विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइमा विवाद उत्पन्न !


Apr 1, 2015

१८ चैत, काठमाडौ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइबारे नेपाल र चीनबीच विवाद उत्पन्न भएको छ । चीनले एकतर्फी रूपमा सगरमाथाको भनिँदै आएको उचाइभन्दा कम रहेको दाबी गर्दै आफूले मापन गरेको नयाँ उचाइ स्वीकार्न नेपाललाई दबाब दिएपछि विवाद भएको हो ।


उसले आफ्नो मापनको आधार वैज्ञानिक र आधुनिक रहेको दाबी गर्दै आएको छ । नेपालले चीनले गरेको सगरमाथाको उचाइको मापनलाई मान्यता दिएको छैन । चीनले नेपालसँग सहमति नहुँदै एकतर्फी रूपमा सगरमाथाको फरक उचाइ आफ्ना पाठ्यपुस्तकमा राखिसकेको छ । उसका सबै कागजातमा सगरमाथाको उचाइ विश्वभर स्वीकारिएको भन्दा फरक छ ।

चीनले सगरमाथाको चुचुरामा रहेको चट्टानको उचाइलाई आधार मानेर सगरमाथाको उचाइ डेढ मिटर कम अर्थात् ८ हजार ८ सय ४६.५ मिटर रहेको र त्यसैलाई नेपालले मान्यता दिनुपर्ने प्रस्ताव गरेको हो । चुचुरामा २ फिटभन्दा बढी अर्थात् डेढ मिटर हिउँ रहेकाले वास्तविक उचाइ डेढ मिटर कम कायम हुनुपर्ने उनको जिकिर छ ।

‘चुचुरामा रहेको हिउँको उचाइ घटबढ भइरहने हुनाले सगरमाथाको उचाइ चट्टानका आधारमा कायम हुनुपर्ने प्रस्ताव चीनको छ,’ एक नेपाली अधिकारीले भने । नेपालले सन् १९४९ मा भारतको सहयोगमा र सन् १९८५ मा इटालीको सहयोगमा मापन गरी तय गरेको सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर हो । नेपाल यसमै अडिग छ । आजको कान्तिपुरमा खबर छ ।

0 comments

Write Down Your Responses