काठमाडौं,
राजेश हमाल
अभिनेता राजेश हमालको पहलमा भूकम्पपीडितका लागि नेदरल्यान्ड्समा एक अर्ब रुपैयाँ संकलन भयो भन्ने हल्ला चल्यो । तर, यस्तो खबर असत्य भएको भन्दै नेदरल्यान्ड्स निवासी नेपालीहरूले समाचारको खण्डन गरे ।
नेपालमा भूकम्प जाँदा हमाल नेदरल्यान्ड्समा थिए । त्यहीवेला गिरो ५५५ नामक संस्थामार्फतले ९० लाखभन्दा बढी युरो संकलन गरेपछि नेपालका मिडियामा हमालको सक्रियतामा रकम उठेको भन्दै समाचार सम्प्रेषित भएको थियो । तर, नेदरल्यान्ड्समा रहेका नेपालीले भने गिरो ५५५ नामक संस्थाका सदस्यले अहोरात्र खटेर देशभरबाट चन्दास्वरूप संकलन गरेको र हमाल एउटा कार्यक्रममा सहभागी मात्र भएको भन्दै समाचारको खण्डन गरे । हमालले पनि पैसा गिरो ५५५ ले नै उठाएको स्पष्ट पारिसकेका छन् ।
सलमान खान
बलिउड अभिनेता सलमान खानका नेपाली फ्यानहरू त्यतिवेला फुरुंग बने, जतिवेला सलमानको परोपकारी संस्था ‘बिइङ ह्युमन’ले नेपालका भूकम्पपीडितका लागि १० करोड भारु सहयोग गर्ने समाचार भारतीय सञ्चारमाध्यमहरूले प्रकाशन–प्रसारण गरे ।
यस्तो हल्ला चलेको केही दिनपछि सलमानले भारतीय सञ्चारमाध्यममार्फत फैलिएको यस्तो हल्ला निराधार रहेको बताएका थिए । ‘बिइङ ह्युमेन’को कार्यक्षेत्रभित्र नेपाल नपर्ने भएकाले नेपालमा तत्काल आफ्नो सहयोग जाने सम्भावना नरहेको प्रस्ट पार्दै उनले फेसबुकमा लेखेका थिए, ‘बिइङ ह्युमनको कार्यक्षेत्र भारत मात्रै भएकाले नेपालमा सहयोग गर्ने भनेर फैलिएको खबर झुटो हो ।’
अक्षय कुमार
नेपालमा भूकम्प जानसाथ भारतीय सञ्चारमाध्यमले अक्षय कुमारले समेत नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको अर्को हल्ला चलाए । अक्षयले रिलिज हुन लागेको आफ्नो नयाँ फिल्म ‘गब्बर इज ब्याक’को पहिलो दिनको सबै कलेक्सन नेपालका भूकम्पपीडितलाई दिने घोषणा गरेको समाचार भारतीय सञ्चारमाध्यममार्फत सुनेपछि उनका नेपाली फ्यान खुसी भए । भारतबाट प्रकाशित भएका यस्ता समाचारलाई उद्धृत गर्दै नेपाली अनलाइनहरूले समेत समाचार दिन थालेपछि अक्षयले फेसबुकमार्फत त्यस्तो सहयोग गर्ने घोषणा आफूले नगरेको उल्लेख गरेका थिए ।
‘फिल्म गब्बर इज ब्याकको पहिलो दिनको कलेक्सन नेपालका भूकम्पपीडितलाई दिने घोषणा मैले गरेँ भन्ने हल्ला मैले पनि सुनेँ । यो सत्य होइन,’ फेसबुकमार्फत अक्षयले भने, ‘सर्वप्रथम म के प्रस्ट पार्न चाहन्छु भने म फिल्म निर्माता होइन । त्यही भएर फिल्मको कमाइ कसैलाई दिने घोषणा गर्ने व्यक्ति म होइन । योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने नेपालका भूकम्पपीडितका लागि सहयोग गर्न मैले फिल्म रिलिज हुने मितिसम्म पर्खिनै पर्दैन ।’ साथै, उनले आफ्ना फ्यानलाई नेपालका भूकम्पपीडितका लागि सहयोग गर्नसमेत आह्वान गरेका थिए । यद्यपि, उनी स्वयंले कति सहयोग गरे भन्ने समाचार कतै आएन ।
क्रिस्टियानो रोनाल्डो
फुटबलर क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्पपीडितका लागि ‘सेभ द चिल्ड्रेन’मार्फत करिब ८० करोड रुपैयाँ सहयोग गर्ने चर्चा खुब चल्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यससम्बन्धी समाचार प्रकाशित भएपछि ‘सेभ द चिल्ड्रेन’ले वक्तव्य जारी गरेर रोनाल्डोले आफूहरूमार्फत नेपालका भूकम्पपीडितका लागि सहयोग गरे भन्ने हल्ला निराधार रहेको प्रस्ट पार्यो ।
फ्रेन्च म्यागजिन ‘सो फुट’ले रियल म्याड्रिडका यी फुटबलरले ५० लाख पाउन्ड नेपालका भूकम्पपीडितका लागि सहयोग गर्ने घोषणा गरेको समाचार सर्वप्रथम लेखेको थियो । फेरि रोनाल्डोले फेसबुक पेजमार्फत आफ्ना प्रशंसकलाई नेपालका भूकम्पपीडितका निम्ति चन्दा दिन आह्वानसमेत गरेकाले यसले समाचारको विश्वसनीयता अझ बढाएको थियो । तर, अन्त्यमा ‘सेभ द चिल्ड्रेन’ले रोनाल्डोले कुनै रकम पनि नदिएको प्रस्ट पार्यो ।
‘सेभ द चिल्ड्रेनका विश्व राजदूतसमेत रहेका क्रिस्टियानो रोनाल्डोले आफ्नो छवि र प्रभावलाई नेपालमा गएको भूकम्पबाट पीडित बनेका बालबालिकाले बेहोरिरहेको समस्याबारे अवगत गराउन प्रयोग गर्नुभयो । यद्यपि, उहाँले ‘सेभ द चिल्ड्रेनमार्फत रकम सहयोग गर्नुभएको कुरा गलत हो,’ सेभ द चिल्ड्रेनले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । नयाँ पत्रिकामा खबर छ ।
भुकम्पपीडितलाइ सहयोग ठुलो राशि सहयाेग गरेको भन्दै यिनका नाममा पनि चले हल्ला
0 comments
Write Down Your Responses