आफूलाई भारतपरस्त भन्नेहरुलाई बाबुरामको कठोर जवाफ

२५ फागुन, काठमाडौं ।


एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा र त्यसपछि आफ्नो विषयमा भएका टिप्पणीबारे कडा जवाफ दिएका छन् । बाबुरामले फेसबुकमार्फत आफू माथि उठाइएको सवालका विषयमा जवाफ दिएका हुन् ।

बाबुरामले पुराना सत्ताधारीहरुले आफूविरुद्ध गलत प्रचार गरेर परिवर्तनको प्रक्रियामा प्रहार गरेको दावी समेत गरेका छन् ।



उनले फेसबुकमा लेखेका छन्ः राष्ट्रियता जस्तो अत्यन्त संवेदनशील र गहन महत्वको विषयमा केही वृत्तबाट ज्यादै गैरजिम्मेवार, तथ्यहीन र दुराशयपूर्ण टीकाटिप्पणी र दुष्प्रचार हुनु निकै आपत्तिजनक र दुःखद विषय भएको छ।

संचार माध्यममा निकै सक्रिय देखिएका त्यस्ता टीप्पणिकर्ताहरु ( वा प्रयोजित दुष्प्रचारकहरु?) मध्ये अधिकांशतः पुरानो सत्ताका पक्षधरहरु र गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता/समावेसी-समानुपातिक लोकतन्त्रका विरोधीहरु देखिनुले उनीहरुको 'राष्ट्रियता' को गोहीको आँसुको वास्तविक मर्म अग्रगामी परिवर्तनकारी शक्ति/व्यक्तिहरुको मानमर्दन/चरित्रहत्या गरेर समग्र क्रान्तिकारी परिवर्तनको प्रक्रियामाथि नै बंचरो प्रहार गर्नु रहेको स्वतः प्रष्ट हुन्छ।

केही आलाकाँचा 'क्रान्तिकारी' साथीहरु भूलवश वहकिनु वेग्लै कुरा हो। हिजो पंचायती निरंकुशतावादीहरुले बहुदलवादी र वामपन्थी क्रान्तिकारीहरुलाई 'अराष्ट्रिय-तत्व' र 'विदेशमा पानी पर्दा नेपालमा छाता ओढ्ने' भनेर दुत्कार्ने गरेको हामी सबैले पक्कै बिर्सेका छैनौं।त्यसैको धंगधंगी अहिले देखिनु कुनै अनौठो होइन।

0 comments

Write Down Your Responses