२० हजार लिएर अर्काको परीक्षा

भक्तपुर, चैत्र ८ - सबिन रानामगरले काठमाडौंको बैश्नवी खुल्ला विद्यालयबाट एसएलसीको परीक्षा फारम भरे । उनकै नाममा शिक्षा कार्यालयले प्रवेश पत्र पनि जारी गर्‍यो । उनको परीक्षा केन्द्र काठमाडौंको बालुवाटार स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा पर्‍यो । उनी जस्तै परीक्षा दिने पौने ६ लाख विद्यार्थी आफै परीक्षाको तयारी गर्दै थिए । उनी चाहि अरुले परीक्षा दिएर पास हुने चक्करमा लागे । अनि उनले थानकोटका सञ्जय कार्कीलाई परीक्षा दिन लगाए । कार्कीकै नाममा नक्कली प्रवेशपत्र बनाए । योजना अनुसार कार्कीलाई बिहीबार भएको अंग्रेजी र शुक्रबारको अनिवार्य नेपाली बिषयको परीक्षा दिन लगाए । यसअघिको जस्तै आइतबारपनि अनिवार्य गणितको परीक्षा दिन कार्की परीक्षा हलमा छिरे । जब उनी प्रश्न हातमा लिएर उत्तर लेख्दै थिए । सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारे र उप नियन्त्रक अनुपम श्रेष्ठ बीच पनि उनलाई नियन्त्रणका लिने बिषयमा छलफल चलिरहेको थियो । नियन्त्रक द्वारे भक्तपुरको परीक्षा केन्द्र अनुगमनमा निस्किए । श्रेष्ठलाई महेन्द्र उच्च मावि केन्द्रमा पठाए । कार्कीले अर्काकै परीक्षा दिइरहेको कार्यालयमा बिशेष सुराकी आएको थियो ।

काठमाडौंका परीक्षा हेर्ने उपसचिव दुर्गा प्रसाई र श्रेष्ठको टोली महेन्द्र उच्च माविमा छिरे । केन्द्रको विभिन्न कोठामा अनुगमन गरे । अनि ०९०३२५९ एस सिम्बोल नम्बरको प्रवेश पत्र अगाडि राखेर कार्कीले परीक्षा दिइरहेका थिए । टोलीले सुराकी पाएको व्यक्तिको प्रवेश पत्र हेरे । कार्यालयले जारी गरेको प्रवेश पत्र भन्दा कार्कीको साथमा रहेको प्रवेश पत्र फरक पाए । छानविन हुन थालेपछि कार्की निलो कालो भए ।

केन्द्राध्यक्ष देवराज गुरुङले सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको टोलीलाई बोलाएर छानविन गर्न जिम्मा लगाए । छानविनको क्रममा उनले अर्काको परीक्षा दिएको पत्ता लाग्यो । उक्त कोठामा निमावि तहका शिक्षक देवनारायण भण्डारी निरिक्षक रुपमा खटिएका थिए ।  'हामीलाई आएको सुराकी सही रहेछ,'नियन्त्रक द्वारेले भने । नक्कली परीक्षार्थीले परीक्षा दिएको जानकारी उनले १० बजे थाहा पाएका थिए ।

छानविनमा के पत्ता लाग्यो ?

बैश्नवी खुल्ला विद्यालयबाट परीक्षा फारम भरेका सविन रानामगरको परीक्षा कार्कीले दिएको पाइएको थियो ।  ०९०३२५९ एस सिम्बोल नम्बर भएको उनलाई २० हजार रुपैयाँ दिएर परीक्षा दिन लगाएका पाइएको काठमाडौंका जिल्ला शिक्षा अधिकारी बालकृष्ण रञ्जितले बताए । '२० हजारमा १० हजार लिइसकेका रहेछन,'उनले भने,' कार्कीले यसअघि अंग्रेजी र नेपाली बिषयको परीक्षा दिइसकेको रहेछन् ।'

प्रवेश पत्र नै नक्कली बनाएर काठमाडौं थानकोटका कार्कीले परीक्षा दिएको पाइएको उनले बताए ।  परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले उनको सबै बिषयको परीक्ष रद्ध गरेर अर्को वर्ष पनि परीक्षा दिन नपाउने व्यवस्था गर्न शिक्ष्ाा कार्यालयलाई निर्देशन दिएको बताए ।

नेपाली बिषयको परीक्षामा मुगुमा श्रीमतीको परीक्षा श्रीमानले दिएको फेला परेको थियो ।

परीक्षा नियन्त्रकको परिचयपत्र माग्दा...

भक्तपुर-एसएलसी परीक्षाको तेस्रो दिन आइतबार मुलुकभरी अनिवार्य गणित बिषयको परीक्षा भइरहेको थियो । परीक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी विज्ञ सहितको टोली बसेर पाँचै विकास क्षेत्रको प्रश्नपत्र कार्यालयमा बिहान साढे सात बजे खोल्ने गरिन्छ ।

प्रश्नमा गल्ती भएमा सच्याएर नोटिस बोर्डबाट हाल्ने गरिन्छ । आइतबार सुदुरपश्चिम क्षेत्रको पहिलो प्रश्नमा 'एस' हुनु पर्नेमा 'वाइ' भएको पाइएको थियो । उक्त गल्ती सच्याइएपछि परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारे पनि अनुगमनमा भक्तपुरको विभिन्न परीक्षा केन्द्रमा निस्किए । पहिलो अनुगमन भक्तपुरकेा कन्या माविमा गए । परीक्षा केन्द्रको सुरक्षामा नेपाल प्रहरी खटिएका थिए । केन्द्रको गेट भित्र छिरिसकेपछि एक महिला प्रहरी भनिन,'पख्नुस् । तपाईहरु को हो ? परिचयपत्र देखाएर मात्रै जानुस् ।' द्वारेले आफनो परिचय पत्र घाटीमा भिरेका थिए । भित्र छिरिसकेका द्वारे बाहिर आएर आफू परीक्षा नियन्त्रक भएको परिचय देखाए । आफनो परिचय पत्र मागेको भन्दै प्रहरीलाई धन्यबाद दिए । उनले कन्या, श्रीपद्यम, बागेश्वरी र सरस्वती माविको परीक्षा केन्द्र अनुगमन गरेर फर्केका हुन् । काठमाडौंमा पत्रकारलाई परिचय पत्र देखाएपछि छिर्न पाउने व्यवस्था गरेको छ । भक्तपुरमा भने शिक्षा कार्यालयले उपलब्ध गराएको पास विनाको व्यक्तिलाई प्रवेश रोक लगाएको छ । 'जसलाई पायो उसलाई भित्र छिर्न नदिनु राम्रो हो,'द्वारेले भने,'आफूले अनुगमन गरेकेा केन्द्रमा शान्तिपूर्ण  रुपमा व्यवस्थित परीक्षा सञ्चालन भएको पाइयो ।' भक्तपुरको शिक्षा अधिकारी रमाकान्त शर्मा अनुगनमा जादा अनिवार्य नेपाली बिषयमा चिट चोरेकेा भन्दै कौशलटार स्थित आदर्श जनप्रेमी केन्द्रबाट एक विद्यार्थीलाई निस्काशन गरिएको छ ।

0 comments

Write Down Your Responses