अमेरिकामा रुचाइयो ‘भूल भुलैया’, पृथ्वीदेखि मंगल ग्रहसम्मको प्रेम

नेपालमा प्रदर्शन नहुँदै चलचित्र ‘भूल भुलैया’को भव्य पि्रमियर अमेरिकामा गरिएको छ । चलचित्रका मुख्य कलाकार जिवन लुइटेलको उपस्थितीमा भएको प्रिमियरमा ३५० दर्शक सहभागी थिए ।
विदेशमा विशेषगरि नेपाली चलचित्र रेष्टुरेन्ट वा कुनै होस्टेलमा देखाइने गरिन्छ । तर, निर्देशक योगेश घिमिरे भन्छन्-‘मेरो चलचित्रलाई अमेरिकाको मल्टिप्लेक्समा प्रिमियर गरिएको छ ।’
अमेरिकाको टेक्ससस्थित हस्टिन थिएटरको ५ नम्बर हलमा यो चलचित्र देखाइएको हो । चलचित्र हेरेपछि अमेरिकामा रहेका नेपालीको आखाबाट आशु चुहियो ।
चलचित्र हेर्न ‘हिम्मतवाली’ कलाकार सुदर्शन गौतम पनि पुगेका थिए । उनले चलचित्रले अत्यन्त राम्रो बनेको भन्दै आफ्नो आखाबाट पनि आशु झरेको बताए ।
चलचित्र हेरेपछि एक बृद्धले भने-‘यो चलचित्रले त पृथ्वीदेखि मंगल ग्रहसम्मको प्रेम देखाएको रहेछ ।’ चलचित्रको प्रिमियरबाट आएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको नायक जिवन लुइटेलको भनाई छ ।
निर्देशक योगेश घिमिरेले पनि आफ्नो दिल खुशी भएको बताए । अब, यो चलचित्र अमेरिकाका अन्य शहरमा पनि देखाइनेछ । निता ढुंगाना, सोहित मानन्धरको समेत मुख्य भूमिका रहेको यो चलचित्रले त्रिकोणात्मक प्रेम कथालाई बोलेको छ । यो चलचित्र नेपालमा चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

0 comments

Write Down Your Responses