बिरामी मारेर महात्मा गान्धी बन्ने अधर्मी सोच त्याग डाक्टर केसी
डाक्टर गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधारका केही माग राखेर पाचौंपटक अनसन बसेपछि त्यसलाई लिएर चिकित्सा क्षेत्रमा पनि बहस भएको छ ।
केसीको अनसनलाई ठीक वा बेठीकको कोणबाट व्याख्या र विश्लेषण गर्न थालिएको छ । डाक्टर केसीले योपटक आफू निर्णायक आमरण अनसन बसेको बताएका छन् । केसीले उठाएका मागमा धेरै विमति जनाउनुपर्ने कारणहरु नहुन सक्छन् ।
मागका हिसाबले ती सामान्य छन् । नेपालको स्वास्थ्य क्षेत्रमा विकृति भएको कुरामा कुनै शंका छैन । तर माग पुरा गराउन केसीेले अपनाएको तरिका सर्वथा गलत र निन्दनीय छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक समाजको वौद्धिक व्यक्ति हो । स्वास्थ्य क्षेत्र पढेलेखेका मानिसहरुको जमात भएको क्षेत्र हो । तर उनका गतिविधिले चिकित्सकको पेशागत धर्ममाथि नै गम्भीर प्रश्न खडा गरेको छ । चिकित्सकभित्रको कमजोर मानवीय पक्ष उदाँगो भएको छ ।
के गोविन्द केसी महात्मा गान्धी हुन् ?
अनसन भन्ने कुरा राजनीतिमा जायज मानिन्छ । यो राजनीतिबाटै आएको हो । तर स्वास्थ्य क्षेत्रमा अनसन कुनै हालतमा जायज हुँदैन । स्वास्थ्य क्षेत्र अत्यावश्यक सेवाको क्षेत्र हो । त्यहाँ हड्ताल गर्नु गैरकानूनी त हुँदै हो । यो घोर अमानवीय पनि हो । आमरण अनसन आफैंमा गम्भीर कुरा हो । तर केसीको अनसनले आमरण अनसनकै अपमान गरेको छ । त्यसलाई घटिया कार्य र सस्तो बनाइदिएको छ ।
केसीको अघिल्लोपटकको आमरण अनसनले एकजना डीन परिवर्तन गरायो । उपलब्धीका हिसाबले त्यो केही होइन । तर के उनले कहिल्यै सोचे उनका कारणबाट अस्पतालको सेवा प्रभावित हुँदा कति बिरामी मारमा परे ?
कतिले उपचार नपाएर मरे ? घरबास बेचेर उपचारका लागि अस्पताल आउने गरिब बिरामीका बारेमा उनले एक मिनेट कहिल्यै सोचे ? अस्पतालमा उपचार बन्द हुँदा बिरामीका आफन्तले पाएको सास्तीबारे उनलाई थाहा छ ? अहिले पनि यसअघिकै जस्तो त्रिवी शिक्षण अस्पतालका आवासीय चिकित्सक, मेडिकल एसोसिएसन र विद्यार्थीले ओपीडी सेवा बन्द गराएका छन् । त्यसबाट दैनिक हजारौं बिरामी उपचार पाउनबाट बञ्चित छन् । के यसले हामी चिकित्सकहरुको पेशाको ओज, गरिमा र जिम्मेवारीमा ह्रास ल्याएको छैन ? चिकित्सकका कारण कसैको ज्यान जानु त परैआजोस एकजना बिरामीले सास्तीसमेत पाउनुहुन्न ।
यो हाम्रो पेशाको आधारभूत मूल्य र मन्त्र हो । तर गोविन्द केसीको आन्दोलनका कारण चिकित्सक पेशा नै बदनाम हुने खतरा बढेर गएको छ । उहाँले एकाध मेडिकल कलेजले सम्बोधन पाउनु हुँदैन भन्ने नाममा राजनीति प्रेरित हड्ताल गरेर बिरामीको बाँच्न पाउने अधिकार छिन्न खोज्नुभएको छ । मानिसको बाँच्न पाउनुपर्ने अधिकारका अगाडि डा. केसीले राखेका माग केही होइनन् । मेरो आग्रह छ, कि डाक्टर केसी कसैको स्वार्थी उक्साहटमा लागेर पेशालाई नै बदनाम गराउने अपराधकर्ममा तपाईं नलाग्नुस् ।
के तपाईंले अघिल्लोपटक गरेको अनसनबाट प्राप्त गरेको उपलब्धी र बिरामीले उपचार नपाउँदा पाएको सास्तीलाई कहिल्यै तुलना गरेर हेर्नुभएको छ ? अघिल्लो अनसनका कारण गरिब बिरामीले पाएको सास्तीको तथ्यांक नलिकाली अर्को अनसनमा बस्नु के तपाईंको नैतिकताले दिन्छ ? डा. केसीको एकोहोरो समर्थनमा उननेहरुले पनि कहिल्यै त्यसको तत्यांक निकालेका छन् ? के उनीहरुले त्यसबेला समयमै उपचार नपाउँदा कति बिरामीको अकालमा ज्यान गयो, कति मानिसले अनावश्यक दुःख र हैरानी पाए र अब कतिले दुःख पाउँदैछन् भन्नेबारेमा सोचेका छन् ?
हाम्रो पेशागत धर्मले भन्छ कि ‘डाक्टरको उपचार नपाएर एकजना बिरामीले पनि अकालमा मृत्युवरण गर्नु हुँदैन । एउटै बिरामी अस्पतालबाट उपचार नपाइकन फर्कनु हुँदैन । त्रिवी शिक्षण अस्पताल सरकारी अस्पताल हो । त्यहाँ सरकारको ठूलो लगानी छ । अन्य अस्पतालभन्दा उपचार सेवा सस्तो छ । गरिबले सस्तोमा उपचार पाइरहेको अस्पताल बन्द गराएर नाफाका लागि खुलेका महंगा अस्पतालमा बिरामी पठाएर तपाईंले कसको सेवा गरिरहनुभएको छ, डक्टरसाहेब ? त्यहाँ उपचारका लागि बाहिरबाट रेफर भएर आएका बिरामीले अघिल्लोपटक महंगो अस्पतालमा उपचार गर्दा कतिको घरखेत गयो होला, यसपटक कतिको घरबार जान्छ होला, यसबारे सोच्ने फुर्सद न डाक्टर केसीलाई छ, न उनको हाउगुजीको पछाडि दगुर्नेहरुलाई नै छ । डाक्टर केसीको आन्दोलनले सुरुमै बिरामीलाई सास्ती दिइसक्यो । अब उनको आन्दोलनको लक्ष्य सही छ कसरी भन्ने ?
प्रजातन्त्र भनेको चुनिएका व्यक्तिहरुको शासन व्यवस्था हो । मुलुकमा चुनिएका व्यक्तिहरुले छानेर बनाएको सरकार छ । जनताबाट चुनिएका प्रतिनिधिको सरकारले विद्यमान कानुन र मुलुकको अवस्था र आवश्यकता हेरेर जुनकुनै निर्णय गर्न पाउँछ । यसको अर्थ सरकारले प्रजातन्त्रका नाममा मनलाग्दी गर्न पाउँछ भन्ने कदापी होइन ।
प्रजातन्त्रमा जनता नै सबैभन्दा शक्तिशाली हुन्छन् । जनताले सरकारका गतिविधिमा ‘वाच डग’ को काम गर्ने हो । अति नै भयो भने सामूहिक रुपमा दबाब पनि दिने हो । तर कुनै अमुक व्यक्तिले सिंगो व्यवस्था र प्रणालीमाथि यसो गर र उसो गर भनेर ‘डिक्टेट’ गर्न मिल्दैन ।
आफूले भनेजस्तो हुँदा प्रजातन्त्र हुने अन्यथा नहुने भन्नेजस्तो सोच राख्नु अधिनायवकदाव हो । यो मेडिकल कजेललाई सम्बनधन दिनु हुँदैन, यसलाई दिनुपर्छ भन्ने केसीजी तपाईं को हो ? त्यसका लागि तपाईं एकजनाले मात्र भनेर हुँदैन । तपाईंको नजरमा खराब भएको मानिस खराब नहुन पनि त सक्छ । ऊ अरुको नजरमा सही भएर तपाईंको नजरमा सही भएको मानिस अरुको नजरमा खराब पनि हुनसक्छ ।
त्यसैले यो मेडिकल कलेजका सञ्चालक ठीक छन्, उनलाई सम्बन्धन देऊ, यसका बेठीक छन्, यीनलाई नदेऊ भन्न पाउने तपाईं को हो ? अनसनका नाममा तपाईंले गरेका गतिविधिले अनसनकै अपमान गरेको छ । आमरण अनसन भनेको त वृहत राष्ट्रिय स्वार्थ बोकेको हुनुपर्छ, महात्मा गान्धीको जस्तो । मैले भनेको डिन हुनुपर्छ, मैले भनेको मेडिकल कलेजलाई सम्बोधन देऊ, मैले नभनेकालाई नदेऊ भन्ने सानो र पदको छुद्र स्वार्थ बोकेर महात्मा गान्धी बन्ने सपना नदेख्नुस्, डाक्टरसाब ।
रत्नपार्कमा बस अनसन
अनसन कसैको नैसर्गिक अधिकार होला । बस्न चाहनेले बस्न पाउँछ । तर अरुलाई समस्यामा पार्ने गरी अनसन बस्न पाइँदैन । अझ आमरण अनसन त झन् बस्नै मिल्दैन । गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा अनसन बसेका छन् । अस्पताल कुनै आन्दोलनको अखडा हो कि उपचार गर्ने थलो हो ? अनसन बस्ने रहरै हो भने डा. केसीले रत्नपार्कमा बसे हुन्छ । उनको माग त्रिविसँग हो । शिक्षण अस्पतालसँग होइन । त्रिविको कार्यालय कीर्तिपुर अगाडि अनसन बसे हुन्छ । त्यहाँ ठाउँ पनि फराकिलो छ । बिरामीलाई पनि असर गर्दैन । तर हस्पिटलमा अनसन बस्न पाइँदैन । डक्टरजस्तो मान्छेलाई थाहा छ कि एउटा बिरामीले पनि दुःख पाउनु हुँदैन । आफू अनसन बस्दा कति बिरामीले सास्ती पाउलान् यो उनले सोच्नुपर्छ ।
माफियाका नाममा यस्तो गर्न पाइन्छ ?
डा. केसीले भनेजस्तो नेपालको स्वास्थ्य क्षेत्रमा माफियातन्त्र हाबी छ । त्यो सत्य हो । तर माफियातन्त्र अन्त्यका नाममा उनले गरेका गतिविधि नाजायज छ । तर नेपालमा मेडिकल कलेजको धेरै आवश्यकता छ भन्ने कुरा पनि बिर्सन मिल्दैन । नेपालमा पर्याप्त मात्रामा शिक्षण अस्पताल नहुँदा वर्षेनि सयौं विद्यार्थी एमबीबीएस अध्ययनका लागि विदेश जाने गरेका छन् । अरबौं पैसा विदेशिएको छ । नेपालमै अध्ययन गर्ने ठाउँ भए त्यत्तिको पैसा बाहिरिने थिएन । विदेश पढेका अधिकांश चिकित्सक नेपाल फर्केर आउँदैनन् ।
दश जनशक्ति पलायन हुनु मुलुककै लागि घाटाको विषय हो । नेपालमा मेडिकल कलेज खोल्नका लागि सम्बन्धन दिनुअघि राजनीतिक स्वार्थबाट मुक्त, नेपाल देश बुझेका मानिसहरु रहेको अधिकार सम्पन्न समिति गठन गरेर त्यसको सिफारिसअनुसार काम गर्न सकिन्छ । त्यसले मुलुकका लागि कति चिकित्सक चाहिने हो त्यसको लेखाजोखा र मेडिमल कलेजहरुको भौतिक पूर्वाधार हेरेर सम्बन्धन दिने नदिनेबारे सुझाव दिनसक्छ । तर एउटा व्यक्तिले माफियातन्त्र हाबी भयो, मैले भनेकालाई मात्र सम्बन्धन दिनुपर्छ, अरुलाई मिल्दैन भन्नु चाहिं सर्वथा गलत हो ।
उपचार नपाएर बिरामी मरे भने केसी जिम्मेवार
डा. केसीले माफियाहरुका कारण नेपालमा एउटा पनि राम्रो डाक्टर उत्पादन हुँदैन भनेका छन् । उनले नेपालमा एउटै खराब डाक्टर उत्पादन हुन दिन्न भन्ने घोषणा गरेका रहेछन् । के उनले भनेका मेडिकल कलेजमा पढेका मात्र डाक्टर, अरु सबै पत्रु हुन ? के अहिलेसम्म उनको अनुमतिबिना खेलेका मेडिमल कलेजले उत्पादन गरेका सबै डाक्टर खराब भन्न खोजेका हुन् ? उनको यो आरोपमा राजनीतिकरणको ह्वास्सै गन्ध आएको छ । मेडिकल कलेजको मापदण्डतोक्ने सरकार र उसका निकायहरुले हो ।
गोविन्द केसीले मापदण्ड तोक्न मिल्दैन । मैले भनेका सबै ठीक, अरु सबै बेठीक भन्ने मुठी मानसिकता उनले त्याग्नुपर्छ । हो सरकारले मेडिकल कलेज सञ्चालनको अनुमति दिँदा मापदण्ड हेर्नुपर्छ । भ्रष्टाचार भएको छ कि छैन बुझ्नुपर्छ । अधिकांश मेडिकल कलेज काठमाण्डु र वरिपरि केन्द्रित छन् । मुलुकका अन्य भागको आवश्यकता तिनले पूरा गर्न सक्छन् कि सक्दैनन् त्यो अध्ययन गर्नुपर्छ ।
तर सम्बन्धन नै रोकेर गरिबका छोराछोरीलाई डाक्टर बन्नबाट रोक्न मिल्दैन । बाहिर पढेका त के काठमाण्डुमै पढेका चिकित्सक पनि बाहिर पलायन भइरहेका छन् । चिकित्सकको पढाई नसकिँदै अमेरिका, बेलायत र अष्टे«लियाको फर्म भर्ने प्रवृत्ति विद्यमान छ । यस्तो किन भएको छ भने मेडिकल शिक्षा महंगो छ । धनीमानी,घुसखोर र पहुँचवालाका छोराछोरी मात्र डाक्टर हुन सक्छन् ।
काठमाण्डु बाहिर मेडिमल कलेज खोल्ने र सम्बन्धन दिने बेलैमा निश्चित प्रतिशत गरिबका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था मिलाउने हो भने उनीहरु पनि डाक्टर हुन पाउँथे । तर त्यसबारे केसीजीले किन कहिल्यै सोच्नुभएको छैन । तपार्ईंले ति गरिबका छोराछोरीलाई डाक्टर बनाउनेबारे कहिल्यै एक मिनेट सोच्नुभएको छ ? गाउँमै वा जिल्लामै मेडिकल कलेज खुल्यो र एउटा गरिबको छोरा डाक्टर बन्यो भने ऊ बाहिर नजान सक्छ ।
गाउँमै बसेर सेवा दिन सक्छ । ग्रामीण क्षेत्रमा डाक्टर नबस्ने समस्या छ । गरिबको छोरा डाक्टर भएर गाउँमै बस्यो भने त्यसको फाइदा मुलुकलाई नै हुने हो । तर अहिले त यस्तो अवस्था छ कि सहरी क्षेत्रमै डाक्टर पाइँदैन । सहरमा खुलेका मेडिकल कजेल, अस्पताल र नर्सिङहोममा समेत चिकित्सक नपाएर बिहार र युपीमा पनि नबिनेका इण्डियन डाक्टर ल्याउनुपरेको स्थिति छ ।
यसबारेमा सोच्नेको साटो डिनको बारेमा, सम्बन्धनको बारेमा मात्र किन सोच्नुभएको छ ? तपाईंको अनसनका कारण सिकिस्त बिरामीले उपचार नपाएर ज्यान गुमायो भयो त्यसको नैतिक जिम्मेवारी डा. केसीले लिनुपर्छ । मेडिकल एसोसिएसनले देशव्यापी हड्ताल गर्ने भनिरहेको छ । त्यसो भयो भने जनताले कति सास्ती पाउनुपर्ने हो थाहा छैन । ३० दलीय मोर्चाले राजनीतिक घड्ताल गरेको छ । डा.केसीका कारण स्वास्थ्य क्षेत्र हड्ताल हुने भयो । मुलुकलाई कति दिनसम्म हड्तालै हड्तालको मुलुक बनाउने हो ?
.jpg)

0 comments
Write Down Your Responses