रानीबारी हत्याकाण्डका अभियुक्त भेट्न नेताहरुको लर्को
काठमाडौं ।
संविधानसभा बैठक बस्न नसकिरहेका बेला एमाले र एमाओवादीका फुर्सदिला तथा सभासद् रानीबारी हत्याकाण्डका आरोपित मनराज गुरुङ र प्रमेश चौहानलाई भेट्न प्रहरी कार्यालय पुगेको रहस्य खुलेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका मनराज र प्रमेशलाई भेट्न उनी निकट केही सभासद् सोमबार त्यहाँ पुगेका थिए ।
रामेछाप क्षेत्र नम्बर २ का एमाओवादी सभासद् श्यामकुमार श्रेष्ठ, एमाले दोलखाका सभासद् पार्वत गुरुङ, एमाओवादी दोलखाकी पूर्वसभासद् देवी खड्का र उनका भाइ विशाल खड्का सीआईबी पुगेको उच्च स्रोतले बतायो।
दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट पार्वत र एमाओवादीबाट विशाल उम्मेदवार थिए। सभासद्ले थुनुवा भेट्ने कक्षमै प्रमेश र मनराजसँग झन्डै आधा घन्टा बिताए। हत्याजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तलाई भेट्न जाँदा सभासद्हरूले संविधानसभाको परिचयपत्र पेस गरेका थिए।
सभासद् पार्वत गुरुङ मनराजका काका हुन्। दोलखामा रहँदा ठेक्कापट्टा गर्ने मनराज एमाओवादीसँग निकट छन्।
सुरुमा कांग्रेस निकट भएर काम गरेका मनराज २०६० जेठ १७ गते गोलढुंगामा म्यानपावर सञ्चालक लीलामाया गिरीको हत्या प्रकरणमा जोगिएपछि २०६३ मा एमाओवादी भ्रातृ संगठन वाईसीएलका सदस्य भएको प्रहरी अनुसन्धानले देखाएको छ।
पहिलो संविधानसभा चुनावमा दोलखाबाट एमाओवादीकी देवी खड्काले उम्मेदवारी दिएपछि चुनाव जिताउन मनराज पनि खटिएका थिए।
२०६४ मा दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उद्धव अधिकारीले देवीका भाइ विशालविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेका थिए। त्यतिबेला अधिकारीमाथि कुटपिट भएको थियो। प्रहरीका अनुसार कुटपिटको नेतृत्व मनराज आफैंले गरेका थिए।
सभासद् पार्वतले मनराजलाई भेट्न गएको पुष्टि गरे। उनले भने, ‘मनराज मेरो भतिजो पनि पर्छ र मेरो निर्वाचन क्षेत्रको मान्छे पनि भएकाले सहानुभूति दिन गएको हुँ।’ एमाओवादी सभासद् श्यामकुमारले पनि प्रमेश निर्वाचन क्षेत्रकै मान्छे भएकाले अवस्था बुझ्नमात्रै गएको बताए।
श्यामकुमारले दोस्रो संविधानसभा चुनावमा रामेछाप २ बाट उम्मेदवारी दिएपछि प्रमेश चुनाव प्रचारमा खटिएका थिए। चुनावताका श्यामकुमारलाई जिताउन प्रमेशले केही रकमसमेत खर्चिएको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका एक सदस्यले बताएको अन्नपूर्ण पोष्टमा समाचार छ ।
0 comments
Write Down Your Responses