ज्योतिषशास्त्रले भुईंचालोको भविष्यवाणी गर्न सक्दैन, आतंक फैलाउनेमाथि कार्वाही हुनुपर्छ

डा. बासुदेव कृष्णशास्त्री-  अहिले भुईंचालोको बारेमा ज्योतिषीको नाम लिएर जुन आतंक फैलाउने काम भैरहेको छ, यो निन्दनीय छ । अहिलेसम्म ज्योतिषशास्त्रले भुईंचालो जस्ता पृथ्वीभित्र हुने हलचल र प्लेटको अवस्थितिबारेमा अध्ययन नै गरेको छैन । न वैज्ञानिकहरुले गरेका छन्, न ज्योतिषीहरुले नै । जजसले भुर्इंचालोको बारेमा भविष्यवाणी गरिरहेका छन्, उनीहरु ज्योतिषी नै होइनन् । उनीहरुले समाजमा आतंक फैलाउने काम मात्र गरेका छन् ।


ज्योतिषशास्त्र पढेर प्रमाणपत्र लिएकाहरुले यसरी भविष्यवाणी गरेका हुँदैनन् । किनकी ज्योतिषशास्त्र पढ्नेहरुलाई राम्रोसँग थाहा छ, भुईंचालोको भविष्यवाणी गर्न सकिंदैन । भविष्यवाणी गर्नेहरु सबै फर्जी हुन् । उनीहरु ज्योतिषी होइनन् । उनीहरुको प्रमाणपत्र छानबिन हुनुपर्छ । यो बेला भुईंचालो जान्छ भनेर पूर्वानुमान गर्न नसकिने विषयमा ज्योतिषीको नाम लिएर आतंक फैलाउनेमाथि कार्वाही हुनुपर्छ ।
ज्योतिष शास्त्रले के गर्छ ?
ज्योतिषशास्त्र भने प्रकाशको विज्ञान हो । खगोलमा हुने सबै घटना ज्योतिषशास्त्रमा अध्ययन हुन्छ र यसको अनुमान गरिन्छ । जस्तै सूर्य र चन्द्र ग्रहण कहिले लाग्छ, तिथिको उदय र अस्त जस्ता विषय ज्योतिषशास्त्रमा अध्ययन हुन्छ । सूर्योदय र चन्द्रोदय, ग्रहहरुको अवस्था लगायत सबै खगोलीय घटना ज्योतिषशास्त्रले अध्ययन र अनुमान गरेको हुन्छ । ज्योतिषहरुले हरहिसाब गरेर खगोलको विषयमा भन्न सक्छन् । पूर्वानुमान गर्न सक्छन् ।
अक्षांश र देशान्तरको अवस्था, ग्रहण कुनबेला लाग्छ र कहाँ कहाँबाट देखिन्छ भन्ने सबै कुरा ज्योतिषशास्त्रले गर्छ । यो दिन योबेला सूर्य उदाउँछ र अस्ताउँछ लगायतका हरहिसाब पनि ज्योतिषशास्त्रमा हुन्छ । समग्रमा भन्दा खगोलमा हुने सबै घटना र अवस्थिति ज्योतिषीहरुले भन्न सक्छन् ।
ज्योतिषीले के गर्न सक्दैनन् ?
पृथ्वीको सतहबाट २५ देखि एकसय हात गहिराईसम्म वास्तुशास्त्रमा अध्ययन हुन्छ । वास्तुशास्त्र पनि एउटा विज्ञान हो । पृथ्वीको सतह कस्तो छ भन्ने कुरा यसमा अध्ययन हुन्छ । जस्तो घर बनाउने बेला माटो जाँच्दा त्यो माटो कस्तो रंगको छ, स्वाद र प्रकार कस्तो छ भन्ने कुरा थाहा हुन्छ । यसरी माटो जाँदा त्यहाँ घर बनाउन उपयुक्त हुन्छ कि हुँदैन भनेर भन्न सकिन्छ ।
तर भूगर्भभित्र कुन प्लेट कुनबेला कहाँ र कता हलचल हुन्छ भन्ने कुरा अहिलेसमम अध्ययन नैभएको छैन । अर्थात भूकम्पको विषयमा जसरी वैज्ञानिकहरुले पूर्वानुमान गर्न सक्दैनन्, त्यसैगरी ज्योतिषीहरुले पनि सक्दैनन् ।
उदाहरणको लागि सुन्तलाको दाना बाहिरबाट हेरेर यो रसिलो छ कि छैन भनेर भन्न सकिन्छ । भित्र यति केस्रा छ भनेर पनि मोटामोटी अनुमान गर्न सकिन्छ । तर सुन्तलाको केस्रोभित्रका दाना यति चाहिँ उम्रनयोग्य छ, यति चाहिं फोस्रो छ भनेर भन्न सकिंदैन । त्यस्तै हो, भूगोल अर्थात पृथ्वीको बाहिरी सतहबारे अध्ययन गर्न सकिन्छ । भित्र माटो र चट्टानको अवस्था र गुणबारे पनि भन्न सकिन्छ । तर पृथ्वीको धेरै गहिराईभित्र हुने प्लेट र त्यसको हलचलबारे भन्न सकिंदैन । अर्थात ज्योतिषशास्त्रमा भूकम्पको पूर्वानुमान गर्न सकिंदैन ।
(ज्योतिषशास्त्रमा विद्यावारिधी गरेका डा. वासुदेव कृष्णशास्त्रीसँग मिलन तिमिल्सिनाले गरेको कुराकानीमा आधारित ।)

,

0 comments

Write Down Your Responses