संखुवासभामा पहिलो पटक मागेर अन्तरजातीय विवाह

योगी योगेन्द्र, संखुवासभा, २३ फागुन, रक्षा शाक्य र उज्वल पोखरेलबीच बिहीबार मागी विवाह भयो । यी जातिमा भागेर अन्तरजातीय विवाह हुने भए तापनि  सङ्खुवासभाको पुरानो सदरमुकाम चैनपुरमा भने पहिलो पटक मागी विवाह भएको हो । सुनसरी खनार निवासी उज्वलसँग रक्षाको गत महिना चैनपुरमै इङ्गेजमेन्ट भएको थियो । पोखरेलका परिवारले घरमै आएर छोरी मागेपछि आफन्तसँग सल्लाह गरेर शाक्य परिवारलाई छोरी दिने निर्णय गरेका थिए ।



पहिलो पटक अन्तरजातीय विवाहकालागि रक्षाका बाबुसँग कुरा आउँदा एक पटक आश्चर्यमा परेका थिए । परिवारका सदस्य र दाजुभाईसँग कुरा गरेर उज्वललाई छोरी दिने निर्णय गरेको उनका बाबुले सुनाउँदै भने - 'जातको कुरामा मात्र अल्भिएर हुँदैन ।' विवाहको कुरा छिन्दा नै शाक्य परिवारले आफ्नै रीतिरिवाज र परम्परा अनुसार छोरीको विवाह गरिदिने सर्त केटा पक्षलाई राखेका थिए । सर्त अनुसार विवाहमा केटा पक्ष पनि आफ्नै व्राम्हण परम्परा अनुसार नै विवाहमा आएका थिए । उनीहरु पञ्चेबाजा बजाएर चैनपुर आएका थिए ।


दुलही पक्षकाले नेवारी रितिरिवाज अनुसार नै विवाह गरे । दुलाहा पोखरेललाई शाक्य परिवारले आफ्नै संस्कार अनुसार स्वागत गरेर सुपारी खेलाउने, परिवारका अन्य सदस्य चिनाउने लगायतका काम गरेका थिए । दुलाहाको घरमा बेलुही भित्र्याएपछि भने आफ्नै व्राह्मण परम्परा अनुसारको विधि गर्ने उज्वलले बताए । हिन्दू संस्कारमा छुवाछूत र अन्तरजातीय विवाह गर्नु हुँदैन भन्ने संस्कार आफूले तोडेको उनले दाबी गरेका छन् ।

0 comments

Write Down Your Responses