भूकम्प आउँदा भाई र बहिनी जोगाउने यी बालिका

२७  बैशाख, २०७२
रोहित राई
सिन्धुपाल्चोक–चार जना बच्चाहरुलाई घरमा छोडेर कालिका गाविस ९, सिन्धुपाल्चोककी सम्झना पहरी घाँस काट्न गएकी थिइन्। बैशाख १२ गतेको महाभूकम्प आएको उनले चालै पाइनन्। आफूसँगै घाँस काटिरहेकी माइली देउरानी अञ्जु पहरीले 'भुईचालो आयो' भनेर चिच्याए मात्रै उनले पत्तो पाइन्। हत्तपत्त रुख समातेर बसिन्।


महाभूकम्पा अाउँदा जोगिएका आफ्ना नानीहरु सुजिता(७ वर्षीय), सुजन(६ वर्ष) र सुनिता(एक वर्ष)का साथमा आमा सम्झना पहरी ।

आफू त जोगिइन्, तर घरमा रहेका छोराछोरीलाई के भयो भनेर उनको मन आत्तियो। श्रीमान् पनि गाँउको मिलमा काम गर्थे, घरमा थिएनन्। भुईचालो रोकी नसक्दै हस्याङ्फस्याङ घरतिर दौडिइन्। घर भत्किइसकेको थियो। एकछिन त सम्झनाको होसहवास उड्यो। घरभित्र भएको अन्न, कुखुरा सबै पुरिएछ। घरमा दुई छोरा र दुई छोरी छोडेर गएकी थिइन्। धन्न, भत्किएको घरबाहिर तीन जना बच्चाहरु देखिए। उनको मन केही शान्त भयो। तर, एक जना छोरा भने अझै देखिएन। अत्तालिएर उनले घरको भग्नवशेषमा खोज्ने प्रयत्न गरिन, सम्भवनै भएन।


'घरमा बच्चाहरु थिए, घरले पुरिसक्यो होला भनेर रुदै दौडिएर आए। घर त भत्किसकेको थियो', सम्झनाले महाभुकम्पलाई स्मरण गर्दै भनिन्,'अन्न, कुखुरा सबै पुरिएको थियो, तीन जना बच्चा देखे, मन केही शान्त भयो। एउटा छोरा मात्रै थिएन।' घाँस काट्न जानुअघि उनले ७ वर्षीय ठूली छोरी सुजिता, ६ वर्षका सुजन, ४ वर्षका सुदिप र एक वर्षकी सुनिता पहरीलाई छोडेर गएकी थिइन्। ती मध्ये ४ वर्षीय सुदिप मात्रै थिएनन्। ठूली छोरी सुजिताले चलाखी नगरेको भए चारैजना घरले पुरिने थिए। धन्न, सुजिताले ६ वर्षका सुजन र एक वर्षका सुनितालाई साथमा लिएर हतपत घरबाट बाहिरिएछन्। 'सुदिपलाई पनि तान्न खोजिछ, तर मानेनछ। उसलाई घर भत्किएर पुरेछ'–आमा सम्झनाले ठूली छोरीलाई देखाउदै भनिन्, 'यसले त्यति नगरिदिएको भए सबै स्वाहा हुनेथियो।'


कालिका गाविसमा ९ जनाको मृत्यु भएको थियो। ती मध्ये वडा ९ मा एक जना बालकको मात्रै मृत्यु भएको थियो। ती अभागी तिनै सम्झना पहरीका ४ वर्षीय छोरा सुदिप थिए। भुइचालोले जमिन हल्लिन थालेपछि दिदीले तान्न खोज्दा मानिदिएको भए उनी पनि जोगिने थिए। दिदी सुजिताका अनुसार भुईचालो आउनुअघि उनीहरु चारै जना घरमा गुन्द्री ओछ्याएर खेल्दै थिए। जमिन हल्लिन थाल्यो, घरको माटो खस्न थाल्यो। अत्तालिएर सुजिताले एक वर्षीया बहिनी बोकिन। अर्को ६ वर्षीय सुजनलाई हातले समातेर तानिन्। चार वर्षीय सुदिपलाई पनि आइज भन्दै बोलाइन्, तर उसले दिदीले के भनेको भेउ नै पाएनन्। घर गर्लम्म लडिहाल्यो। 'सानो बहिनी र भाईलाई बाहिर ल्याए, सुदिपलाई पनि यता आइज भने, मानेन। घर लडिहाल्यो', उनले भनिन्।

पहरी जाति त्यसै पनि अति पिछडिएको र गरिब छन्। त्यसमाथि सम्झनाको परिवारको सम्पत्तिको नाममा केही छैन। उनीहरु अर्काको बारी कमाएर बसेका थिए। साहुले बस्न दिएको घर पनि भुकम्पले भत्काइदियो। बोरा, जस्ता र पाल ओढेर बसेका छन्। 'हाम्रो त केही छैन, अब कसरी बाच्ने? कतैबाट सहयोग पाए हुन्थ्यो', सम्झनाले भनिन्।
नागरिक न्युज बाट 

0 comments

Write Down Your Responses