पाइलटले भनेका थिए–रन–वे देखिनँ,आउँदैछु

काठमाडौं,फागुन २३ – हरेक दिन टर्किस एयरको विमान अवतरण भएपछि काठमाडौं बाँकी उड्डयन संसारसँग जोडिन्छ। टर्किस आएपछि भारत, साउदी अरब, कतारलगायतबाट विमान आउन थाल्छन्। करिब ४० विमानको आउनेजाने क्रम राति साढे १२ बजे हङकङबाट आउने ड्रयागन एयरको उडानमा टुंगिन्छ। तर बुधबार बिहानको साइत राम्रो परेन। युरोपबाट आएको टर्किस विमान धावनमार्गमै दुर्घटनामा पर्‍यो, जसले गर्दा शुक्रबारसम्म करिब ५० हजार यात्रु प्रभावित भएका छन्।

विमानस्थल उच्चस्रोतका अनुसार टर्किस विमानले दुर्घटनामा पर्नुअघि बिहान ६ बजे नै काठमाडौं राडरसँग पहिलो सम्पर्क गरेको थियो। विमानले भारतको वाराणसीबाटै पहिलो रिपोर्टिङमा जहाजको उचाइ, गति र अवस्थाबारे काठमाडौं टावरलाई जानकारी गराएको थियो। विमान अत्याधुनिक भूउपग्रहीय सञ्चारयुक्त ‘आरएनपी–वान’ प्रणालीमा उडिरहेको थियो। त्यो बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँचतले टावरमा महिला एयरट्राफिक कन्ट्रोलरको नेतृत्वमा ५ जना ड्युटीमा थिए। विमानले पहिला ८० किलोमिटरभन्दा बाहिरका विमान हेर्ने एरिया कन्ट्रोल टावरलाई ‘जी–फाइभ नाइन एट’ रुट समातेर आइरहेको बतायो। यो रुट सिमरामा पुगेर टुंगिन्छ। त्यहाँबाट विमानले अवतरणको तयारी गर्न अर्को बाटो समात्नुपर्छ। एप्रोच रुट भनिने यो बाटो मकवानपुर र ललितपुरको बीच हुँदै भट्टेडाँडा, ठेचोमाथि पर्दै गौचरन विमानस्थलमा आएर जोडिन्छ।
टर्किस विमानका क्याप्टेन लेभेन्ट विलिरले सिमरा आइपुगेपछि काठमाडौंको मौसमबारे जानकारी मागे। राडरमा रहेका एयरट्राफिकले भिजिबिलिटी १ किलोमिटरभन्दा कम भएको जानकारी गराए। विमान सिमरामाथिको आकाशमा होल्ड गर्नुपर्ने भयो। त्यतिबेला विमान काठमाडौंदेखि ६७ किलोमिटर हवाई दूरीमा थियो। ९ सय किलोमिटर प्रतिघन्टाको गतिमा उडिरहेको विमानलाई बायाँ पारेर २ मिनेटको फन्को मार्न भनियो। एक नाबालकसहित २ सय २३ यात्रु बोकेर मंगलबार राति नेपाली समयअनुसार १२ बजे इस्तानबुलबाट उडेको एयरबस विमानले करिब ३० मिनेट सिमरामाथिको आकाशमा आधा घण्टापछि विमानले फेरि काठमाडौंको अवस्था सोध्यो। त्यसबेला काठमाडौंको दक्षिण भागको भिजिबिलिटी १ किलोमिटर र उत्तरतिरको ३ किलोमिटर थियो। विमान अब काठमाडौंतिर सोझियो।
विमानस्थलबाट ९ किमि दूरीमा आइपुगेपछि विमानले अवतरण गर्न अनुमति माग्यो। १६ किलोमिटरभित्रको जहाज मात्रै हेर्ने टावरका ट्राफिकले ‘किलियर टु ल्यान्ड’ भने। त्यसबेला विमानस्थल वरिपरिको भिजिबिलिटी ३ हजार मिटर देखाइएको थियो। तर विमानस्थल नजिकै पुग्दा करिब १ हजार मिटरमा भिजिबिलिटी झरेको स्रोत बताउँछ। विमानले अवतरण गर्न सकेन। त्यो अवस्थामा क्याप्टेनले जमिनबाट मात्रै ४ सय मिटर माथिबाट ओभरसुट गरे, अनि विमानलाई बौद्धतिरबाट काठमाडौं उपत्यका बाहिर निकाले। मौसम आँकलन गरी अवतरण गर्न नसके ओभरसुट गर्ने अधिकार विमानचालकसँग हुन्छ। त्यसैअनुरूप विमान धादिङको धार्के, मकवानपुरको मनहरी हुँदै फेरि सिमरा पुग्यो। ३ सय किलोमिटरको गतिमा उडेको विमानले त्यस रुटमा करिब आधा घण्टा बिताएपछि पुनः एरिया कन्ट्रोल टावरसँग मौसमबारे जानकारी माग्दै आफ्नो अवस्थाबारे रिपोर्टिङ गरायो।
टावरले १ हजार मिटर भिजिबिलिटी भएको बताएपछि दोस्रो प्रयासमा अवतरण गर्ने तयारी गर्‍यो। त्यसबेला ७ बजेर ४० मिनेट गएको थियो। भट्टेडाँडातिरबाट ओर्लिंदै गरेको जहाजलाई एयरट्राफिकले फेरि ‘किलियर टु ल्यान्ड’ भने। विमान ठेचो, इमाडोलमाथिको आकाशमा आइपुग्यो। एयरट्राफिकले धावनमार्ग देख्यौ भनी सोधे। ‘देख्न त देखिनँ तर म आइरहेको छु। अवतरणको क्रममा छु,’ क्याप्टेनले भने। विमान अवतरण गर्ने बेला एयरट्राफिकले फेरि त्यही प्रश्न सोधे। क्याप्टेनले जवाफ दिए, ‘मैले धावनमार्ग देखिनँ तर अवतरणलाई निरन्तरता दिन्छु।’ क्याप्टेनले यसोभन्दा टावरबाट विमान प्रस्ट नदेखिएको स्रोतको दाबी छ। ‘मौसम त्यसैबेला खराब भयो। मनहरा खोलामाथि लागेको कुहिरो एकाएक फाट्दै फैलियो। कुराकानी भइरहेको १ मिनेट जस्तोमै असामान्य अवतरणको आवाज सुनियो। विमान देखिएन,’ स्रोत भन्छ।
७ बजेर ४९ मिनेटतिर क्याप्टेनले टावरसँग सहयोग माग्दै भने, ‘मेरो विमान रन–वेको अन्तिम विन्दुमा छ। मलाई तुरुन्तै मेडिकल र फायर एसिस्टेन्ट पठाइदेऊ। कुनै पनि मानवीय क्षति भएको छैन। विमानमा केही भौतिक क्षति पुगेजस्तो लाग्छ। यात्रुलाई यतै इमर्जेन्सी ढोकाबाट निकाल्छु।’ एयरट्राफिकले ३० सेकेन्डमा दमकल पठाइदिए। दमकलले आगो लाग्न सक्ने खतरा हुन नदिन वरिपरि फिँज फाल्यो। त्यसबेला दायाँ इन्जिनबाट धुवाँमात्रै आइरहेको देखिन्थ्यो। दमकलले भर्‍याङ जोडी पाइलटको ढोका खोलिदियो। दमकल र एयरट्राफिकबीच भइरहेको सम्पर्कलाई टावरले सुनाएपछि क्याप्टेनले इमर्जेन्सी ढोका खोले। अनि युरोपबाट ७ घण्टा लामो यात्रा गरेर आएका यात्रु चिच्याउँदै, कराउँदै बाहिरिए। पाइलटले धावनमार्गको मध्यरेखामा ‘नोज ल्यान्डिङ गियर’ टेकाएको भए सायद यात्रु एप्रोनसम्मै आइपुग्थे। तर, जहाजको बायाँ ल्यान्डिङ गियर घाँसेमैदानमा र दायाँ बीचको पक्की रन–वेमा कुदेका कारण विमानले सन्तुलन गुमाएको स्रोतको अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses