पशुपतिमा भण्डारीको विरोध, ढुकुटीमा भारतीय प्राविधिक छिरे
Apr 1, 2015
१८ चैत, काठमाडौं ।
पशुपतिनाथ मन्दिरको पुननिर्माण सम्बन्धमा अध्ययनका लागि भारतबाट आएका प्राविधिकलाई मन्दिरको सहायक ढुकुटीमा प्रवेश गर्न दिइएको भन्दै भण्डारीहरुले विरोध गरेका छन् । पशुपतिनाथका भण्डारीहरुले मन्दिरको सहायक ढुकुटी र मुल ढुकुटी निकै सम्वेदनशिल भएको भन्दै भारतीय प्राविधिकलाई निर्वाध प्रवेश गर्न दिनु आपत्तिजनक भएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साउन महिनामा नेपाल भ्रमणका क्रममा पशुपतिनाथको पुननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार भारतबाट आएको इन्जिनियरसहितको प्राविधिकहरुको ८ सदस्यीय टोलीले मंगलबार सहायक ढुकुटीमा प्रवेश गरी वर्षौं पुराना भाँडाकुँडा निकालेको थियो । उक्त प्राविधिक टोलीले सहायक ढुकुटीमा राखिएका भाँडाकुडा वाहिर निकालेर फोटो खिची अलपत्र अवस्थामा छोडेको छ ।
मन्दिरका भण्डारीहरुले भारतीय प्राविधिकलाई मन्दिरका निकै सम्वेदनशिल क्षेत्रमा निर्वाध आवतजावत गर्न दिएर फोटो खिच्न दिनुलाई आफूहरुले निकै गम्भिरतापूर्वक लिएको बताएका छन् । उनीहरुले भारतले सहयोग गर्ने भयो भन्दैमा भट्ट र भण्डारी वाहेकलाई प्रतिबन्ध लगाइएको स्थानमा भारतीय टोलीलाई प्रवेश दिएको विषयमा पशुपति क्षेत्र विकास कोषले जवाफ दिनुपर्ने माग गरेका छन् ।
मन्दिरका भण्डारीहरुको संस्था पशुपतिनाथ सेवक संघले मन्दिरमा सम्वेदनशिल क्षेत्रहरुमा भारतीय प्राविधिकलाई निर्वाध आवतजावत गर्न दिइएको विरोधमा आन्दोलन नै गर्ने तयारी गरेको छ ।
.jpg)

0 comments
Write Down Your Responses