प्रधानमन्त्री सुशील कोइरालालाई स्वाइनफ्लु, नेताहरु पनि उच्च जोखिममा

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री सुशील कोइरालालाई स्वाइनफ्लुको लक्षण देखिएको छ । प्रधानमन्त्री कोइरालालाई दुई सातासम्म लगातार रुघा-खोकी लागेपछि स्वाइनफ्लुको आंशका गरिएको हो ।
स्वाइन फ्लुको संक्रमण बढ्न थालेपछि चिकित्सकहरूले प्रधानमन्त्री कोइरालालाई दुई सातासम्म रुघा-खोकी लागेका व्यक्तिसँग नभेट्न सल्लाह समेत दिएका छन् ।
यद्यपी प्रधानमन्त्री कोइरालामा स्वाइनफ्लु लक्षण देखा परेपनि संक्रमण नभएको चिकित्सकहरुले बताएका छन् । उनीहरुले ब्रोङकाइटिस, दम र क्यान्सर लगायत उपचारका क्रममा रोगप्रतिरोधक क्षमता कमजोर भएका अन्य व्यक्ति भेटघाट गर्दा सजग रहन समेत सुझाव दिएका छन् ।
प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक एवं वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा. करविर नाथ योगीले स्वाइनफ्लुको आशंका गरिएपनि प्रधानमन्त्री कोइरालामा स्वाइनफ्लु नभेटिएको जानकारी दिनुभयो । ‘केही लक्षण देखिएपछि शंका बढेको थियो, तर प्रधानमन्त्रीज्यूमा स्वाइनफ्लुको संक्रमण छैन्,’ उहाँले भन्नुभयो, ‘वाहिर भेटघाट गर्दा सर्तकर्ता अपनाउन सुझाव दिएका छौं ।’
बुढापाका, दम र फोक्सोको रोगी, क्यान्सरका उपचार गराइरहेकाहरु, अंग प्रत्यारोपण गराएकाहरु, मधुमेह, मुटूरोग, मोटापनाको समस्या भएकाहरु, मृगौला रोग, क्षयरोगी, वालवालिका, गर्भवती, एचआएभी संक्रमित, वा अन्य कुनै कारणले रोग प्रतिरोधक क्षमता कम भएकालाइ स्वाइन संक्रमण भए बढी जटिलता देखिने गरेको छ ।
यस्ता समस्या भएकाहरू स्वाइनलगायतका इन्फुएन्जाको जोखिम समुहमा पर्छन् । काग्रेस, एमाले एमाओवादी, मधेशवादी लगायत पार्टीका उच्च नेताहरू दीर्घ रोगले पीडित छन् ।
ती नेतामा स्वाइन संक्रमण कडा रुपमा देखिन सक्ने भएकोले उहाँहरुले केहीसातासम्म आफूलाई यो संक्रमणवाट जोगाउने प्रयास गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले गत बिहीबारदेखी खासै भेटघाट गरेका छैनन् । उनको मृगौला प्रत्यारोपण गरिएकाले रोग प्रतिरोधक क्षमता कम छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पटकपटक हृदयाघात भइसकेका नेता हुन् । कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष मोहन वैद्यलगायतका पुरानो दमको समस्या छ ।
एमाले नेता माधव नेपाल केही अघि निमोनियाले थलिएर वीर अस्पतालमा भर्ना भएका थिए । उनीहरू सबैले स्वाइनको संक्रमणबाट जोगिन सतर्क रहनु पर्ने चिकित्सकहरूले बताएका छन् ।
नेताहरुले दिनहु थुप्रै व्यक्ति संग भेटनु पर्ने भएकोले रुघाखोकी जस्ता संक्रमण सर्ने सम्भावना बढी भएको भन्दै चिकित्सकहरुले फोक्सोको समस्या भएका नेताहरुलाई रुघा खोकीलगायतका स्वाइन संक्रमण कडा रुपमा देखिन सक्ने भएकोले चनाखो रहनुपर्ने सुझाव दिएका छन् ।
मुख्यतया स्वास प्रस्वास र मुखवाट निस्किने पानीका थोपाहरुको माध्यमले रुघा खोकी जस्तै सर्ने स्वाइन फ्लुको भाइरस शरीरमा प्रवेश गरेको एक देखी सात दिन सम्ममा लक्षण देखिन सक्छ । यो संक्रमणको लक्षण देखिनु भन्दा २४ घन्टा पहिले देखी आठ दिन पछि सम्म अन्य व्यक्तिलाइ संक्रमण सार्ने खतरा हुन्छ ।
स्वाइनको मुख्य लक्षणमा ज्वरो एक सय डिग्री फरेनहाइट भन्दा बढी आउनुको साथै घाटी दुख्नु, खोकी लाग्नु, नाकबाट पानी वग्नु, मांसपेसी र टाउको दुख्नु, थकाइसंगै औषधि सेवन गरे पनि ज्वरो बढदै जानु आदि हुन् ।

0 comments

Write Down Your Responses