नर्स विदेश पलायनको रहस्य बुझियो


-यशोदा रिमाल, नर्स,
अस्पतालमा बिरामीसँग २४ सै घण्टा साथमा रहने र सेवामा तल्लिन रहने भनेका नर्सहरु नै हुन् । तर, तिनै नर्सहरुलाई सेवाको सट्टा दुःखमात्र छ । बाहिरबाट हेर्ने जो कोहीलाई नर्स भन्नेवित्तिकै निकै राम्रा सेवा, सुविधा लिन्छन् भन्ने लाग्छ । मलाई पनि आफूले कलेजमा पढ्दासम्म नर्सले त सहजै जागिर पाउँछन् अनि भनेजस्तो तलब र सम्मान हुन्छ भन्ने लागेको थियो । तर, वास्तविकता अर्कै रहेछ ।
यो पेशामा अहिले न जागिर पाउने ठेगान छ, न त जागिर पाएकाहरुमा भनेजस्तो तलव तथा सेवा, सुविधा । छ त केवल भोलिन्टियरका रुपमा काम गर्नुपर्ने बाध्यता अनि त्यसमाथि सबैको गालीगलौज । नर्सहरुले अस्पतालमा वर्षौं बिनापारिश्रमिक काम गर्नुपर्ने बाध्यता छ । दिनरात नभनी बिरामीलाई पहिलो प्राथमिकता दिएर नर्सहरुले काम गरिरहेका हुन्छन् । र पनि नर्सको कामको कदर गर्दैनन् । उल्टै नर्सहरुमार्थि बिरामीसँग झर्कन्छन्, गाली गर्छन् भनेर आरोप छ ।
मैले सुरुमा त्रिशूली अस्पतालमा दुई महिना भोलिन्टियरी गरेँ । त्यसबापत अस्पतालले मलाई सर्टिफिकेट समेत दिएन । त्यसपछि म वीर अस्पतालमा आएँ । वीरमा चार महिना काम गरेपछि मलाई न्युरो अस्पतालमा बोलाइयो । तर त्यहाँ पनि एक महिना भोलिन्टियरका काम गर्नुपर्ने भयो । त्यति गर्दा पनि जागिरको टुंगो नभएपछि कान्तिपुर अस्पतालमा आएकी छु । यहाँ पनि एक महिना भोलिन्टियरका रुपमा काम गरेपछि बल्ल तलब पाउने भएँ ।
मैले पिसिएल नर्सिङ सकेको एक वर्ष भयो । यस बीचमा मैले चारवटा अस्पतालमा काम गरिसकेँ । तर, सबैमा भोलिन्टियरका रुपमा मात्र । सुरुमा एउटा अस्पतालमा काम गरेपछि अर्को अस्पतालमा जागिर पाइन्छजस्तो लागेको थियो । तर, जुन अस्पतालमा गए पनि सुरुमा भोलिन्टियरकै काम गर्नुपर्ने बाध्यता रहेछ ।

जागिर खानयती धेरै दुःख पाउनु परेपछि मलाई त बेकारमा नर्सिङ  पढेजस्तो लागिरहेको छ । अरु विषय पढेको भए एक वर्षको अवधिमा धेरै माथि पुगिसकिन्थ्यो होला । तर, यहाँ बल्लबल्ल तलब खान सक्ने अवस्था आएको छ । मुस्किलले जागिर पाए पनि नर्सहरुको तलब निकै कम रहेछ । नर्सहरुले लाखौँ खर्चेर पढ्छन् तर तलब भने असाध्यै कम । यस्तै अवस्था भएर पनि होला, नर्सहरु विदेशतिर लागेको । यहाँभन्दा त विदेशमा धेरै राम्रो अवसर छ ।
अधिकांश नर्सको अवस्था यस्तै छ । जागिर पाउन पनि निकै ठूलो संघर्ष गर्नुपर्ने रहेछ । अझ अहिले त झन् भोलिन्टियर काम गर्छु भन्दा पनि अस्पतालमा ठाउँ नपाइने अवस्था आइसकेको छ । भोलिन्टियर गर्न पनि सोर्सफोर्स लगाउनुपर्छ । भोलिन्टियर रुपमा काम गर्नरु आइहाल्छन् भनेर नर्सका लागि जागिर नै नदिने अवस्था छ । सित्तैमा काम गर्न आउने भएपछि किन राख्नु जागिरे ?
स्वास्थ्य खबर पत्रिकाबाट साभार

0 comments

Write Down Your Responses