नायिका नम्रता श्रेष्ठको खोजी

चैत्र ८,
रातभर नम्रताकै बारेमा सोच्दा राम्रोसँग निदाएको थिइन । दुई दिन यसरी नै बितेको थियो । यो बीचमा मैले कसैसँग पनि सम्पर्क गरेको थिइन । फेसबुकमा नम्रताको बारेमा उपन्यास लेख्न लागेको कुरा सार्वजनिक गरेकाले फेसबुकमै नम्रताले यस विषयमा कुनै सन्देश पठाउँछिन् कि भन्ने लागेको थियो । जसले गर्दा धेरै समय फेसबुकलाई दिइरहेको थिएँ । म आफ्नो कार्यकक्षमा बस्दाबस्दै कुर्सीमा निदाएछु ।

‘‘क्या हो हजुर, दुईदिन भयो, न फोन छ, न भेटघाट छ ?’

मधुर मुस्कानसहित रागिनीले हात समाइन । रागिनी अर्थात मेरो प्रेमिका, म उनलाई आफूभन्दा धेरै माया गर्छु । मेरो कार्यकक्षमा आउँदा सबैले अनुमति लिनुपर्छ । तर उनलाई कार्यालयमा सबैले चिनेका थिए । जसले गर्दा मेरो कार्यकक्षमा आउनका लागि पनि उनलाई अनुमति लिनु पर्दैनथ्यो । नम्रताको उपन्यास लेख्ने भूत चढेपछि रागिनीलाई समेत मैले सम्पर्क गरेको थिइन । जसको मीठो मुस्कान, बोली, मुहार हेर्दा दिनहरु शुभ भएको महसुस गर्दथेँ । जसले गर्दा रागिनीलाई समेत नम्रताको उपन्यास लेख्ने भूतले बिर्साएको थियो । उनले मेरो कपाल सुम्सुम्याइन । सायद मेरो अवस्था देखेर उनको मनमा मप्रति झनै माया पलाएको थियो होला ।

‘मेरो हजुर, नम्रताको बारेमा उपन्यास लेख्ने चक्करमा मलाई पनि बिर्सनु भएछ । आफ्नो हालत समेत प्रेममा धोका खाएको प्रेमी जस्तो बनाउनु भएको छ ?’ मलाई अंगालो बेर्दै उनी लाडिइन ।

रागिनीको प्रेममय स्पर्श प्राप्त भएपछि निन्याउरो भएको मेरो मुहारमा पनि चमक देखा पर्यो । मन प्रफुल्ल भएको महसुस गरेँ । मैले सोचेंको थिएँ, यो विषयमा थाहा पाएपछि रागिनी एकछिन् भएपनि मसँग रिसाउनेछिन् । तर यहाँ उल्टो भयो । उनीसँग भेट हुनासाथ उनी नै यस कुरामा बढी जिज्ञासु हुन थालिन् ।

‘उपन्यास लेखनमा के के प्रगति भयो त ?’ मुस्कुराउँदै उनले प्रश्न गरिन् । मैले पनि उनको प्रश्नमा उत्तर दिएँ– ‘खासै प्रगति भएको छैन, सम्वेदनशील विषय भएकाले उनको बारेमा सबै कुरा बुझेर मात्र लेखन कार्य अगाडि बढाउला भन्ने सोचेंको छु, तर उनको बारेमा खासै केही कुरा अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।’

‘कस्तो कुरा ? उनको टेप हेरेकै होला ? यसैलाई आधार बनाएर लेखे त भैहाल्यो नि’ रागिनीले एकै श्वासमा आफ्नो राय राखिन् । उनको भनाइमा मेरो प्रतिक्रिया थपियो ‘भिडियो त हेरेको छु, धेरैपटक, तर यतिले मात्र मेरो उपन्यासको कथा वस्तु पूरा हुन सक्दैन, म मेरो पात्रको, उमेर, ठेगाना, काठमाडौं कहिले आइन, यो क्षेत्रमा कहिले र कसरी प्रवेश गरिन, यो भन्दा पहिला के गर्थिन् सबै कुरा बुझ्न चाहन्छु । त्यसैले सामाजिक सञ्जाल फेसबुकमा उनीसँग भेट भैहाल्छ कि भनेर निरन्तर फेसबुकको सम्पर्कमा छु ।’

‘दाङको चल्तापूर्जा पत्रकार, लेखक, साहित्यकार भएर पनि अलिकति पनि दिमाग यताउता दौडाउनु छैन, यति भयानक घटना घटिसकेपछि मानिस या आत्महत्या गर्छ, यात केही समय संघर्ष गर्दै गुप्तबास बस्छ, उनी स्वयम्बाट यो कुरा तिमीले कदापि थाहा पाउन सक्दैनौं, तर केही प्रारम्भिक जानकारी गुगलमार्फत थाहा पाउन सकिन्छ, तिम्रो कथाको मुख्य पात्रको जन्म, ठेगाना, उनी कहिलेदेखि यो क्षेत्रमा प्रवेश गरिन लगायतका टिपोटहरु गुगलमा हुनसक्छ’ नम्र स्वरमा रागिनी बोलिन् । उनको कुरा सुनेपछि मेरो मन थप प्रफुल्ल भयो । बाटो बिराएको यात्रीले सही मार्ग भेटाउँदा खुशी भए जस्तै हुन पुगे म । खुसी हुँदै रागिनीलाई अंगालोमा बेरेँ । उनको ओठमा प्रेम बर्साएपछि दुवै मिलेर गुगलको यात्रा गर्न थाल्यौं । रागिनीले भने बमोजिम गुगलमा नम्रताको बारेमा केही कुरा उल्लेख गरिएको रहेछ ।

(नम्रता श्रेष्ठ, घर धरान, जन्म सन् १९८५ जुन १४, पहिलो फिलिम सानो संसार ९२००८०, मोडलिङ क्षेत्रमा प्रवेश २००५ बाट, १९९७ बाट गुरुकुलको थिएटरमा अभिनय सुरु गरेको । विभिन्न पत्रपत्रिकामा तस्वीरहरु प्रकाशित । सेप्टेम्वर २००९ मा दोस्रो चलचित्र ‘मेरो एउटा साथी छ’ रिलिज भएको केही दिनपछि उक्त भिडियो सार्वजनिक । त्यसपछि नम्रता सबैबाट सम्पर्कविहीन भएको)

गुगलमा नम्रताको बारेमा यति कुरा मात्र उल्लेख गरिएको थियो । रागिनी अंग्रेजीमा दक्ष थिइन् । उनले मलाई अघि पछि पनि यस्ता धेरै कुरामा सहयोग गर्दथिन् । रागिनीले गुगलमा भएका एक–एक शव्दको व्याख्या गरेर मलाई बुझाउने प्रयास गरिन् । म विद्यार्थी जस्तै बनेर उनले बुझाएका कुराहरु ग्रहण गर्ने प्रयासमा लिप्त भएँ । अनलाइनमा एकछिन् समय बिताएपछि उनको र मेरो वार्तालाप फरक प्रसंगमा मोडियो ।

‘तिमीले थाहा पायौ, हाम्रो गाउँको रामबहादुरले अर्को विवाह गरेछ ।’ रागिनीले रामबहादुरको बिहेको कुरा सुनाएपछि म पनि सो विषयमा जिज्ञासु भएँ । किनकी म अहिले जुन विषयमा उपन्यास लेखेर समाजमा सन्देश दिन चाहन्थेँ, यो विषयलाई पनि उपन्यास भित्र कैद गर्न सकेमा राम्रो हुन्छ भन्ने कुरा मनमा निमेषमै आयो । किनकी रामबहादुर मैले चिनेको व्यवसायी हो । उसको श्रीमतीले ६ महिना अगाडि मात्र आत्महत्या गरेकी थिइन् । श्रीमतीलाई निको नहुने रोग लागेको थियो । तर, रामबहादुरले जग्गा बिक्री गर्दै श्रीमतीको औषधी उपचारमा कुनै कसर बाँकी राखेको थिएन । केही गर्दा पनि रोग निको नहुने थाहा पाएपछि तीन छोराछोरीको भविष्य, श्रीमानको भविष्यलाई हेरेर आफ्नै रोगका कारण घरपरिवार सडकमा आउने भए भनेर रामबहादुरको श्रीमतीले आत्महत्या गरेकी थिइन । जुन कुरा मलामी जाँदा मैले थाहा पाएको थिएँ । मैले त्यतिबेला रामबहादुरकी श्रीमतीको त्यागलाई मनमनै प्रशंसा पनि गरेको थिएँ । तैपनि आत्माहत्या नगर्नु पर्ने हो भनेर मलाम जाँदा नसोचेंको भने होइन । तर पनि कुनै आत्महत्या समाजमा संघर्ष गर्न नसकेर गरिएका हुन्छन् भने कुनै परिवारको त्यागका लागि पनि गरिँदो रहेछ भन्ने मनमा परेको थियो । त्यसपछिका विभिन्न समयमा भएका आत्महत्या भने समाजमा संघर्ष गर्न नसकेकै कारणले भएको देखेको थिएँ । रागिनीले रामबहादुरले अर्को बिहे गरेको सुनाएपछि यो विषयमा थप जान्न मन लाग्यो ।

‘रामबहादुरले बिहे गरेछ, त्यो त उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो, अनि उसका छोराछोरीहरु भने कहाँ छन् त ?’

मेरो प्रश्न नसकिदैं रागीनीले जवाफ फर्काइन्– ‘कहाँ होलान र, उनीहरु मामा घर बस्न लागेको दुईतीन महिना भैसक्यो, भाउजुले छोराछोरी, श्रीमाननलाई राम्रो होला, सम्पत्ति बच्ला भनेर आत्महत्या गरिन्, मरेर गइन्, अहिले उनको त्याग पानीमा गयो । छोराछोरीहरुलाई घरमा नराख्ने भएमात्र बिहे गर्छु भनेर कान्छी श्रीमतीले भनेकाले दुईमहिना अगाडि नै बाबुले उनीहरुलाई घरबाट निकालिदिएका हुन् । बरु सम्पत्ति सके सकिन्थ्यो, मान्छे बाँचेको भए, पैसा कमाउन सकिन्थ्यो होला, भाउजुले आत्महत्या गरिन, छोराछोरीले उल्टै दुःख पाएका छन् ।’

रागिनीले नजानिँदो पाराले यस विषयमा आफ्नो मनको भावना पोखेपछि मलाई नम्रताको विषयमा आफ्नो ढंगबाट सकारात्मक सन्देश प्रवाह गर्ने किसिमबाट कलम चलाउन थप हौसला प्राप्त भयो ।

(सविन प्रियासनको अप्रकाशित उपन्यास नम्रताको एक अंश)

0 comments

Write Down Your Responses