यी ‘भीआइपी अभियुक्त’ कहिले पुग्लान् प्रहरी खोरमा ?

२०७१ चैत १० गते 
प्रदीपजंग पाण्डेलाई गिरफ्तार गरेर पुरुषार्थ देखाउने नेपाल प्रहरीले वर्षौंदेखि प्रहरी खोजी सूचीमा रहेका उज्जनकुमार श्रेष्ठका हत्यारा बालकृष्ण ढुंगेल, एक दर्जन अपराधमा फरार रहेका एमाओवादी केन्द्रीय सदस्य कालीबहादुर खाम, नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्दजस्ता फौजदारी अभियोग लागेका र सजाय पाएकालाई भने प्रहरीले खोजीसम्म गरेको छैन ।

काठमाडौं, १० चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेमाथि तीन दशकअघि लागेको मुद्दा सम्बन्धमा सर्वोच्च अदालतले रिट खारेज गरेको दुई घन्टा नबित्दै प्रहरीले पक्राउ गरेको घटना रहस्यमय बन्दै गएको छ । सर्वोच्च अदालतले पाण्डेद्वारा दायर गरेको रिट खारेजलगत्तै उनलाई नियोजित रूपमा पक्राउ गर्नुले पनि प्रहरीको नियतमा शंका उब्जिएको हो ।

सदाबहार साप्ताहिकमा इन्द्र रिजाल लेख्छन्, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको सल्लाह र योजनाअनुसार नै पाण्डेलाई तत्काल पक्राउ गरिएको आरोप अहिले संघका पदाधिकारीले गर्न थालेका छन् । अदालतको फैसलालाई सम्मान गर्दै स्वयं पाण्डे नै हाजिर हुने समय हुँदाहुँदै एक पेसाकर्मी व्यवसायीलाई प्रहरीले जघन्य अपराधका फरार अभियुक्तझैँ धरपकड गर्नुले घटनालाई थप रहस्यमय बनाएको छ ।
तीस वर्षअघिको प्रकरणमा तत्कालीन राष्ट्र प्रमुखको हैसियतले राजा विरेन्द्रले कैद र जरिवाना मिनाहा गरेको दाबी गर्दै पाण्डेले अदालतमा रिट दिएका थिए । उनी नेपाल उद्योग वाणिज्य महासंघको दुई–दुई पटक उपाध्यक्ष हुँदा कुनै प्रश्न उठाइएको थिएन् । तर, उनले अध्यक्षको उम्मेदवारी दिएसँगै उनको विगतलाई नियोजित रूपमा उछालेर उनको व्यावसायिक छविमै आघात पु¥याउने कार्य भएको थियो । महासंघको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएलगत्तै पाण्डेमाथि सो प्रकरण उल्ट्याउने चलखेल सुरु भएको थियो । पाण्डेलाई पुनरावेदन अदालतले ७ असार ०४१ मा कैद र जरिवाना गरेको थियो । तर, पाण्डेले आफूलाई तत्कालीन श्री ५ को आदेशबमोजिम कैद र जरिवाना मिनाहा गरेको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधान न्यायाधीश देश वाहिर गएका बेला कामु प्रधान न्यायाधीश भएका कल्याण श्रेष्ठले यस मौकाको फाइदा उठाउदै कैची हानेको चर्चा कानुन व्यवसायी र व्यवसायीहरु बीच चलेको छ । चितवनमा हालै सम्पन्न कानुनु व्यवसायीहरुको भेलाले सवोच्च अदालतका न्यायाधीश हरुनै सबै भन्दा बढी भ्रष्टाचारी रहेको निणर्य यहाँ सम्झना योग्य हुन आएको छ । मंगलबार पक्राउ परेका पाण्डेलाई बुधबार जिल्ला अदालत काठमाडौंमा बुझाइको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

पाण्डेलाई अदालतको आदेशलगत्तै गिरफ्तार गरेर पुरुषार्थ देखाउने नेपाल प्रहरीले वर्षौंदेखि प्रहरी खोजी सूचीमा रहेका उज्जनकुमार श्रेष्ठका हत्यारा बालकृष्ण ढुंगेल, एक दर्जन अपराधमा फरार रहेका एमाओवादी केन्द्रीय सदस्य कालीबहादुर खाम, नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्दजस्ता फौजदारी अभियोग लागेका र सजाय पाएकालाई भने प्रहरीले खोजीसम्म गरेको छैन । पक्राउ गर्नु त कहाँ हो कहाँ प्रहरीको खोजीको सूचीमा समेत एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठ, घर–जग्गाका व्यवसायी सुधीर बस्नेत, क्यासिनो माफिया राकेश बाध्वा, किस्ट बैंकका सञ्चालक कमल ज्ञवालीलगायत दुई दर्जन भीआईपी अभियुक्तलाई प्रहरीले राख्न सकेको छैन । दर्जनौँ चर्चित अभियुक्तहरूको नाममा इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएको वर्षौं बितिसक्दा पनि प्रहरीले उनीहरूलाई कानुनकोे दायरामा ल्याउन नसक्ने विषय भने रहस्यमय बन्दै गएको छ ।
उज्जनकुमार श्रेष्ठ हत्याको आरोपमा सर्वोच्च अदालतद्वारा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेललार्ई उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले कार्यभार सम्हालेका दिन सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ढुंगेललाई तत्काल पक्राउ गर्ने घोषणा गरेका थिए ।
उपप्रधानमन्त्री गौतमले ‘ढुंगेल किन पक्राउ परेका छैनन्, त्यो हेर्नुपर्छ, यस्तै अवस्था रहे केही ढिला होला तर उनीमाथि कानुनअनुसार कारबाही हुन्छ’ भनी सञ्चारकर्मीहरूलाई विश्वास दिलाएका थिए । तर, गौतमले प्रतिबद्धता व्यक्त गरेको एक वर्ष बितिसक्दा पनि ढुंगेल पक्राउ नपर्नुलाई राजनीतिक संरक्षण भएको प्रस्ट हुन्छ । ढुंगेलमाथि ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको पुष्टि भइसकेको छ । खुलमखुल्ला हिँडेका ढुंगेलमाथि प्रहरीले नदेखेझैँ गरी फरार भएको दाबी गर्दै खोजी भइरहेको बताउने गरेको छ । त्यस्ता फरारहरूमा दलका नेतादेखि व्यवसायी र बैंकका उच्च पदाधिकारीसम्म छन् ।
कर्तव्य ज्यान, अपहरण, हातहतियार खरखजाना, सरकारी छाप कीर्ते, डकैतीको अभियोग लागेका एमाओवादी केन्द्रीय सदस्य खाम पनि प्रहरीको खोजीको सूचीमा भए पनि एक दशकदेखि पक्राउ परेका छैनन । जिल्ला अदालत, काठमाडौंले ०६७ सालमै खामलाई पक्राउ गर्न सातदिने पुर्जी काटेको थियो ।
तीनजना चिनियाँ व्यापारी माखुम दुख, ममानी र ममालीबाट यार्सागुम्बा किन्ने बहानामा करिब साढे २६ लाख रुपैयाँ लुटेको आरोप पनि खाममाथि छ । तत्कालीन समयमा खाम चढ्ने आई टेन नामक चोरीको गाडी भने प्रहरीले बरामद गरेको थियो । यार्सागुम्बा लुटेको आरोपमा पक्राउ परेका अन्य पाँच आरोपीलाई भने ०६७ सालमै थुनामा राख्ने आदेश जिल्ला अदालत काठमाडौंले दिएको थियो । खामको योजनामा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्या भएको प्रहरीको दाबी छ । तर, खाम पक्राउ गर्न प्रहरीले कुनै चासो नदेखाएको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।
कुनै बेला नेपालको क्यासिनोका बादसाहको रूपले चिनिने क्यासिनो माफिया राकेश बाध्वासमेत प्रहरीको फरार सूचीमा रहेका छन् । विगत चार वर्षदेखि फरार रहेका बाध्वालाई नेपाल प्रहरीले पक्राउ गर्न कुनै चासो देखाएको छैन । बक्यौतासमेत गरी करिब २० करोड रुपैयाँ राजस्व नतिरी बाध्वा फरार छन् । रिक्रिएसन सेन्टरका सञ्चालक बाध्वालाई फरार सूचीमा राखेको तीन वर्ष भइसकेको छ । उनलाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले ०६७ सालमै महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र काटे पनि प्रहरीले कुनै चासो देखाएको छैन । फरार अभियुक्त बाध्वा अहिले भारतको नयाँदिल्लीमा रहेको जानकार बताउँछन् । जिल्ला अदालत काठमाडौंले उनलाई जुवा मुद्दामा समेत फरारको सूचीमा राखेको छ ।
सर्वसाधारणको १८ अर्ब रुपैयाँ निक्षेप अपचलन गरी फरार बैंकरहरूको सूची पनि लामो छ । १८ अर्ब बिगो दाबी गर्दै एक दर्जन बैंक तथा वित्तीय संस्थामा भएको घोटालाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीं) ले मुद्दा दायर गरेको थियो । जसमा एक हजार बढी बैंकरमाथि अभियोग लागेको छ । तीमध्ये करिब पाँच दर्जन कानुनको दायरामा आए पनि घोटालाका धेरैजसो नाइकेलाई भने प्रहरीले कानुनको कठघरामा उभ्याउन सकेको छैन । तत्कालीन किस्ट बैंकका कार्यकारी निर्देशक छँदा कमसल धितो र आफ्ना नातागोताका नाममा खराब ऋण दिएको भन्दै २५ करोड रुपैयाँ घोटाला गरेको अभियोग कमल ज्ञवालीलाई लागेको छ ।
ज्ञवालीकी पत्नी गौरी खनाल पक्राउ परे पनि कमललाई भने प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । त्यस्तै, घरजग्गाको कारोबारी सुधीर बस्नेत पनि नेपाल प्रहरीको फरार सूचीमा छन् । करोडौँ ठगीको आरोपमा जिल्ला अदालतबाट धरौटीमा छुटेका बस्नेतलाई सर्वोच्च अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि उनी फरार भएका हुन् । फरार रहेका बस्नेतलाई पनि प्रहरीले पक्राउ गरी कारागार चलान गर्न अदालतलाई सहयोग गरेको छैन ।

0 comments

Write Down Your Responses