछि फेरि पनि संविधानसभाबाटै नयाँ संविधान निर्माण गरिनुपर्ने आवश्यकता महसुस गर्दै प्रमुख राजनीतिक दलहरुबीच सहमतिमार्फत २०७० साल मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनबाट गठन भएको नयाँ संविधानसभाले माघ ८ गते नयाँ संविधान जारी गर्ने अभ्यास गरेको थियो।
अघिल्लो संविधानसभामा नै संविधान निर्माणको ८० प्रतिशत कार्य सम्पन्न भइसकेको बताएका राजनीतिक दलहरुले बाँकी रहेको भनिएको २० प्रतिशत कार्यमा अझसम्म पनि सहमति निर्माण गर्न नसक्दा देशले नयाँ संविधान पाउन नसक्ने परिस्थिति निर्माण भएको छ। यसरी नयाँ संविधान जारी गर्ने दिन नजिकै आएर गत सोमबार मध्यरातमा विपक्षी राजनीतिक दलहरुका सभासदहरुले संविधानसभा भवनभित्रै देखाएको अभद्र, अशीष्ट र मर्यादा विपरितका कार्यहरुले नयाँ संविधान निर्माणको बाटो बन्द गराएको सजिलै बुझ्न सकिन्छ। त्यस्तै विपक्षी राजनीतिक दलहरुले संविधानसभा भवनभित्र त आफ्ना वास्तविक स्वरुप प्रदर्शन गरे नै, त्यसको अलावा नेपाल बन्द जस्ता जनहित विपरीतका कार्यहरुमा अग्रसर भएर नेपाल र नेपालीको भविष्य निर्धारण गर्न सक्ने नयाँ लोकतान्त्रिक संविधान निर्माण कार्यलाई समेत अवरुद्ध पारेका छन्। वास्तवमै भन्नुपर्दा विपक्षी राजनीतिक दलको वर्तमान कार्यहरुलाई गहन रुपमा लिने हो भने उनीहरु देशमा संविधान जारी गरी स्थिरता कायम गराउनु भन्दा पनि अस्थिरता कायमै गराइरहन तल्लीन रहेका छन् भन्न सकिन्छ।
अर्कोतर्फ संविधानसभा निर्वाचन सम्पन्न भएको एक बर्षभित्र देश र जनतालाई नयाँ संविधान दिन्छौं भनी आफ्नो चुनावी घोषणापत्रमा नै उल्लेख गरेका प्रमुख राजनीतिक दलका नेताहरुलाई अब प्रश्न गर्ने हो समय भइसकेको छ कि कुन मितिले एक बर्षमा देशले नयाँ संविधान पाउँछ? पहिलो संविधानसभा दुई बर्षे कार्यकालको लागि गठन गरिएको थियो, जसमा अर्को दुई बर्ष समेत थप्दा पनि नयाँ संविधान बन्न नसकि वि.सं. २०६९ जेठ १४ गते विघटन गराइयो। त्यसरी नै दोस्रो संविधानसभालाई चार बर्षे कार्यकालका रुपमा लिइएको छ। जसमध्ये पहिलो एकबर्षमा नयाँ संविधान जारी गर्ने र बाँकी तीन बर्ष संसदको रुपमा परिणत गरी नयाँ संविधानमा व्यवस्था भए बमोजिम निर्वाचन सम्पन्न गर्ने भनिएको थियो। पहिलो निर्धारित मितिमा नयाँ संविधान निर्माण गर्न नै नसक्ने परिस्थिति उत्पन्न भएबाट दोस्रो संविधानसभाको भविष्य समेत खतरामा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ। त्यस्तै संविधानसभालाई आफ्नो विर्ता ठान्ने एकीकृत माओवादी संविधानसभा निर्वाचनबाट तेस्रो दलका रुपमा स्थापित भएको छ। त्यसैको परिणाम होला, मधेशवादी दलहरुसँगको मिलेमतोमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै एनेकपा माओवादीले सदनदेखि सडकसम्म अवरुद्ध गर्ने कार्य गरिरहेको छ, जुन नयाँ संविधान निर्माण कार्यको प्रमुख तगारो हो।

0 comments

Write Down Your Responses