सभासद जनार्दनको टाउकामा ७ टाँका ( तस्विर सहित )

६ माघ, काठमाडौं । बन्दकर्ता र सुरक्षाकर्मीको झडपका क्रममा लाठी प्रहारबाट घाइते भएका एमाओवादी सभासद जनार्दन शर्मा प्रभाकरको टाउकामा सातवटा टाँका लगाइएको छ । काठमाडौंको बिजुलीबजारमा मंगलबार प्रभाकरमाथि लाठी प्रहार भएको थियो ।

दिउँसै धम्की आएको थियो


सभासद शर्मालाई दिउँसै इन्टरनेट नम्बरबाट फोन आएको उनले अनलाइनखबरलाई बताए । शर्माका अनुसारलाई फोन गर्ने व्यक्तिले सोमबार राति संविधानसभामा सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेको भन्दै  उनीमाथि आक्रमणको धम्की दिएको थियो ।

मलाई दिउँसै धम्की आएको थियो, नर्भिक अस्पतालको शैयाबाट अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने, ‘प्रचण्ड बिजुली बजारको कार्यक्रमलाई सम्बोधन गर्न आएकाबेला हुलमुल भयो, त्यहीबेला अगाडिबाटै एक व्यक्तिले टाउकोमा लाठी हान्यो ।
एमाओवादी अध्यक्ष प्रचण्ड बन्दकर्ताको सभालाई सम्वोधन गर्न बिजुलीबजार पुग्नेबेला बन्दकर्ता र  प्रचण्डकै सुरक्षाकर्मीबीच झडप भएको थियो ।
शर्माले संयमित रहन कार्यकर्ताहरुको भीडलाई आग्रह गरिरहेका थिए । त्यहीबेला उनीमाथि अकस्मात आक्रमण भएको थियो । त्यसलगत्तै उनका सहयोगी विक्रान्तलगायतका कार्यकर्ताहरुले उनलाई अस्पताल लगेका थिए ।
आक्रमणबाट एमाओवादी सभासद अनिता परियार र अर्का एकजना सभासद पनि घाइते भएका छन् । उनीहरुलाई पनि उपचारका लागि अस्पताल पुर्‍याइएको छ । घटनामा प्रचण्डका सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

0 comments

Write Down Your Responses