मरेर बाँचेका’ कल्पना र कृष्णाको चित्कार सुन्दा…
लखनउ डायरी
२०७१ चैत १० गते
दीपक ओली
धनगढी, १० चैत । छ महिनाअघि डोटीको छत्तिवन गाविसको कठपतेमा भयानक वस दुर्घटना भएको थियो । वस चालक र मालिकको लापरबाहीले भएको दुर्घटनामा अनाहकमा २९ जना सदाका लागि यो धर्तीबाट बिदा भए । तर, बच्न सफल भएकाहरु पनि यतिबेला जीवनमरणको दोसाँधमा छन् ।
गएको असोज २० गते आफन्तजनबाट दशैंको टीका थापेर आ–आफ्नो कर्मथलो र घर जाने बेला भएको सो हृदयविदारक घटनाले अझै पनि जो कोहीको मन झसँग बनाउँछ । छ महिना बितिसक्यो न त मृतकका आफन्तले यात्री विमाबापत पाउनुपर्ने रकम पाएका छन् न त घाइतेले उचित उपचार । सो दुर्घटनाले प्रधानमन्त्री सुशील कोइरालासहितको ध्यानकर्षण भई नेपाल सरकारले छानबिन समिति समेत गठन गरेको थियो ।
घटना दिन प्रतिदिन सेलाउँदै गइरहेको छ । मेरो मनमा भने सो घटना दिनहुँजसो स्मरणमा आइरहन्छ । कारण थियो सो दुर्घटनामा धनगढीमा कर्मथलो भएका युवा जोसिला क्षमतावान पत्रकार कर्ण शाहीको पनि मृत्युवरण । मर्ने त मरिसके बाँच्न सफल भएका घाइतेको अवस्था के कस्तो होला ? यो प्रश्नले मेरो मनमा दिनहुँजसो थप झस्काइ रहन्थ्यो ।
मनमा सधै उब्जिरहने यो प्रश्नको संयोग भनु वा अरु नै । एकजना मित्रले फोन गरेर सो दुर्घटनामा परी घाइते भएका दुईजना महिलाको अझै भारतको लखनउमा उपचार भइरहेको छ, उपचारमा कसैले वास्ता नगर्दा अस्पतालमै छट्पटिएर बसिरहका छन् भनेर खबर गरे । फेरि यो मन भित्रभित्रै कुँडिएर आयो । एकपटक लखनउमा उनीहरु उपचारत अस्पतालमै गएर कुराकानी गर्ने मन लाग्यो ।
लेखक
यसै सिलसिलामा शुक्रबार (७ चैत २०७१) बिहान लखनउस्थित उनीहरु उपचारत सामरा अस्पतालमै गएर कुराकानी गर्न केही पत्रकार सहमत भयौं । शुक्रबार बिहान सातबजे धनगढीबाट म सहित एभिन्यूज टेलिभिजन धनगढीका हरिश बिक, माउन्टेन टेलिभिजनका श्रवण देउवा र धनगढीबाट प्रकाशित हुने राष्ट्रिय सन्दर्भ दैनिककी खेमा बस्नेत तथा घाइतेका आफन्त प्रकाश शाही, इन्द्रबहादुर सिंह र खेमराज जोशी केही फलफूल लिएर लखनउतिर हानियौं ।
भौगोलिकरुपमा धनगढीबाट ६/७ घण्टाको मोटर बाटोमा पर्छ लखनउ । तर, छ महिनाअघि घाइते भएकी दुई महिला अझै उपचारमा छट्पटिएर बस्नुपरेको उनका आफन्तबाट सुन्दा हामी पत्रकार मर्माहित भयौं । कतिबेला लखनउ पुगौंला र उनीहरुलाई भेटेर कुरा गरी सान्तवना दिन पाउँला भनेर हामीलाई उकुसमुकुस भएको थियो । निजी गाडी रिजर्भ लिएर गएका थियौं । चालकले ब्यस्त सडकमा १२० सम्मको गतिमा हाँक्दा पनि लखनउ पुग्न अझै ढिला भइरहेको भान हुन्थ्यो मलाई । उता मित्र हरिश बिक भने गाडीको गति देखेर अलिअलि अत्तालिएका थिए । गाडीको टायर पनि पञ्चर थियो । पलिँयामा टालटुल गरेर लखनउतिर लागेका हामीलाई बीच बाटोमा टायर पञ्चर भयो भने हाम्रो यात्रा असहज हुने हो कि भनेर मनमा चिसो पसिरहेको थियो ।
बाटोभरि कुनै पनि ठाउँमा समस्या आएन । हाम्रो टोली पाँच घण्टापछि मध्यान्ह १२ बजे लखनउमा पुग्यो । पहिला खाना खाएर त्यसपछि सामरामा उपचारत घाइते ती महिलालाई भेट्ने सल्लाह गर्यौं । र, खाना खाएर अस्पतालतिर जाँदै थियौँ । हामीले रिजर्भ गरी लगेको स्क्यारपियो गाडीको टायर कामै नलाग्नेगरि पञ्चर भयो । नजिकै रहेको पसलमा टायरलाई टालटुल गरेर पुनः सामरातिर लाग्यौं । हामीले गाडीमै सल्लाह गरेर अस्पतालमा क्यामेरा कसैलाई पनि नदेखाई बिरामी भेट्न आएको निहुँमा ती महिलाहरुसँग कुरा गरी आवश्यक पर्ने फोटो र भिजुअल लिने सहमति गर्यौं । कारण थियो, लखनउका अस्पतालले पत्रकारलाई बिरामी र बेडको फोटो भिजुअल खिच्न दिँदैनन् भन्ने ।
सामरा अस्पतालको गेटमा पुगेपछि हामी सँगै रहेका घाइतेका आफन्तसँग उनीहरु उपचारत दोस्रो तलाको नौं नम्बर क्याबिनमा गयौं । र, चिनजान गरी भित्रबाट चुकुल लगाएर स्वास्थ्य अवस्था लगायतबारे सोधखोज गर्दै फोटो र भिजुअल लियौं ।
नेपालबाट पत्रकार भेट्न आए, अब हाम्रो उपचारमा केही सहज हुन्छ, हाम्रो दुखकष्ट बारे दुर्घटनामा परेको बस सुदूरपश्चिम बस यातायात ब्यवसायी समिति, स्थानीय प्रशासन, नेपाल सरकारको कानसम्म पुग्नेछ र आफ्नो उपचारमा केही सहजता आउने उनीहरुको मनसाय थियो । त्यहीकारणले होला उनीहरुको अनुहारमा केहीहदसम्म हर्षको आँसु देखियो । यो अस्पतालमा डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगाकी कल्पना बिष्ट र कैलालीको अत्तरिया नगरपालिका ४ तेघरीकी कृष्णा शाही उपचारत छन् ।
हामी पत्रकारले एक/एक गरी कुरा कोट्याउन थाल्यौं । माहौल एकाएक शोकमा डुब्यो, सबैका आँखा रसाए । केहिबेर बोली फुटेन् । घाइतेहरु डाँको छोड्दै भक्कानिए । कल्पना र कृष्णाको कम्मरमाथिको भाग राम्रैसँग चल्छ तर कम्मर तलको भाग चल्दैन् । निरन्तर आँसु झरिरहे ।
krishna-shahi
दुर्घटनाको २२ दिनपछि होस्मा आएकी कल्पना र कृष्णा भन्दै थिइन्– ‘आधा ज्यान त सामरा अस्पतालले बँचायो तर आधा ज्यान भने मरेकै छ । चिकित्सकले नसा रोगसम्बन्धी उपचार हुने अस्पतालमा लियो भने केही फरक हुनसक्छ भनेर भन्छन् तर हामी गरिब दुखीको कसैले उपचारमा वास्ता नगर्दा छ महिनादेखि बिरानो ठाउँमा जिउँदै पटकपटक मरे सरह बस्नुपरेको छ ।’
‘कल्पना एउटै सिटमा बसेर आएका उनका श्रीमान् लक्ष्मण र झण्डै डेढ वर्षकी छोरीलाई कहाँ, के अवस्थामा छन् भनेर सोधिरहन्छन् । आफन्तले केही भन्न सकेका छैनन् । जिउँदै छन् भने कसरी भनौं ? मरिसके भन्यौ भने थप पीडाले कल्पनालाई केहि पो हुने हो कि ?’, कल्पनाको रेखदेख गर्दै आएकी उनकी भाउजु शोभा बिष्टले भनिन्, ‘दुईटैको घटनास्थलमै मृत्यु भइसक्यो तर कल्पनालाई अझै भनेको छैन् । श्रीमान र छोरी गुमाएर सहाराविहीन भएकी कल्पनालाई भेट्न बिगत तीन महिनादेखि उनको घरबाट आउनु त कता हो, एक कल फोन पनि नगरि बेवास्ता गर्दा नन्दलाई थप मानसिक पीडा भएको छ ।’
नाबालक तीन छोराकी आमा कृष्णाका श्रीमानको पनि सोही घटनामा परी मृत्यु भइसक्योे । कृष्णा घरमा नाबालक छोराले के खाए होलान्, कस्ता होलान् भनेर बेलाबेला डाँको छोडेर भक्कानो छोड्छन् ।
सुदूरपश्चिम यातायातले सुरुमा घाइतेकोे सम्पूर्ण खर्च ब्यहोर्ने र उपचारमा कुनै कमी हुन नदिने बतायो । तर, त्यो यातायात समितिले हालसम्म अस्पतालमा लागेको खर्च आफूले नतिर्ने, बस मालिकले जे जे गर्छ आफै गर्छ भनेर पन्छिएको छ । अस्पतालले दिनहुँ घाइते तथा कुरुवालाई उपचारमा लागेको १५÷२० लाख भारु भइसक्यो कसले दिन्छ भनेर कुरा सुनाइ रहन्छ । यसले हामी घाइतेलाई अझै पीडा थप्ने काम भएको कल्पनाले दुखेसो गरिन् । कल्पना र कृष्णाको एउटै माग छ– ‘नसा रोगसम्बन्धी राम्रो उपचार हुने अस्पतालमा उपचार गराउन पाए, सामान्य हिँडडुल गरी दिशापिसाव लागेको थाहा पाएर आफै दिशापिसाव गर्ने हुने थियौं की ।’
कल्पना र कृष्णासँग एक घण्टाको कुराकानीपछि हामीले आफूसँग भएका क्यामेरा झोलामा लुकाएर अस्पताल प्रशासनका कर्मचारी र डाक्टरलाई भेटेर आफूहरु नेपालको पत्रकार बताउँदै कल्पना र कृष्णाको स्वास्थ्य अवस्था बारे बुझ्न आएको बतायौं । उनीहरुले त्यसका लागि अस्पतालका सञ्चालक डा. समर अब्बाससँग अनुमति लिनुपर्ने बताउँदै डा. समरलाई फोन गरे । डा. समरले आफ्नो घर नजिकै रहेकोले हामीलाई त्यहीँ लिएर आउन भने ।
हामी सामरा अस्पतालकै गाडी चढेर दुई किलोमिटरको दूरीमा रहेको डा. समरको घरमा गयौं । डा. समरको न्यानो सत्कारपछि हामीले एकाआपसमा परिचय गर्दै कल्पना र कृष्णाको स्वास्थ्य अवस्था बारे बुझ्यौं । डा. समरले पनि कल्पना र कृष्णाको जस्तै अघिकै कुरा गरे ।
हामीले कल्पना र कृष्णासँग कुरा गर्न र अस्पतालको फोटो, भिजुवल लिन अनुमति माग्यौं । डा. समरले कल्पना र कृष्णाको अवस्था बुझाउँदै उनीहरुलाई थप पीडा पुग्ने तथा मानसिक यातना हुने खालका कुरा नगर्न सुझाउँदै हामीलाई सहजरुपमा अनुमति दिए । त्यसपछि भने हामी झसँग हुँदै एकाआपसमा आँखा जुधायौं । कारण थियो, त्यसअघिनै हामीले कल्पना र कृष्णालाई भेटेर फोटो र भिडियो खिचेर कुराकानी गरिसकेका थियौं । सायद्, डा. समर यति सहयोगी र मिलनसार छन् भनेर थाहा पाएका थियौं भने हामी कोठाभित्रबाट चुकुल लगाएर फोटो र भिडियो लिने थिएनौं ।
जेहोस्, जुन उद्देश्य लिएर गएका थियौं । त्यो काम पूरा भएकोमा हामी औधी खुसी थियौं । कुराकानी पछि डा. समरले आफ्नो बडेमान घरको छतमा लगेर लखनउ शहरको दृष्य देखाउँदै केही ऐतिहासिक ठाउँको बारे बताए । र, कल्पना र कृष्णाको अवस्था बारे बताउँदै भने– ‘जो सँग केही हुँदैन्, उसको कोही पनि हुँदैन्रहेछ । जो सँग केहि हुन्छ, उसको सबै हुँदोरहेछ ।’
बिचरा ! कल्पना र कृष्णासँग डा. समरले हालसम्म एक पैसा नलिकनै औषधोउपचार र कुरुवाको खानेबस्ने ब्यवस्था गरेका रहेछन् । उनको औषधोउपचारको पैसा ब्यहोर्छु भन्ने धनगढीस्थित सुदूरपश्चिम यातायातले पछिल्ला दिनमा बस मालिकले जे गर्छ उसैले गर्छ । हामी तपाईंको अस्पतालको पैसा तिर्दैनौं भनेर पत्र लेखेछ । रातदिन नभनी सर्वसुलभरुपमा उपचार गर्दा धन्यवादसहित पैसा पाउनुपर्ने हो तर पैसा भन्दा समितिको लापरवाही देख्दा डा. समरले आफूमा खिन्नता छाएको बताए ।
डा. समरले सुनेका रहेछन्, हालसालै धनगढीको उत्तरबेहडीस्थित शिवपुरीधाममा मन्दिर बनाउन सुदूरपश्चिम यातायातले ३० लाख रुपैयाँ बढी दिएको । त्यसको हवला दिँदै डा. समरले भने –‘आफ्नै समितिको बस दुर्घटनामा परी अंगभंग भएका सहाराविहीन दुई महिलाको न त उपचारको खर्च दिन मान्छ न त उनलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लिन । यो कस्तो सामाजिक मानविय कार्य हो ? त्यो यातायात समितिको । पैसा दिन नसके पनि कम से कम बिरामीलाई भेट्न त आउनुपर्ने हो नि !’
डा. समरका कुरा सुनेपछि हामी एकछिन घोत्लियो । एक नेपाली हुनुको नाताले शिर झुकायौं । कुराकानी गरेर फर्कनै लाग्दा उनी र उनकी श्रीमतीले आफ्नो घरमा बसेर भोली मात्र जान आग्रह गरे । तर, हामीले अस्पतालमा गएर बिरामीसँग कुराकानी गरी फोटो र भिडियो लिएर आजै फर्कनुपर्ने बाध्यता बतायौं । उनी र उनकी श्रीमतीले हामीलाई एकछाकसँगै नखाएर तथा आफ्नो घरमा नबसेको भन्दै अप्ठ्यारो मानीमानी बिदावारी गरे ।
पुनः अस्पतालमा आएर अस्पताल परिसरको फोटो, भिडियो लियौं । भित्र गएर कल्पना र कृष्णासँग अप्ठ्यारो मान्दै बिदा माग्यौं । दुबैको हामी हिँड्नै लाग्दा एकाएक अनुहार मलिन भयो । आँखाभरि आँशुले भरियो । र, बोल्न अप्ठ्यारो हुँदाहुँदै पनि भनिन् –‘यो अस्पतालले आधा ज्यान त बचाइँ दियो, आधा मरेकै छ । आफ्नै देशमा भयो भने कमसेकम भाषा बुझिन्थ्यो, कसैसँग भेट् हुन्थ्यो तर यहाँ (अर्काका ठाउँमा) त आफ्नो भन्ने कोही छैन् । एक्लै दिनरात बिताउनुपर्ने बाध्यता छ । तपाईंहरु गइसकेपछि हाम्रो यो पीडा नेपाल सरकार, बस समितिका पाधिकारीहरु, स्थानीय प्रशासनलाई सुनाइ दिनुहोला ।’
हाम्रो टोलीमा रहेका सबैले अस्पतालबाट बाहिर निस्कदै गर्दा घरिघरि कल्पना र कृष्णा भएकोतिर हेर्दै उनलाई हामीजस्तै हिडेको देख्ने लालसा लिदै निस्कियौं । त्यसैगरि कल्पना र कृष्णाले पनि हामीलाई ।
गेटसम्म पुगेर हामीलाई अस्पतालका कर्मचारीहरुले बिदावारी गरे । यतिबेला साँझको पाँचबजिसकेको थियो । हामीले सँधै आइँदैन् । आएको बेला लखनउको ऐतिहासिक पुरातात्विक महत्व भएको ‘भूल–भुलैयाँ’ हेरेर जाने सल्लाह गरी ‘भूल–भुलैयाँ’ तिर लाग्यौं । ‘भूल–भुलैयाँ’ले हामीलाई पूरापूर आफ्नो नियन्त्रणमा राखि औलिक आनन्द दियो । सबैजना ‘भूल–भुलैयाँ’ को परिक्रमा गर्दै धमाधम फोटो लिन तल्लीन भयौं । समय गएको पत्तै भएन । साझको आठ बज्नै लाग्दा हामीले ‘भूल–भुलैयाँ’ लाई बाई बाई गरेम् ।
अब भने हामीलाई धनगढी पुग्न हतार भइसकेको थियो । गाडीमा चढ्यौं । एकाएक सँगैकी सहकर्मी खेमा बस्नेतले आफ्नो स्वास्थ्यमा अप्ठ्यारो भएको बताइन् । गाडी रोकेर औषधोमूलो गरेम् । फेरि पहिलेकै गतिमा गाडी हिँड्यो ।
सीतापुर भन्ने ठाउँमा पुगेर खाना खाएर उही रफ्तारमा गाडी हुइँकियो । गाडी हिँडेको तीन घण्टापछि गाडीको चक्कामा समस्या देखियो । चालकले विस्तारै गाडी हुइँकाउदै गाडी बनाउने पसलको खोजी गर्दै हिँडे । जब गुलरिया भन्ने ठाउँ पुग्यौं । गाडीको पूरै चक्का पञ्चर भएर गुडाउनै नसक्ने भयो । यतिबेला रातीको साढे बाह्र बजेको थियो ।
गाडीलाई साइडमा लगाएर सकडमा आउने गाडीलाई पञ्चर भएको चक्का बनाउने उपाय बारे सोधीखोजी गरेम् तर केही साध्य लागेन् । यो ठाउँमा न त उतीसारो बस्ती नै थियो । घरमा आजै फर्कन्छु भनेर आएका हामी गुलरियामै रोकिन पुग्दा आत्तियो । रातको समय । बिरानो एकान्त ठाउँ । मनमा अनेकौं डरत्रास लिएर केहि गाडीमै केहि नजिकैको उखुको खातमा सुत्यौं ।
बिहान पाँच बजेपछि । अब यहिँ बसेर केहि हुँदैन् । गाडी यतै छोडेर सबैजना पलिँया जाने र पलिँयाबाट चालकले नयाँ टायर लिएर आउने सल्लाह गर्दै सडकमा आइरहेको ट्रकलाई रोकेर पलिँयासम्म आयौं । पलिँया आइसकेपछि भने केही राहत भयो । किनकी पलिँयाबाट धनगढी आउन बस पाउने र नजिकै (४० किलोमिटरजति) थियो ।
गाडी चालकलाई टायर किनेर गुलरिया पठायौं । दुई घण्टापछि चालक हामी कुरेर बसेको ठाउँमा गाडी लिएर आए । त्यसपछि भने सबैजनाको अनुहारमा राम्रै चमक आयो । फेरि आपसमा ख्याल ठट्ठा गर्दै मध्यान्ह बाह्रबजेपछि अर्थात् २९ घण्टापछि (आइतबार, ८ गते) कर्मथलो धनगढी पुगेर सबैजना आ–आफ्नो गन्तब्यतिर लाग्यौं ।
यतिबेला म भने उही कल्पना र कृष्णाले भनेका कुरा तथा उनको शारिरीक अवस्था झलझली सम्झँदैछु । त्यतिमा कहाँ हो र ? डा. समरले भनेको –‘मन्दिर बनाउन ३० लाख दिनसक्ने यातायात समिति आफ्नै समितिको बस दुर्घटनामा परी अंगभंग भएका सहाराविहीन दुई महिलाको…….. । ‘जो सँग केहि हुँदैन्, उसको कोहि पनि हुँदैन्रहेछ । जो सँग केहि हुन्छ, उसको सबै हुँदोरहेछ ।’
0 comments
Write Down Your Responses