'शिरीषको फूल' को ५० वर्ष

बीसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई कसैले सोधेका थिए, 'सापेक्षतावाद भनेको के हो?' आइन्सटाइनले सरल दृष्टान्तमा सम्झाएका थिए रे, 'कोही प्रियजनसित लामो समय बस्दा पनि हामीलाई समय बितेको आभास हुँदैन तर कोही अप्रियजनसित थोरै समय बस्नुपर्दा पनि हामीलाई लामो समय बितेझैं आभास हुन्छ । सापेक्षवाद भनेको त्यही हो।'

डेढ दशकजति पहिले मलाई नेत्र एटमले सोधे, ‘तपाईं शून्यवादको कुरा गर्नुहुन्छ। केही हरफमा बुझ्ने गरी भन्नुहोस्-शून्यवाद भनेको के हो? 'मैले एउटा दृष्टान्त रचना गरेँ अनि भने, 'आकाश खुलेको बेला राति आकाशमा हेर्‍यौ भने लाखौं तारा चमचमाइरहेका देखिन्छन् तर हामीलाई आकाशको विशालता शून्यजस्तो लाग्छ।


प्रेमीहरूलाई कुनै कारण केही समय टाढिनु पर्‍यो भने उनीहरूलाई पनि मन शून्य भएजस्तो लाग्छ। शून्यवाद भनेको त्यही हो।' तर, नेपाली साहित्यमा शून्यवाद अबुझाइको बुझाइ भएको छ। म धेरै ठाउँमा पढ्छु 'पारिजातको 'शिरीषको फूल' शून्यवादी उपन्यास हो।

त्यस्तै सरुभक्तको 'पागल बस्ती' शून्यवादी उपन्यास हो। पारिजातसित नाम लिइनुमा आपत्ति के छ? शून्यवादी भनिनुमा आपत्ति के छ? आपत्ति केही छैन। तर मलाई ती स्वजनहरूको प्रतीक्षा छ जसले 'रीषको फूल'को शून्यवाद र 'पागल बस्ती'को शून्यवादीबीच भिन्न दार्शनिक आधारहरूको खोजी गर्न सकून्।

यहाँ सन्दर्भ पारिजातको छ, पारिजातको महानतम् कृति 'शिरीषको फूल'को छ। प्रकृतिमा शिरीषको फूल सदियौंदेखि फुलिरहेका छन् । नेपाली साहित्यमा 'शिरीषको फूल' फुलेको पचास वर्ष पुगेछ। अर्थात् यो वर्ष शिरीषको फूलको स्वर्ण जयन्ती वर्ष हो।

यी पचास वर्षका 'शिरीषको फूल'लाई कतिले पारिजातको उत्कृष्टतम् कृति सम्झिए, कतिले ‘कागजको फूल' सम्झिए, कतिले वैचारिक विवादहरू निम्त्याए । अब यी सबै इतिहास बनिसकेको छ । तर, यो इतिहासको आरम्भ हो, अन्त्य होइन।

स्वयं पारिजातले वैचारिक अतिवादको सिकार बनेर ‘शिरीषको फूल'लाई अवमूल्यन गरिन्। तर, उनी आफैं आफ्नो कृतिद्वारा पराजित भइन्।
मेरो पुस्ताले पारिजातलाई एक मिथ सम्झन्थ्यो, एक आकर्षक मिथ। उनको कुँजिएको जीवन पनि मिथकीय लाग्थ्यो।

त्यो समय त्यस्तै थियो— भूपि शेरचन एउटा मिथ, शंकर लामिछाने एउटा मिथ, हरिभक्त कटुवाल एउटा मिथ। मिथहरूको युगमा पारिजातको आगमन सायद आकस्मिक थियो । तर, उनको आगमन लामपुच्छ्रे ताराको आगमनजस्तो थिएन जुन एक निश्चित कालखण्डपछि टाढिँदै जान्छ।

मेरो अग्रज पुस्ता अथवा मिथकहरूको पुस्ता दोस्रो महायुद्धयुगीन दर्शनको प्रभावमा थियो। उनीहरू अस्तित्ववादको कुरा गर्थे, निस्सारतावादको कुरा गर्थे, विसंगतिवादको कुरा गर्थे, शून्यवादको कुरा गर्थे।

उनीहरू नित्सेको ‘दस् स्प्याक जरथुस्त्र'को कुरा गर्थे, सात्रको 'विइङ एन्ड नथिङनेस'को कुरा गर्थे, क्यामुको 'मिथ अफ सिसिफस'को कुरा गर्थे, फ्रान्ज काफ्काको ‘मेटामोर्फोसिस'को कुरा गर्थे। सोरेन किर्कगार्ड, कार्ल यास्पर्स, मार्टिन हाइडेगर, ग्याब्रियल मार्शल उनीहरूका चियागफ हुन्थे।

 विसंगतिवादको सन्दर्भमा उनीहरू सामुयल वेकेटको 'वेटिङ फर गोडोट', युजिन आयनेस्को, 'राइनासोरस'का कुरा गर्न बिर्सदैनथे। अहिलेझैं त्यस समयमा पनि केही भद्रजन नयाँ वाद र दर्शनहरू सबै साम्यवाद वा माक्र्सवादको विरोधमा आएका हुन् भनी आफ्नो अस्तित्वबोध गर्थे।
२०२२ सालमा मदन पुरस्कार प्राप्त उपन्‍यास 'शिरीषको फूल' नेपाली साहित्‍यमा  फुलेको पचास वर्ष पुगेको छ। यी पचास वर्षमा 'शिरीषको फूल'लाई कतिले पारिजातको उत्‍कृष्टतम् कृति भने, कतिले कागजको फूल। यस किताबले लामो वैचारिक विवाद वैचारिक विवादहरू निम्त्यायो। अब यो सबै इतिहास बनिसकेको छ। तर, यो इतिहासको आरम्भ हो, अन्त्य होइन।
सम्पूर्ण विचार र दर्शनका बीच किशोरी पारिजात आफ्नो सानो उपन्यास 'शिरीषको फूल' बोकेर उभिएकी थिइन्। भन्नेहरूले ‘शिरीषको फूललाई शंकर लामिछानेको भूमिकाले मदन पुरस्कार दिलाएको हो' पनि भने।

त्यस बेलाका स्टाइलिस्ट लेखक शंकर लामिछानेले के ज्ञातअज्ञात कारणले हो ‘शिरीषको फूल'मा जीवनकै सर्वाधिक उत्कृष्ट भूमिका लेखे। त्यसैले भूमिका पनि उत्तिकै चर्चित भयो। तर 'रीषको फूल' शिरीषको फूल नै थियो। त्यो भूमिकाबिना पनि फुल्न सक्थ्यो। (र, शंकर लामिछानेले ‘शिरीषको फूल’माथि शून्यवादको गलत व्याख्या गरेका छन्-कसले भन्ने !)

'शिरीषको फूल' बोकेर पारिजात उभिएपछि उनी तत्कालीन नेपाली साहित्यमा निस्सारताको प्रतीक बनिन्, विसंगत जीवनको प्रतीक बनिन्। तर 'शिरीषको फूल'को क्षमता त्यसले बोकेको दर्शनमा थिएन, कलामा थियो।

दर्शन दोस्रो विश्वयुद्ध युगीन थियो 'बासी। तर औपन्यासिक कला— ताजा र आकर्षक थियो।विक्रमाब्द तीसको प्रारम्भिक समयावधि। म सानो पोखराको सानो शैक्षिक साहित्यिक वातावरणमा हुर्केको मान्छे। विद्यालयमा उपन्यासका नाममा युधीर थापा, प्रकाश कोविद, सुवासहरू पढ्थेँ।

हिन्दीमा गुलसन नन्दा, रानु, वेदप्रकाश शर्मा पढ्थेँ। त्यस समय मेरो चयन क्षमताको सीमा पनि त्यही थियो, उपलब्ध औपन्यासिक साहित्यको सीमा पनि लगभग त्यही थियो । उमेरले भावुकताको पेगासस घोडामाथि सवारी कस्थ्यो।

परिणामस्वरूप युधीर थापाको ‘फेरि कहिले भेट होला?', प्रकाश कोविदको 'देवता' पढेर हाँस्दैहाँस्दै रुनु र रुँदैरुँदै हाँस्नुमा जीवनको सम्पूर्णता थियो। कृष्णको विराट् रूप प्रेममा थियो र प्रेमको सूक्ष्म रूप युधीर थापा र प्रकाश कोविद पवृत्तिका उपन्यासकारमा थियो। क्याम्पसको भुइँ टेक्दा केही अन्य उपन्यासकार भेटिए र भेटिइन् पारिजात।

पारिजात भेटिइनु उनको पुस्ताका निकटवर्ती लेखकहरूका लागि एक सुन्दर रूप-सौन्दर्यको आकर्षण पनि थियो तर अनुज पुस्ताको म सुदूरवर्तीका लागि आख्यानात्मक कला सौष्ठवको आकर्षण थियो। जब मैले शंकर लामिछानेको चर्चित भूमिका केही बुझेर, धेरै नबुझेर उपन्यासको पहिलो हरफ पढेँ, चमत्कृत भएँ।

'बारमा तेस्रोपटक भेट भएपछि उनले मलाई आफ्नो घर विशालनगरमा निम्त्यायो।' 'शिरीषको फूल'को पहिलो हरफमा जम्मा यति शब्द थिए। शब्दहरू सबै सुनेका र बुझेका थिए। तर त्यसको संरचना, त्यसले बोकेको इतिहास, त्यसले बोकेको अर्थ र संकेत-बेजोड थियो।

मैले कुनै उपन्यासको यति बेजोड प्रारम्भ पढेको थिइनँ।  अथवा, कुनै उपन्यासको प्रारम्भ यति बेजोड हुन्छ भन्ने मेरो कल्पनामै थिएन।
'शिरीषको फूल'को पहिलो हरफ पहिलो प्रेम भनेजस्तै गहिरो थियो। म त्यसमा डुबेँ।

यद्यपि ‘शिरीषको फूल'को निस्सारताबोधमा म जीवन निस्सारताबोध गर्दिनथेँ, यद्यपि ‘शिरीषको फूल'को शून्यबोधमा म जीवन, शून्यताबोध गर्दिनथेँ तर ‘शिरीषको फूल'मा भविष्य, समाज र जीवनबाट परिव्यक्त हुन अभिशप्तहरूको एक विशिष्ट जीवनबोध गर्थें।

'शिरीषको फूल'को कलामा जीवन थियो, जीवनमा कला । सम्भवतः त्यसैले निर्विवाद र सर्वकालीन रूपले ‘शिरीषको फूल' लोकप्रिय नेपाली उपन्यासहरूमध्ये एक भएको हो।

'शिरीषको फूल'लाई पारिजातले 'शिरीषको फूल' भनेर साँच्चै चिनिन् वा चिनिनन्, वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठझैं आशंकित हुन सकिन्छ तर पारिजात फूलप्रेमी थिइन्, त्यसैले उनी विष्णुकुमारी वाइबाबाट 'पारिजात' भइन्।

फूलहरू जुनसुकै प्रजातिको भए पनि सुन्दर हुन्छन्। सेक्सपियरले भनेझैं गुलाफको फूललाई जे नाम दिए पनि सुवास मीठो हुन्छ । सन्दर्भमा ‘शिरीषको फूल'को कुरा गर्दा पारिजातले चिने पनि, नचिने पनि ‘शिरीषको फूल' ‘शिरीषको फूल' नै भइदिएको छ।

'शिरीषको फूल'मा भविष्य, समाज र जीवनबाट परिव्यक्त हुन अभिशप्तहरूको एक विशिष्ट जीवनबोध गर्थें। यस उपन्यासको कलामा जीवन थियो, जीवनमा कला। सम्भवतः त्यसैले निर्विवाद र सर्वकालीन रूपले 'शिरीषको फूल' लोकप्रिय नेपाली उपन्यासहरूमध्ये एक भएको हो।

एउटा अविस्मरणीय विरोधाभास-‘शिरीषको फूल'मा औपन्यासिक चरित्रहरू सबै फुलेका फूलझैं छैनन्, मुर्झाएका फूलझैं छन्।कतिले भन्छन्, जीवनमा विरोधाभास हुन्छ। कतिले भन्छन्, विरोधाभासमा जीवन हुन्छन्। सायद ‘शिरीषको फूल'मा दुवै छन् सूक्ष्म, कलात्मक रूपले संयोजित।

'शिरीषको फूल' परिच्छेद नभनिएका जम्मा १५ परिच्छेदमा संरचित छ। परिच्छेदहरू पनि लगभग सबै छोटा। कम्प्युटरले अचेल लेखकहरूलाई अर्थभन्दा बढी अक्षर गन्न सिकाएको छ। अनुमान गर्दा 'शिरीषको फूल'मा अट्ठाइस हजार जति वा त्यसभन्दा केही घटीबढी अक्षर होलान्।

शंकर लामिछानेले भनेझैं टाइपराइटरको जमानामा फुलस्केप साइजमा टाइप गरेका अक्षरमा सवा चवालीस पेजको थियो यस उपन्यास। यो सवा चवालीस पेजले मलाई चौरासी लाख जुुनीको कष्ट दियो।

प्रत्येक वाक्य पढ्नुअघि र पढिसकेपछि म दुईपटक हुरुक्क हुन्थे'। अघिल्लो दिनको 'ह्याङओभरमा ब्रेकफास्टअघि नै ब्रेन्डी खाएझैँ प्रत्येक पेज पल्टाउँदा एक पीडा हुन्थ्यो-अज्ञात अवश्यम्भावी अन्त्यतिर म लम्कँदैछु भन्ने।

शंकर लामिछानेले ‘शिरीषको फूल’को यथार्थ शक्ति समान गरिदिएका छन् यसलाई ‘काव्यन्यास'को दर्जा दिँदै। साँच्चै नै 'शिरीषको फूल' काव्यन्यासजस्तै लाग्छ जसका प्रत्येक हरफमा काव्यात्मक संगीतका ध्वनि अनुगुञ्जित हुन्छन्। तर, यति भएर पनि यो काव्य होइन, उपन्यास हो।

सानो क्यानभासमा रचना गरिएको यस उपन्यासमा पारिजातले थोरै सामाजिक परिदृश्य वर्णन गरेकी छन् तर धेरै काव्यात्मक मनले। यो मन पारिजातमा आकस्मिक रूपले हरायो वा संघटनावश डाइनोसरहरूझैं विलुप्त भयो, तर उनका उत्तरवर्ती उपन्यासहरू मनदेखि मस्तिष्कसम्म रूपान्तरित हुँदै गए।

‘शिरीषको फूल'का प्रमुख चरित्रहरू चरित्रहीनजस्ता छन्। विश्वयुद्धकालीन डेथ भ्यालीको सम्झना गरेर वर्तमान बाँचेको सुयोगवीर चरित्रहीन लाग्छ। सकम्बरी चरित्रहीन लाग्छिन् तर शरदचन्द्र चट्टोपाध्यायको ‘चरित्रहीनु लाग्दिनँ।

भन्न सकिन्न, पश्चिमबाट समयभन्दा केही ढिलो गरी आयातीत आस्तित्विक आरिनम्बिक शून्यता अथवा निस्सारताको दर्शनअनुरूप सिर्जित यो उपन्यासमा पारिजातको कति व्यक्तिगत भोगाइ र विचार अनुगुम्फित छन्? पश्चिमका अस्तित्ववादी दार्शनिक र साहित्यकारहरू मानवीय अस्तित्वको केन्द्रियतामा चयन स्वतन्त्रताको वकालत गर्दागर्दै निस्सारताबोधमा हराएका थिए, नथिङनेसको अर्थसापेक्ष शून्यबोधमा हराएका थिए।

सात्र्रले ‘एक्जिस्टेन्सियालिज्म इन ह्यु' मानिज्म' भनी ढ्वाङ ठोके पनि, अस्तित्व सारभन्दा पूर्ववर्ती हुन्छ भनेर आस्तित्यिक सहमतिपत्रमा हस्ताक्षर गरे पनि अन्ततोगत्वा अस्तित्ववादको अवसान जीवनको अर्थहीनतामा भयो। पारिजात यही अवसान प्रेरित उपन्यासकार थिइन्।

यही अर्थहीनता प्रेरित उपन्यासकार थिइन् । सायद ‘शिरीषको फूल' क्याम'को दी आउटसाइडर'को काया र आत्माबाट प्रेरित थियो। तर, 'शिरीषको फूल'मा विशिष्ट नेपाली मौलिक सुगन्ध त्यति नै थियो जति आदिकवि भानुभक्त आचार्यको 'रामायण' महाकाव्यमा, जति महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' खण्डकाव्यमा।

'शिरीषको फूल' आफ्नै मौलिक सुगन्धले अमर छ । यदि अमरताको यात्रा नश्वरताको यात्रा होइन भने यो उपन्यासलाई भविष्यले पनि त्यति नै गर्व गर्नेछ जति मेरो अतीत र वर्तमानले गरिरहेको छ। समयले 'शिरीषको फूल'लाई 'शिरीषको फूल' प्रमाणित गरिसकेको छ, त्यसैले यसका स्रष्टा र सिर्जनाहरूमाथि विचारका भ्रमित पर्खाल उठाउनुको कुनै अर्थ छैन।


‘शिरीषको फूल’को भूमिकामा अन्त्यतिर शंकर लामिछानेले जानीजानी सोधेका छन्, 'के 'शिरीषको फूल' 'द सेटिङ सन'जस्तै हाम्रो शब्दकोशमा एक विशेषण बन्न जाने कुरा तिमीलाई थाहा छ?' उत्तर हामीले थाहा पाइसकेका छौं ।

,

0 comments

Write Down Your Responses