पुनरावेदनको फैसला उल्टाउने सर्वोच्चको आदेश

काठमाडौ, पुस ४ - उनी बिहीबारदेखि हल्का भएकी छन् । 'न्याय नपाइएला कि' भन्ने बोझ अन्त्य भएको छ । ढिलै भए पनि मैले न्याय पाएँ,' सपना भन्छिन्, 'अपराधीले सजाय पायो ।'

बलात्कारीलाई सफाइ दिने पुनरावेदन अदालत पोखराको ५ वर्षअघिको फैसला उल्टाउँदै सर्वाेच्चले बिहीबार अभियुक्तलाई कसुरदार ठहर गरेपछि उनले न्यायको महसुस गरेकी हुन् ।


न्यायाधीशहरू गोविन्दकुमार उपाध्याय र देवेन्द्र गोपाल श्रेष्ठको संयुक्त इजलासबाट भएको फैसलाले सपनाको न्याय पाउने सपना पूरा भएको हो । फैसलाअनुसार नेपाल टेलिकमका तत्कालीन शाखा अधिकृत यादव घिमिरे पाँच वर्ष कैद बस्नुपर्नेछ । सात वर्षअघिको एक कालो रात उनले सपनाको सपनालाई लुटिदिएका थिए । तिनताक सपना २२ वर्षकी थिइन् भने यादव ४३ वर्षका ।

फैसला अनुसार घिमिरेले पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति पनि दिनुपर्नेछ । यादवले जिल्ला अदालतको फैसलाअनुसार एक वर्ष ९ महिना कैद भोगिसकेका छन् । त्यो कटाएर अब उनी तीन वर्ष तीन महिना जेल बस्नुपर्नेछ ।

सुरु मुद्दामा उनलाई जिल्ला अदालत कास्कीले दोषी ठहर गर्दै ६ वर्ष कैद र डेढ लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । 'आफ्नो इज्जत, मान प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने र सुन्दर भविष्यको पारिवारिक तथा सामाजिक जीवनमा प्रतिकूल स्थितिको सृृजना गर्ने प्रकृतिको उजुरी लिएर' जिल्ला न्यायाधीश हरिकुमार पोखरेलले २०६५ माघ २९ गते गरेको फैसलाको पेट बोलीमा उनलाई दोषी करार गर्नुपर्नाको कारणमा लेखिएको छ, 'कुनै स्वाभिमानी महिला प्रहरी कार्यालय, स्वास्थ्य परीक्षण्ाार्थ अस्पताल हुँदै कानुन र न्यायको शरण्ामा बिनाकारण्ा अदालतसम्म आइपुग्दैनन् ।'

सपनाले फसाएको भन्दै जिल्ल्ाा अदालतको फैसलाविरुद्ध घिमिरेले पुनरावेदन अदालत पोखरामा निवेदन दिएका थिए । आफू निर्दाेष भएकाले सफाइ पाउनुपर्ने उनको जिकिरलाई पुनरावेदन अदालतका तत्कालीन न्यायाधीश ओमप्रसाद सुवेदी र खेमराज शर्माको संयुक्त इजलासले २०६६ साल असोज २९ गते स्वीकार गर्दै जिल्लाको फैसला उल्ट्याएको थियो । अनि सपनाको अभियोगलाई झुटो सावित गरिदिएको थियो ।

त्यसपछि सपनाको मनको घाउ झनै गहिरियो । 'उसले मेरो अस्मिता लुटेको थियो, पुनरावेदन अदालतको फैसलाले त मेरो इमानदारिता नै हरण गरिदियो,' उनी भन्छिन्, 'घिमिरेलाई निर्दाेष भनेर छाड्नुको मतलब थियो, मैले झुटो अभियोग लगाएँ र उसलाई फसाएँ । फैसला सुनेपछि म मरेजत्तिकै भएकी थिएँ ।'

पुनरावेदनको फैसलाले पीडित युवतीको पक्षमा न्याय नपरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वाेच्च अदालतमा त्यसै वर्ष फागुनमा पुनरावेदन दिएको थियो ।

सपना स्याङ्जाको स्थानीय पत्रिकामा संवाददाता थिइन् भने घिमिरे स्याङ्जामै टेलिकमका जागिरे । सपना २०६४ पुस १७ गते कहिल्यै भुल्न सक्दिनन् । त्यस दिन टेलिकममा जागिर लगाइदिने प्रलोभन देखाएर घिमिरेले उनलाई पोखरा ल्याएका थिए ।

खाना खाइसकेपछि घिमिरेले आफूलाई मार्ने धम्की दिएर जबरजस्ती करणी गरेको सपनाले बताइन् । घिमिरेले उनलाई सुरुमा घारीपाटनस्थित आफ्नी दिदीको घर जाने भनेर एउटा घरमा पुर्‍याएका थिए । 'तर त्यो त दिदीको घर होइन रहेछ' उनी भन्छिन्, 'खाना खाइवरी म सुत्न भनेर आफ्नो कोठामा आएपछि ऊ पनि भित्र पस्यो, केही बेर कुरा गरेर बस्यो अनि एक्कासि चुकुल लगाएर झम्टियो ।'

कराए ज्यान लिने धम्की दिएर घिमिरेले उनलाई जबरजस्ती गरे । करणीपछि उनी निदाएका थिए भने पीडित युवतीले मोबाइलमार्फत एक महिला साथीलाई म्यासजे गरेर आफू बलात्कृत भएको जानकारी दिएकी थिइन् ।

त्यसपछि अर्का एक पत्रकार र मानवअधिकारकर्मी महिलाले उनलाई फोन गरेर उनी बसेको ठाउँमा प्रहरी पठाएका थिए ।

'अनि म बिस्तारै बाहिर निक्लेँ र टाइलेटमा चुकुल लगाएर लुकेँ,' उनी भन्छिन्, 'बाहिर पुलिस आयो र घिमिरेलाई पक्रियो ।'

ऊ विरुद्ध मुद्दा नचलाउन बरु क्षतिपूर्ति लिएर कुरा मिलाउन धेरै दबाब आए पनि उनले मानिनन् । प्रहरी र सरकारी वकिलले पनि उनलाई त्यही सल्लाह दिए । घिमिरेकी पत्नीले हात जोडेरै उनलाई मनाउन खोजिन् । 'तर मलाई न्याय पाउनु थियो,' सपना भन्छिन्, 'मैले कसैको सुनिनँ ।'

जिल्ला अदालतले उनकै पक्षमा फैसला गरिदियो । सपनाको मनमा थोरै भए पनि सन्तुष्टिको मुना पलाएको थियो । तर पुनरावेदनको ठहरले त्यसलाई ठहरै पारिदियो ।

त्यसपछि उनको अघिल्तिर एउटै बाटो थियो- सर्वाेच्च अदालत । उनी मुटुमा बलात्कृत हुनुको पीडा बोकेर न्यायको खोजीमा ५ वर्ष सर्वाेच्चको पेसीको लामो माखेसाङलोमा अल्भिmन पुगिन् । 'मलाई मार्ने धम्की आयो, मेरो फोन पनि ट्यापिङ भयो,' उनी भन्छिन्, 'ज्यानकै असुरक्षा भएपछि मलाई परिवारले विदेश पठायो ।'

उनी गइन् दुबई । तर जति पर पुगे पनि मन खाली सर्वाेच्चमा पुगेर अल्भिmन्थ्यो । न्यायको आसले मन कल्पिन्थ्यो । पोहोर उनी फर्किन् तर मुद्दा अघि बढेकै थिएन । पेसीमा चढ्थ्यो र हट्थ्यो धेरै पटक । यसरी ५ वर्ष बिते । अहिले उनी सौन्दर्य विज्ञानको तालिम लिइरहेकी छन् । मानिसका मुहारलाई कसरी सौन्दर्य प्रसाधनहरूले राम्रो पार्ने भन्ने सिक्दै गर्दा सर्वाेच्चबाट पाएको न्यायले ढिलै भए पनि उनको मन उज्यालो भएको छ । 'लामो झन्झटबाट एक किसिमले छुटकारा पाएँ,' उनले भनिन्, 'अब मलाई अघि बढ्नु छ ।' (सपना पीडित युवतीको परिवर्तित नाम हो ।)

0 comments

Write Down Your Responses