तीन पूर्वसभासदलाई जेल



रातो पासपोर्ट दुरुपयोग प्रकरण
बिचौलिया र पासपोर्ट प्रयोग गर्नेहरूलाई पनि जरिवाना र जेल सजाय
घनश्याम खड्का


काठमाडौ, श्रावण २७ - रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्वसभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय फैसला सुनाएको छ । न्यायाधीशत्रय पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको मंगलबार बसेको इजलासले पूर्वसभासदहरू गायत्री साह, बीपी यादव र शिव पुजनलाई जनही ४ महिना कैद र १५ हजार जरिवाना गरेको हो । अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिइन् भने यादव र पुजन फोरमका सभासद थिए ।

विशेषले अध्यागमनका तत्कालीन कर्मचारीहरू इन्कुमार सुनुवार, देवीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारी र भूमिनन्द भण्डारीलाई पनि उनीहरूसरह नै ४ महिना कैद र १५ हजार जरिवाना हुने फैसला गरेको छ ।

कूटनीतिक राहदानी प्रयोग गर्नेहरू पृथ्वी छन्त्याल, सीता साह (लीला छन्त्याल), निर्मल बानियाँ र केदारनाथ शर्मा (चापागार्इं) प्रत्येकलाई डेढ वर्ष कैद र ७५ हजार जरिवाना भएको छ ।

बिचौलियाहरू देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, डिलबहादुर घर्ती र सन्तोष उप्रेतीलाई १ वर्ष कैद र ५० हजार जरिवाना भएको छ ।

राहदानी दुरुपयोग प्रकरणमा संलग्न भनी आरोप लागेका सभासदहरू नारदमुनि राना, हरिचरण साह र अध्यागमनका तत्कालीन प्रमुख खडानन्द ढकालले भने विशेषबाट सफाइ पाएका छन् । अख्तियारले २०६८ वैशाख २८ गते विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेषले पुर्पक्षको आदेश गर्दै तीनै सभासदबाट १५ लाख रुपैयाँ धरौटी लिएको थियो । मुद्दा दायर भएपछि सबै सभासद निलम्बनमा परेका थिए ।

यादवको कूटनीतिक राहदानी २००८ अगस्ट १२ मा र साहको २००८ जुलाई २५ मा जारी भएको थियो । अबुधाबी अध्यागमनको नियन्त्रणमा रहेका पृथ्वीले १ करोड ६० लाख नेपाली रुपैयाँ तिरेर कूटनीतिक राहदानी लिएको बयान दिएका थिए । उनीहरूलाई राहदानी ऐन २०२४ अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । २०५१ देखि २०५६ बीचमा पनि तत्कालीन १३ सांसदहरूबाट रातो पासपोर्ट दुरुपयोग भएको थियो । तर तिनीहरूलाई कुनै कारबाही भएन । त्यसको छानबिन गर्न गठित पूर्वन्यायाधीश झुलेन्दप्रसाद छत्कुलीको आयोगले रातो पासपोर्ट लिनेदिने दुवै थरीलाई कारबाही गर्नुपर्ने सुझाव

दिएको थियो ।

प्रकाशित मिति: २०७२ श्रावण २७ ०७:५०

,

0 comments

Write Down Your Responses