प्रधानमन्त्रीले युरोपेली दूतको सातो खाएपछि


February 3, 2015
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको आन्तरिक मामिलामा अनावश्यक चासो व्यक्त गरेको भन्दै कूटनीतिज्ञप्रति सोमबार असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले यस्तो चासोलाई कूटनीतिक मर्यादा र प्रजातान्त्रिक अभ्यासविरुद्ध भएको भन्दै युरोपेली कूटनीतिज्ञहरुसँग असन्तुष्टि पोखेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई भेट्न आएका युरोपेली राजदूतहरुलाई सिधै प्रश्न गर्दै कोइरालाले लोकतान्त्रिक पद्धतिको विरुद्धमा बोल्दै हिड्ने यो कस्तो कूटनीतिक अभ्यास र मर्यादा हो भन्दै सचेत गराएका हुन् ।
दलहरूबीच संविधानका विवादित अन्तरवस्तुमा सहमति नभएपछि संविधानसभाको दुई तिहाइले प्रस्ताव पारित गरी संविधान निर्माण प्रक्रिया अघि बढाउन प्रश्नावली समिति गठन गरेको छ । सत्तारूढ कांग्रेस र एमालेले संविधानमा सहमति जुटाउन प्रतिपक्षसित वार्ता र संविधानसभाको प्रक्रिया सँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
संविधानसभाको दुई तिहाइले अघि बढाइसकेको प्रक्रियाका सट्टा अन्तर्राष्ट्रिय समुदायले प्रतिपक्षसित वार्ता र सहमति गर्न एकोहोरो आवाज उठाइरहेकोप्रति प्रधानमन्त्री आक्रोशित भएका हुन् ।
प्रधानमन्त्रीले नेपालमा समयको संवेदनशीलतालाई ख्याल गरेर राष्ट्रिय सन्दर्भ र प्राथमिकताका आधारमा काम भइरहेको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले बुझ्न आवश्यक भएको बताए । आजको कान्तिपुरमा समाचार छ ।


0 comments

Write Down Your Responses