काठमाडौं र मुम्बईको तुलनै हुँदैन-मनीषा कोइराला

असार २७,
अभिनेत्री मनीषा कोइराला भूकम्पपछि नेपालमा छिन् । क्यान्सरमुक्त भएपछि उनी अहिले शान्ति र आत्मिक सुखको मार्गमा लागेकी छन् । साथै, केही फिल्मका अफरमा पनि विचार गरिरहेकी छन् ।
तपाईं भूकम्पपछि ग्रामीण भेगमा पुग्नुभयो । त्यहाँको अवस्था कस्तो पाउनुभयो ?
मानिसहरूको गरिबी देख्दा निकै पीडा भयो । गरिबीमाथि भूकम्पले झन् चोट दिएको छ । मलाई के लाग्यो भने, हामी प्राकृतिक स्रोतको सदुपयोग गरेर ग्रामीण भेगको जीवनस्तर उकास्न असफल भएका रहेछौं । तर राम्रो कुरा, उहाँहरू दु:खमा पनि हाँस्नुहुँदो रहेछ । कोही मान्छे धेरै पीडामा परेपछि भित्रबाटै धेरै कठोर हुन्छ तर त्यो छैन उहाँहरूमा । यस्तो आत्मबलको जति प्रशंसा गरे पनि अपुग हुन्छ ।
सरकारले के गर्नुपर्छ जस्तो लाग्छ ?
दाता सम्मेलनमा म पनि सहभागी भएँ । त्यति धेरै विदेशी सहयोग आएको छ । अब सरकारले अत्यन्त इमानदार भएर काम गर्नुपर्छ । ‘एक्सन’ को बेला हो यो । विवादकै कारण पुनर्निर्माण भएन वा ढिलो भयो भने पीडित झन् मर्माहत हुन्छन् । पुनस्र्थापना र पुनर्निर्माणलाई राजनीतिकरण गर्नु हुन्न, गरियो भने त्यो अपराध हुन्छ ।
अहिले तपाईं बलिउडलाई कतिको मिस गर्नुहुन्छ ?
अहिले एकान्तमै रमाइरहेको छु । पहिलेभन्दा मन निकै शान्त र स्थिर छ ।
क्यान्सरपछि बलिउडका फिल्ममेकरले कस्तो रेस्पोन्स गरे ?
महेश भट्ट, मुकेश भट्टले पनि फिल्मको प्रस्ताव गर्नुभयो । मलाई काम गराउन खोज्ने फिल्ममेकर धेरै हुनुहुन्छ । तर मैले आफू पूर्ण सन्तुष्ट भएको कथा र पात्रमा मात्र खेल्ने निर्णय गरेकी छु । पहिलेजस्तो पाएजति सबै होइन । किनभने अहिले मेरो समय निकै मूल्यवान छ । फिल्म खेल्दाभन्दा समस्यामा परेकालाई सहयोग गर्दा आत्मिक सुख मिल्छ । त्यही सुख खोज्ने प्रयासमा छु ।
अब फिल्मलाई प्राथमिकता दिनुहुन्छ कि सामाजिक सेवालाई ?
अहिले मलाई लाग्दैछ कि फिल्मका लागि समय घर्किएको छैन । पहिले धेरै गरियो, पछि पनि गर्न सकिन्छ । फिल्म भनेको आउँछ, जान्छ । तर क्यान्सर तथा अन्य घातक रोग लागेका बिरामीको मनोबल बढाउनु अत्यावश्यक छ । त्यसैले अब जिउने कला र स्वास्थ्यसम्बन्धी जनजेतना जगाउने कार्यक्रममा बढी सक्रिय हुनेछु । तर फिल्मलाई पूरै बेवास्ता गर्ने भन्नेचाहिं होइन ।
अहिले कुन फिल्ममा आबद्ध हुनुहुन्छ ?
भूकम्प आउँदा मुम्बईमा ‘गेम’ भन्ने तामिल–कन्नड फिल्मको सुटिङमा व्यस्त थिएँ । त्यसको पाँच दिनको सुटिङ बाँकी छ, जुलाईमा हुन्छ । अरू दुईवटा स्क्रिप्ट पढिरहेको छु अक्टोबर–नोभेम्बरका लागि ।
भनेपछि तपाईंलाई फेरि बलिउडको मूलधारका फिल्ममा देख्न पाइने सम्भावना कम छ ?
हेरौं । के हुन्छ ? राम्रो अफर आयो भने गर्न सक्छु । मुम्बईमा भएपछि त हुनैपर्ने हो । म करिब–करिब विश्वस्त छु तर कथा र पात्रले मेरो मन जित्नुपर्छ ।
तपाईंको समयभन्दा अहिलेका फिल्ममा नारी पात्र कत्तिको सशक्त हुँदै गएको पाउनुहुन्छ ?
मैले आफ्नो समयमा नारी पात्र सशक्त भएको धेरै फिल्म खेलें । अहिले महिलाले अझ ठूलो ‘स्पेस’ पाउन थालेका छन् । विद्या बालन र कंगना रनावतका फिल्ममा महिला चरित्र ‘सो–अप’ मात्र हुँदैन, सशक्त हुन्छ । फिल्मको मूलकथा नै उनीहरूले बोकेका हुन्छन् । दीपिका पादुकोण यो समयकी अर्की शक्तिशाली अभिनेत्री हुन् ।
उनीहरूसँग कत्तिको भेट हुन्छ ?
पार्टीमा कहिलेकाहीं हुन्छ । मेरो कामको ‘एप्रिसियट’ गर्छन् । त्यसो त उनीहरू मात्र होइन्, बलिउडमै राम्रो काम र कलाकारलाई सदैव सम्मान गर्ने संस्कार छ ।
व्यावसायिक जीवनको सबैभन्दा खुसीको पल ?
‘सौदागर’ हेरेपछि दीलिपकुमारजी र ‘बम्बे’ हेरेपछि सुनील दत्तले फोनै गरेर मेरो अभिनयको तारिफ गर्नुभयो । उहाँहरू दुवै मैले अति सम्मान गर्ने व्यक्तित्व हुनुहुन्छ । फिल्मले व्यावसायिक सफलता पाउँदा पनि खुसी त भइन्छ तर आफूलाई मन परेको मान्छेबाट प्रशंसा सुन्दा अझ सन्तुष्टि मिल्दो रहेछ ।
दु:खद पल नि ?
त्योचाहिँ अहिले नभनौं होला ।
तपाईंले निर्वाह गरेका विभिन्न पात्रमध्ये तपाईंको वास्तविक जीवनसँग कुन नजिक छ ?
कुनै पनि छैन । पात्रभन्दा भिन्न छु म ।
भनेपछि तपाईंको जीवन फिल्म वा पात्रभन्दा ‘ड्रामाटिक’ छ ?
त्यस्तै लाग्छ ।
तपाईंले मीनाकुमारीको बायोपिक फिल्म खेल्ने खबर सार्वजनिक भएको थियो । कहाँ पुग्यो ?
पहिले कुरा भएको हो । अहिले सेलाएको छ । त्यसैले यसै हो भन्न सक्दिनँ ।
फिल्म निर्माण गर्ने योजना छ ?
ठ्याक्कै कुन समय हुन्छ थाहा छैन, फिल्म त बनाउँछु । निर्माण त छँदैछ । आशा गरौं, निर्देशन पनि । त्यो हिन्दी फिल्म हुनेछ ।
फिल्म बनाउन बलिउडमा सबैभन्दा धेरै कसले प्रोत्साहित गरेको छ ?
सञ्जयलीला भन्सालीले ।
मन पर्ने निर्देशक ?
मणिरत्नम । उहाँसँग ‘बम्बे’ र ‘दिल से’ मा काम गर्दा निकै सजिलो भयो र धेरै कुरा सिकियो पनि ।
मन पर्ने अभिनेता ?
फिल्म खेल्दा कुन हिरो छ भन्ने खास मतलब राख्दैनथें । मलाई निर्देशक र आफ्नो काम मात्र ध्यान हुन्थ्यो । त्यसैले यही हिरो मन पर्छ भन्ने छैन । सँगै अभिनय गरेका हिसाबले चाहिँ कमल हसन, सलमान खान, आमीर खान, शाहरूख खानसँग काम गर्न रमाइलो भयो ।
आत्मकथा नि ?
क्यान्सर फ्री भएपछि किताब लेख्ने योजना बनाएको थिएँ । तर अहिले लेख्दा अलि छिटो हुन्छ जस्तो लाग्यो । अलि पछि अझ परिपक्व भएपछि लेख्छु ।
एक्लोपनले तपाईंलाई दिक्क लगाउँछ कि लगाउँदैन ?
हेर्नुस्, अहिले म एक्लै भए पनि राम्रो स्पेसमा छु । शान्ति छ । सुख–दु:ख हुन्छ । चोट पनि पर्छ । कहिले रुन्छु, कहिले हाँस्छु । तर यसबाट म विचलित हुन्न । जीवनका हरेक पक्षलाई स्विकार्न सक्छु । एक्लोपनले कमजोर बनाउँदैन । फेरि मुम्बईमा दीप्ति, गुल्सन र म पनि एक्लै–एक्लै बस्छौं तर नजिक छौ । नजिकका अरू साथी पनि छन् । त्यसैले एक्लोपनको आभास पनि हुँदैन ।
मुम्बईको दिनचर्या कस्तो हुन्छ ?
मुम्बईमा बहुत सन्तुलित दिनचर्या छ । मध्यान्हअगाडि साइक्लिङ, जिम, मेडिटेसन गर्छु । दिनको समयमा मिटिङ र व्यावसायिक काम हुन्छ । साँझमा गुरुसँग योग र ध्यान गर्छु । घरमै एक–दुईजना साथी बोलाएर आर्ट सिनेमा हेर्छु । बगैंचामा शीतल हावा खाँदै आर्ट फिल्म हेर्दा धेरै आनन्द आउँछ । आठ बजेतिर त सुतिहाल्छु । कम्तीमा आठ घन्टा सुत्छु नै ।
मुम्बईमा खुसी लाग्छ कि काठमाडौंमा ?
यहाँ मेरो परिवार छ । समाज छ । यहाँको आनन्द नै अर्को छ । त्यसो भन्दैमा मुम्बईमा नरमाउने भन्नेचाहिं होइन । त्यहाँ पनि मेरो घर छ, साथी छन्, बीस वर्ष बसेको ठाउँ । उत्तिकै रमाइलो छ । त्यसैले मेरो लागि काठमाडौं र मुम्बईको तुलनै हुँदैन ।
तपाईंको जीवनबाट अरूले के सिकिदिए हुन्थ्यो भन्ने लाग्छ ?
खासमा मलाई सुझाव दिन मन लाग्दैन । दिन सजिलो हुन्छ, गर्न गाह्रो । त्यसैले म आफ्नो जीवन कथा भन्न सक्छु । मेरो कथा सुनेर केही सिक्नुहुन्छ भने धन्य छु । सिक्नुहुन्न भने पनि गुनासो छैन । सुझाव दिनभन्दा अरूलाई प्रोत्साहन गर्न मन लाग्छ । – कान्तिपुर दैनिकवाट

0 comments

Write Down Your Responses