मेजर पत्नीको रहस्यमय मृत्यु,

२५ असार, काठमाडौ ।


नुवाकोट घर भई काठमाडौको धापासीमा डेरा गरी बस्ने नेपाली सेनाका मेजर विष्णु कार्कीकी श्रीमती २२ वषर्ीया लतासा क्षेत्रीको रहस्यमय मृत्यु भएको छ ।
लतासाको रहस्यमय मृत्यु भएको भन्दै माइती पक्षले छानविनको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । लतासाको बुधबार दिउँसो ३ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । बुधवार छोरीले नै धरानमा रहेकी आमालाई फोन गरी आफूलाई श्रीमानले यातना दिएको खबर गरेपछि आमा शारदा काठमाडौ आएकी थिइन् ।
आफू काठमाडौं आई अस्पताल पुग्दा अस्पतालले लास समेत नदेखाएको र मृत्युको कारण थाहा पाउन नसकेको मृतककी आमा शारदाले अनलाइनखबरलाई बताइन् ।
गएको मंसिर २० गते विष्णु कार्कीसँग वैवाहिक सम्बन्ध कायम भएकी लताशाको विवाह भएको दुई हप्तापछि श्रीमानले यातना दिने गरेको माइती पक्षको भनाइ छ । सीतापाइलास्थित एभरेष्ट कलेजमा बीबीए तेस्रो वर्षमा अध्ययन गर्दै गरेकी छोरी लतासाले बुधबार नै आफूलाई भेट गरेको बुवा लभ क्षेत्रीले बताए ।
ग्राण्डी अस्पतालबाट लतासाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएको छ । तर लतासाको शव आफूहरुले हेर्न समेत नपाएको माइती पक्षको भनाइ छ । माइती पक्षले महाराजगञ्ज प्रहरीमा घटना शंकास्पद भएको भन्दै उजुरी दिएपछि शव शिक्षण अस्पतालमा ल्याइएको हो । मृतकका श्रीमान विष्णुलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । मृतक लतासा आमा शारदाकी तीन छोरीमध्येकी जेठी हुन् ।

0 comments

Write Down Your Responses