पोखरा पुगेर फेवातालमा हाम्फाल्दा पनि बाँचे प्रेमजोडी

काठमाडौँबाट एउटा जोडी बुधबार रात परेपछि पोखरामा उत्रियो । केटा २१ वर्षीय, केटी १७ की । उनीहरु सिधै गए, डेभिजफल्स । त्यहाँको गेट बन्द थियो । त्यसपछि, फर्के लेकसाइड । पैदल नै हिँडेर लेकसाइड गौरीघाटसम्म आए । दुवैले एकअर्काको हात समातेर फेवातालमा हाम्फाले । नजिकै एक स्थानीयले हाम्फालेको दृश्य देखे । उनले खबर गरे, बैदाम प्रहरीमा ।
बैदाम प्रहरीको ‘स्विमर’ टोली तत्काल घटनास्थल पुग्यो । केटा आत्तिँदै आफूले जाने अनुसार तालमा उत्रँदै थिए । केटी डुबिसकेकी थिइन् । धन्य ! बैदाम प्रहरीको टोलीले उनीहरुलाई बचाउन सफल भयो । प्रहरीले दुवैलाई वडा प्रहरी कार्यालय बैदाम ल्यायो । केटीले अलि बढी पानी निलेकी थिइन् । उनले निलेको पानी झिकियो । रातभर उद्धार र सोही घटना मिलाउन खटिएका बैदाम इन्स्पेक्टर वीरेन्द्र गोदार भन्छन्, ‘उद्धारमा केही मिनेट ढिलो भएको भए, दुवैको ज्यान जान्थ्यो ।’
किन रोजे आत्महत्याको बाटो ?

प्रहरीले केटाकेटीका बारेमा नबताए पनि, उनीहरुबारे केही तथ्य पत्ता लागेको छ । काठमाडौँ बानेश्वरमा धनाढ्य परिवारकी छोरी घिमिरे थरकी युवती र सोही टोलमा बस्ने सिन्धुपाल्चोकका सन्दिप घोरासिनीसँग प्रेम सम्बन्ध रह्यो । दुवै एक अर्कालाई अत्यन्त मन पराउँथे । उनीहरु प्लस टु का विद्यार्थी हुन् । फरक कलेजका । एउटै टोलमा बसाईं उनीहरुको प्रेममा मलजलको कारण बन्यो । नेपाल राष्ट्र बैंकको उच्च ओहदामा रहेका युवतीका पिताले त झन् मान्ने कुरै भएन ।
आफुहरुको प्रेम सम्बन्ध सफल नहुने भएपछि, उनीहरु दुवैले पोखरा गएर आत्महत्या गर्ने निर्णय रोजे । पहिला पोखरा आइसकेका सन्दिपले पोखराको पातले छाँगो डेभिजफल्स त्यसका लागि उपयुक्त रहेको निष्कर्ष निकाले । त्यसपछि, दुवै आए पोखरा । तर रातको समयमा डेभिजफल्स बन्द भएका कारण, उनिहरु फेवाताल तर्फ आए ।
डेभिजफल्स बन्द भएका कारण उनिहरुले फेवाताल रोजे । फेवातालमा हामफालेको अवस्थामा स्थानीयले देखेकै कारण उनीहरुको ज्यान बच्यो । डेभिजफल्समा हाम्फालेको भए उनीहरुको जीवन त गुम्थ्यो नै, धेरै दिनसम्म बेपत्ताकै सूचीमा हुन्थे होला ।
अब के होला ?
तालमा हाम्फालेका दुवैलाई प्रहरीले राती बैदाम चौकीमा ल्यायो । बैदाम प्रहरीको खबरपछि, केटीका पिता आफ्नै गाडी लिएर राती नै पोखराका लागि हिँडे र आए पनि । करिब पौने ६ बजे पोखरा आएका उनी सात बजे छोरीलाई लिएर काठमाडौं फर्के । केटा एक्लै भए । केटाका दाजु बिहीबार जहाजबाट, पोखरा आए । अनि दिउँसो अबेर केटालाई बुझेर लगे । उनीहरुको अबको प्रेम यात्रा के हुने ? भन्नेबारे दुवैले थप सल्लाह नै गर्न पाएनन् । इन्स्पेक्टर गोदार भन्छन्, ‘केटीका बुवाले पहिला दुवै पढ्नुपर्छ । अनि पछिको कुरा हेरौँला भनेर लगेका छन् । तर त्यो भविष्यले बताउने कुरा हो ।’ – पोखरा हटलाइनबाट ।
पोखरा, २७ असार ।

0 comments

Write Down Your Responses