सडक दुर्घटना घटाउन ‘ड्राईभर’लाई पोसाक अनिवार्य

काठमाडौँ, २ चैत । सडक दुर्घटना बढ्न थालेपछि सरकारले सार्वजनिक यातायातका चालक र परिचालकका लागि पोसाक अनिवार्य गराउने तयारी सुरु गरेको छ ।
प्रत्येक दिनजसो सडक दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका चालक र परिचालकका लागि पोसाक अनिवार्य गर्न लागेको हो ।
‘पोसाक अनिवार्य गरेपछि चालक र परिचालक भट्टीमा गएर रक्सी खान पाउँदैनन् र मादक पदार्थ सेवन गरेका कारण हुने दुर्घटना रोकिनेछ’– मन्त्रालयका निर्माण तथा यातायात महाशाखा प्रमुख रवीन्द्र श्रेष्ठले भन्नुभयो ‘यो व्यवस्था लागू गरेपछि कर्मचारीको सङ्ख्या पनि बढाएर नियमितरुपमा अनुगमन गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउने अभियानमा मन्त्रालय लागेको छ ।’
सार्वजनिक यातायात बढी दुर्घटनामा पर्न थालेपछि मन्त्रालयले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ लाई संशोधन गरी मन्त्रिपरिषद्बाट पारित गराएको छ ।
नियमावलीमा व्यावसायिक र अव्यावसायिक गरी दुई थरी लाइसेन्सको व्यवस्था गरी व्यावसायिक लाइसेन्स लिन चाहनेका लागि कम्तीमा दश कक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses