मलेसियाको पीडा: मेरै अगाडि साथीको टाउको काटे, नेपाल फर्कन्छु भन्ने सोचेकै थिइँन

२०७१ चैत ८ गते 

कहालीलाग्दा भोगाइ सुनाउँदै डिबी सुनार
- विश्वास खड्काथोकी/
पातलो जिउडाल । निन्यारो अनुहार । सुकेका ओठ । खुलेर हाँसे पनि बनावटीजस्तो देखिने । तल्लो ओठ अलि उचालिएको थियो । ओठमा खैनी चापेका रहेछन् । भन्दै थिए, ‘यसो पीडा भुलाउन बेला, बेलामा खैनी चाप्ने गर्छु ।’ खैनीले उनको पीडा भुलाउँछ या बल्झाउँछ त्यो त उनैलाई थाहा होला । तर विगतको पीडाबाट पाठ सिकेर उज्यालो भविश्यको मार्ग कोर्न बागलुङदेखि काठमाडौंको माइक्रो यात्रामा थिए बागलुङ लेखानीका डिवी सुनार ।

‘कति भयो नेपाल आएको ?’ प्रश्न भुइमा खस्न नपाउँदै जवाफ फर्काए, ‘दुई महिना । दुई हप्ता काठ्माडौँ बसेर औषधी खानु पर्‍यो । बाँकी समय गाउँको साथीभाईलाई विदेशको कथा सुनायो, बस्यो । अव नेपालमै केही गर्ने सोचमा छु । सायद रेष्टुरेण्ट खोल्छु होला ।’
जो कसैलाई लाग्छ, मलेसियामा दुई वर्ष ११ महिना बिताएर आएकाले टन्न पैसा कमाएका होलान् । विदेशी जीवन मोजमस्ती, रमाइलोमा बिताएका होलान् । डिबीले भने मोजमस्तीको होइन, मलेसियामा कहालिलाग्दो भोगाइको कथा सुनाउन थाले । जसरी गाउँका साथिभाईहरुलाई सुनाएर केहि दिन विताएका थिए ।
‘मलेसियामा मुख्य कुरा सुरक्षा छैन । धन्न बाँचेर आइयो यही ठूलो कुरा हो’, डिबी कहालीलाग्दा दिनहरुतर्फ फर्कन्छन्, ‘बाँचेर नेपाल आउँछु भन्ने सोचेकै थिइँन । अव भुलेर पनि मलेसिया जाँदिन । बरु साउदी, कतार जान्छु ।’ २७ बर्षीय डिबी बाँचेर नेपाल त फर्किए तर नेपाल आएर करिव तीन हप्ता डिप्रेसनको औषधी खानु पर्‍यो । ‘मलेसिया हुँदा निद्राको औषधी नखाई निदाउन सक्ने थिएन, अहिले केही खानु पर्दैन’, डिबी पीडा बिसाएर मनलाई हलुको बनाउने प्रयास गर्छन् ।
उनी एसएलसी सक्काएर काठमाडौ आए । उच्च शिक्षाको पढाईसँगै दोहोरीमा पनि गाउन थाले । उनको साथीले बैदेशिक रोजगारीको लागि सल्लाह र जानकारी दियो, ‘ग्लोव प्याक गर्ने काम, महिनामा नेपाली २० हजार तलब, ओटीको अरु कमाई ।’ साथीको कुरालाई विश्वास गरी उनी मलेसियाको सपनामा भुल्न थाले । डेढ लाख खर्चेर मलेसिया पनि पुगे । तर काम रहेछ, फलाम काट्ने । ‘१२ घण्टा खटिएर काम गर्नु पथ्र्यो, तलब त्यस्तै नेपाली १०, १२ हजार हुन्थ्यो’, डिबीको आँखा रसिलो बन्छ, ‘एक महिना त सात हजार मात्र तलब आयो । त्यो पैसा खानेकी, घर पठाउनेकी, कोठा, पानी, बिजुलीको तिर्ने ।’ उनी काम गर्ने ठाउँमै आशु बगाउँथे । भन्छन्, ‘धेरै रोइयो सर, तर विरानो मुलुकमा मर्म बुझिदिने कोहि हुदो रहेछनछ ।’ १२ घण्टाको लगातार ड्युटी, त्यसमा पनि दिनहुँ साहुको अपाच्य गाली । यस्तै थियो उनको मलेसियन दैनिकी ।
आफ्नै अगाडि साथीको टाउको काट्यो
माइक्रो आफ्नै रफ्तारमा थियो । धादिङको मलेखु क्रस भइसकेको थियो । पछिल्लो सिटमा बसेका डिबीका छेउछाउकाहरु पनि उनकै कुरा सुन्न उत्सुक देखिएका थिए । डिबी भने बिस्तारै आफ्नो पीडाको गाठो फुकाउँदै थिए । ‘बंगाली र झापाका नेपालीहरुको झगडा परेको थियो । एकदिन नेपालीले बंगालीको लागि गुण्डा लगाइदिएका रहेछन् । हामीलाई पहिल्यै सुचित गरिएको थियो । बाहिर कोही ननिस्कनु भनेर । तर मधेसी मुलका दुई जना गेट बाहिर बसेका थिए । उनीहरु पहिल्यैदेखि मलेसिया बस्दै आएकाले भाषा पनि राम्रै जानेका थिए । त्यसैले उनीहरुको रवाफ पनि छुट्टै थियो । बेलुकी गुण्डाहरु आए । चेनगेट फुटाले र बंगालीलाई खोज्न थाले । बंगालीहरु झ्यालबाट हामफालेर भागे । कतिको हातखुट्टा नै भाँचियो । गुण्डाहरुले बंगाली नभेटेपछि मधेशतिरका मेरै एकजना साथीको टाउको तरबारले काटिदिए । अर्को साथी भने भाग्ने मौका पाएछ ।’ यस्ता घटना मलेसियामा दिनकै हुने उनी बताउँछन् ।
मलेसियन सरकाले आफ्नो नागरिकको लागि राम्रो व्यवस्था गरेपनि नेपालीहरुको लागि केही नगर्ने उनको भनाइ छ । उनले मलेसियाको बास्तविकता बताउँछन्, ‘हामी बाटो हिडिरहेका हुन्छौँ। पछाडि तरवार हालेर गुण्डाहरु मोटरसाइकलमा आउँछन् र मोबाइल, पर्स माग्छन् । दियो भने ठीकै छ, दिएन भने बाटोमै तरबारले छप्काएर हिँड्छन् ।’ कोठामा पनि चोरी भैराख्ने उनी बताउँछन् । ‘एक दिन साहुको छोराले भनेको सानो काम एकजना नेपालीले मानेनछ’, अझ डरलाग्दो वास्तविकता सुनाउँछन् डिबी, ‘त्यसपछि साहुको छोराले उसलाई नदिको किनारमा लगेर चक्कुले छियाछिया पार्यो । अनि त्यस्तै घर पठाईदियो ।’
तेरो लास रातो बाकसमा पठाइदिन्छु !
यस्ता दृष्यहरु डिबीको आँखामा पलपल नाचिरहन्थे । त्यसैले उनलाई लाग्थ्यो, ‘म अव घर फर्किदैन, मलेसियामा आएर मर्न लेखेको रहेछ ।’ उनी एकबर्षमै नेपाल फर्कन चाहिरहेका थिए । तर पाइरहेका थिएनन् । घर जान्छु भन्दा साहुले उल्टै दुई, तीन हजार रिंगेट माग्दो रहेछ । भन्छन्, ‘जानेबेला डेढ दुई लाख खर्च गरियो । फेरि दुई तीन लाख खर्च गरेर कसरी फर्कने ।’ एक दिन उनले साहुलाई घर पठाइदिन आग्रह गर्दै दरो मुटु पारेर भनेछन्, ‘म मरेपछि को जिम्मेवार हुन्छ । म घर जान चाहन्छु ।’ साहुको जवाफ सम्झँदा अहिले पनि डिबीको आङ सिरिंग हुन्छ । साहुको जवाफ थियो, ‘त मरेपछि कोहि जिम्मेवार हुँदैन । तेरो लास रातो बाकसमा हालेर पठाइदिने जिम्मा मेरो हो । त्यो गर्दिन्छु ।’ उनी अवाक बन्छन् । उनकै कुराले थानकोटको उकालो सकिएर, काठमाडौको कलंकी पनि आइपुग्छ । त्यसपछि भेट्ने बाचाका साथ डिबी र पंक्तिकारको बाटो अलग बन्छ ।

0 comments

Write Down Your Responses