सुन्दरी पछयाउँदै कोस्टारिका हाम फालेका खगेन्द्र

सुन्दरी पछयाउँदै कोस्टारिका हाम फालेका खगेन्द्र

सान होजे अन्तराष्ट्रिय विमानस्थल ओर्लदा लाग्यो– काठमाडौं ओर्लिदैछु। मध्यअमेरिकी देश कोस्टारिकाको राजधानी सान होजे ठ्याक्कै काठमाडौं  उपत्यका जस्तै लाग्छ। चारैतिर हरिया पहाडले घेरिएको यो शहर जति सुन्दर छ त्यतिनै यहाँका मानिस सुन्दर छन्। नेपाली घरझंै चिटिक्क परेका स–साना घर, सबैतिर हरियाली, सुन्दर फुल बगैंचा मन नै  लोभ्याउने।

एयरपोर्टबाट पन्ध्र मिनेटको सडक पार गरेपछि आलाक्योलाको एउटा सुन्दर कोलोनीमा पसियो। यो सानो शहर सान होजेको छिमेकमा छ। त्यहि कोलनीभत्र एउटा घर छ, डा. खगेन्द्र चापागाँईको।

त्यो घरमा उनको ४ जनाको परिवार बस्छ। विगत बीस वर्षदेखि डा. खगेन्द्रलाई कोस्टारिकाले छोडेको छैन। उनको घरजम यतै भयो, राम्रै जागिर पाए अनि यतै भुलिए । तर यतै भुलिएको कुरा मान्न भने उनी सहमत छैनन्। उनको नागरिकता कोस्टारिकन त हो तर उनको मन नेपाली नै छ।

पूर्वी पहाडको भोजपुरको गाउँमा जन्मिएका उनी झापाको चन्द्रगढी बसाईँ सरेपछि उनको शैक्षिक यात्राले गति लियो। उनी राजधानी काठमाडौं हुदै युक्रेन पुगे। सन् १९९२ मा उनले  एमडी सके।


युक्रेनमा संगै पढ्ने कोसटारिकन युवतीसँग उनको माया बस्यो। मायाले उनलाई त्यतै डो¥यायो। मायाकै लागी खगेन्द्र आफ्नो देश छोडेर मध्यअमेरिका हाम फाले । खगेन्द्र सन् १९९८ देखि कोस्टारिकाको राजधानी सान होजेस्थित सान होजे नेसनल हस्पिटलमा बहिरङ्ग विभाग प्रमुख हुँदै अहिले आलाक्योला पोलिक्लिनिकमा  फिजिसियन छन् । २००९मा त्यहाको नेसनल युनिभसिर्सीबाट इन्टर्नेसनल रिलेसन एन्ड डिप्लोमेसिमा मास्टर गरेपछि उनको कामले झनै प्रतिष्ठा पाउन थाल्यो। अहिले उनी मधुमेह रोगको उपचार र त्यसका बारेमा थप अनुसन्धानमा लागेका छन्। आफ्नो  पेशा र कामप्रति इमान्दार र लगनशील भएकाले कोस्टारिका सरकारले उनलाई स्थायी शिक्षा एवम् सामाजिक् सुरक्षा सम्बन्धी राष्ट्रिय आयोगको कार्यकारी सदस्य नियुक्त गरेको छ।

कोस्टारिकामा आप्रवासी नेपालीले पाएको सम्मान आफैंमा गौरवपुर्ण मान्नु पर्छ। त्यसो त कोस्टारिकाभरी लगभग ५०÷६० नेपालीमात्र होलान्। तीमध्ये डा.  खगेन्द्र सरकारी नीति निर्माणको कार्यकारी पदमा पुग्नु आप्रवासी नेपालीका लागि खुसीको विषय हो।

सामान्य नेपालीको छोरो आफ्नो अध्ययन र परिश्रमले अर्कै मुलुक पुगेर प्रतिष्ठा आर्जन गर्दैछ। त्यसले सबै नेपालीको इज्जत नै बढ्छ। पचास वसन्त पार गरेका  चापागाँई आफ्नो पेशा र त्यसबाट प्राप्त रोजगारी, आय र प्रतिष्ठाबाट खुसी देखिएपनि मनभित्र कतै असन्तुष्ट देखिन्छन्। के हो त उनको असन्तुष्टी? ‘सबैथोक छ यहाँ तर आफूले छोडेर आएको मातृभूमि, आमाबुवा र आफन्तपन नपाउँदा खल्लो लाग्छ‘, उनी भन्छन्। त्यसैले होला उनी बेला बेलामा नेपाल् आउँछन्।

आमाबुवा भेट्छन्, साथीभाइसँग भलाकुसारी गर्छन्, अघाउन्जेल नेपालीपनको स्वाद लिन्छन अनि कर्मभूमि कोस्टारिका फर्कन्छन्। रसियन, स्पानिस र अंग्रेजी भाषाका ज्ञाता उनलाई  थाहा छ– नेपाल, अमेरिका जहाँ बसेपनि उनको जीवन गुजारा राम्ररी हुन्छ। तर के गर्नु ! कोस्टारिकामा उनको परिवार छ। छोराछोरी छन्, डाक्टर श्रीमती छिन्। उनीहरु कोस्टारिका छोड्ने कुरा सुन्न पनि चाहँदैनन्।

बाध्यताले खगेन्द्रलाई बाँधेर राखेको छ। तर उनले नेपालको  फर्कने योजना बुन्न छाडेका छैनन्।  भावी योजना सुनाउदै उनले भने ‘अब भ्याएसम्म हरेक वर्ष डाक्टरहरूको टोली र औषधी लिएर नेपाल जानेछु। नेपालीहरूको औषधी उपचार गर्नेछु। मातृभूमिको गुन यतिले तिर्न त कहाँ सकिन्छ र ! तर यतिले पनि आफ्नो मनलाई शान्ति दिन्छ भन्ने लाग्छ ।यसो भन्दा उनको अनुहारमा चमक देखियो।

कोस्टारिका जति सुन्दर छ, यहाँ केटीहरू झनै सुन्दर भेटिन्छन्। त्यसैले पहिलो श्रीमतीसँग डिभोर्स भएपछि उनले दोश्रो बिहे पनि कोस्टारिकन सुन्दरीसँगै गरे। नेपाली केटी विवाह गर्नु पर्छ भन्ने आफ्नो परिवार र साथीभाईको सल्लाह मानेनन्। पचास नाघेपछि खगेन्द्रलाई लाग्न थालेको छ –साथीभाइ र आमाबुवाको सल्लाह मानेको भए राम्रै हुन्थ्यो कि!

पेशा र कामबाट सन्तुष्ट देखिने उनी पारिवारिक झमेलाको एउटा आमिलो संकेत लुकाउन भने सक्दैनन्। फरक सोच, धर्म र परम्पराले सधैभरी खुसी बनाउन नसकिदो रहेछ। त्यसैले उनी श्रीमतीसँग झगडा पर्दा  ३० माइल टाढा सान रामोनमा बस्ने कान्छो भाइ भुवनलाई भेट्न जान्छन्। भाइसँग  मनको दुखेसो पोख्छन्। मन हलुको भएपछि फर्कन्छन्। परिवारसँग झगडा गर्नुभन्दा चुपचाप एकदुई दिन टाढा बस्योभने झगडा आफै साम्य हुन्छ भन्ने उनको सोच रहेछ। कान्छो भाइ भुवनपनि उनका  साथीजस्तै छन् दुःख सुखमा साथ दिने।

मैले विदा हुने बेलामा भनें–यो आत्मियता र भाइप्रेम सधैं रहिरहोस्।  संसारको जुनसुकै ठाउमा बसेपनि मातृभूमि र आफ्नो परिवार असाध्यै प्यारो हुने रहेछ।

हामिलाई ह्युस्टनको फ्लाइट समात्नु थियो। जहाजभरि मैले खगेन्द्र डाक्टर सम्झिरहें। उनले प्राप्त गरेकने उचाइ अनि त्यहाँभित्र उनको पारिवारिक असजिला मेरो स्मृतिमा नाच्न थाले। कतिबेला निदाएछु, जहाज बुस एअरपोर्टमा अवतरण भएपछिमात्र मेरो निद्रा खुल्यो ।          
(ह्युस्टन, टेक्सास)

,

0 comments

Write Down Your Responses