फर्स्ट डिभिजनले फेरि रुवायो
२०७२ आशाद ५ शनिबार
भक्तपुर : प्रवेशिका परीक्षा (एसएलसी) मा उत्तीर्ण हुँदा खुसीयाली मनाउने सायदै नहोलान्। त्यसमाथि प्रथम श्रेणीमा उत्तीर्ण हुँदा विद्यार्थीमात्रै होइन अभिभावकमा समेत खुसीको सीमा हुँदैन।
परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार २०७१ सालको प्रवेशिका परीक्षा सार्वजनिक गरेपछि उत्तीर्ण सबै विद्यार्थी र अभिभावक खुसी नै देखिन्थे।
उनीहरू एकापसमा बधाईसमेत साटासाट गरिरहेका देखिन्थे। तर भक्त पुर नगरपालिका-१ च्याम्हासिंहस्थित कृष्णप्रसाद ग्वाछाको घरमा छोरी एलिसा प्रथम श्रेणीमा उत्तीर्ण भए पनि खुसी छाउन सकेन।
वागीश्वरी उच्चमाविबाट परीक्षा दिएकी एलिसाले ६५.८० प्रतिशत अंक प्राप्त गरेकी छन्। तर उनी एसएलसी उत्तीर्ण हुँदा उनका आमाबुबालाई पीडा महसुस भयो।
०२८०८०३ 'सी' सिम्बोल नम्बर रहेकी एलिसाले अंग्रेजीमा ५८, नेपालीमा ६४, विज्ञानमा ६७, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ५१, लेखामा ६६ र वातावरण विज्ञानमा ८९ अंक ल्याएकी छिन्।
तर नियतिले एलिसालाई यस्तो अभागी बनाइदियो कि उनले आफ्नो परीक्षाको परिणाम थाहा पाउन पाइनन्। वैशाख १२ गतेको भूकम्पले एलिसालाई निलिसकेको थियो।
भूकम्पले भत्काएको घरमा पुरिएकी एलिसालाई २२ घन्टापछि सुरक्षाकर्मीले जीवितै उद्धार गरे पनि उनी बाँच्न सकिनन्। उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा राखिएकी उनलाई कुनै औषधिले बचाउन सकेन।
भूकम्पकै कारण एलिसाको समाजमा राम्रो काम गर्ने सपना पनि अधुरै रह्यो। 'एलिसा एसएलसी उत्तीर्ण भएपछि उच्चशिक्षा पढेर समाजका लागि राम्रो काम गर्ने सोच लिएको बताउँथिन्', विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले भने।
उनी बुबालाई औधी माया गर्थिन्। एलिसालाई गुमाएका बुबा कृष्णप्रसादलाई एसएलसी परीक्षाले थप पीडा दिएको सहप्राचार्य प्रजापतिले बताए।
.jpg)

0 comments
Write Down Your Responses