चीनले पुटिनलाई भन्यो हामी छौं ढुक्क हुनुस्

२५ फागुन, बेइजिङ ।


युक्रेनसँग द्वन्द्वका लागि पश्चिमी मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाए पनि चीनले रसियासँग आर्थिक तथा कूटनीतिक सम्बन्ध अगाडि बडाउने बताउँदै उनीहरूको सम्बन्ध आपसी आवश्यकतामा आधारित भएको बताएको छ ।



बेइजिङमा विदेशमन्त्री वाङ यीले चीन तथा रसियाबीच व्यवहारिक सहयोग आपसी आवश्यकतामा आधारित भएको बताए । उनले यस सम्बन्धले दुबै पक्षका लागि लाभ खोजेको र यसको ठूलो आन्तरिक प्रेरणा रहेको तथा त्यसमा विस्तारको पर्याप्त स्थान रहेको बताउनुभयो ।

प्रश्चिमी मुलुकले लगाएको प्रतिबन्धका साथमा राष्ट्रपति भ्लादिर पुटिनको मुलुकले आफ्नो मुद्राको मूल्य निकै घटेको देखेको छ । साथै तेलको मूल्य व्यापक रूपमा झर्दा उसको आर्थिक वृद्धि अझै प्रभावित भएको छ ।

यी दुबै मुलुक संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का सदस्य हुन् । यी दुबै मुलुकले यसअघि पश्चिमी मुलुकले सिरियामा गृहयुद्ध जस्ता विषयमा अगाडि बढाएका पाइलालाई निषेधाज्ञा प्रयोग गरी असफल बनाइदिएका थिए ।

चीनमा कम्युनिस्टको नियन्त्रणमा रहेको संसद अर्थात राष्ट्रिय जन कङ्ग्रेसको बैठकका समयमा विदेशमन्त्री वाङले पत्रकारहरूलाई बेइजिङ तथा मस्कोले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न रणनीतिक समन्वय र सहयोग निरन्तर राख्ने बताए ।

रसियाले क्राइमियालाई आफ्नो नियन्त्रणमा राखेपछि तथा युक्रेनको पूर्वी भागमा निरन्तर द्वन्द्वपछि पश्चिमी मुलुकको आक्रमण भोग्नुभएका राष्ट्रपति पुटिनले चिनियाँ विदेशमन्त्रीको टिप्पणीबाट चिनियाँ आर्थिक तथा कूटनीतिक समर्थन निरन्तर रहने विश्वास गर्नसक्ने बताइएको छ ।

शीतयुद्धको समयमा बेइजिङ तथा मस्कोबीच सम्बन्ध राम्रो थिएन । गत २५ वर्षमा उनीहरूले संयुक्त राष्ट्र सङ्घमा अन्तर्राष्ट्रिय रूपमा समान स्थान फेला पारेका छन् र समान अडान लिएका छन् ।

रसियाको व्यापक उर्जाको स्रोतप्रति चीन आकर्षित छ र उनीहरूले नजिकको आर्थिक सम्बन्ध स्थापना गरेका छन् । पश्चिमी प्रतिबन्धका कारण रसियाली राष्ट्रपति पुटिनलाई स्थिर बजार खोज्नुपर्ने आवश्यकता भएको छ । तेलको मूल्य घट्दा प्रमुख आय स्रोतमा प्रभावित हुँदा उहाँको अर्थतन्त्र नराम्रोसँग प्रभावित छ ।

रसियाली राष्ट्रपति पुटिन तथा चिनियाँ समकक्षी सी जिनपिङले गत वर्ष पाँचपटक भेट गरेका थिए भने उनीहरूले नजिकको व्यक्तिगत सम्बन्ध स्थापना गरेका छन् । रासस÷एएफपी

0 comments

Write Down Your Responses