कसैले धम्काउदैमा लोकतान्त्रीक प्रक्रियामा जान डराउनु हुदैनः नेतृ कोइराला




नेपाली कंग्रेसकी नेतृ सुजाता कोइराला पुर्व प्रधानमन्त्री तथा नेपालको शान्त्ति प्रक्रियाका नायकको रुपमा परिचित गिरिजा प्रसाद कोइरालाकी छोरी हुनुहुन्छ । उहाँले नेपालको उपप्रधान तथा परराष्ट्र मन्त्रीको समेत जिम्मेवारी सम्हाली सक्नु भएको छ भने कांग्रेस विदेश विभाग प्रमुख समेत हुनुहुन्छ । गिरिजा बाबुको शान्त्ति, संविधान, लोकतन्त्र र स्थाइत्व कायम गर्ने अभियानलाई साकार पार्न निरन्तर रुपमा खटिरहनु भएको छ । संविधान निमार्णका क्रममा शत्ता पक्ष र प्रतिपक्ष विच विवाद देखा परेपछि उहाँले समाधानका लागी तिन ( दलहरुविच अधिकतम सहमति, बिवादीत विषयहरुलाई थाती राखेर र लोकतान्त्रीक प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने ) विकल्पलाई पार्टी, संविधानसभा र दलहरुविच भएको छलफलमा पटकपटक अगाडि सार्दै आउनु भएको छ । संविधान निमार्ण र राजनीतिमा देखिएको वितण्डामा केन्द्रीत रहेर नेतृ कोइराला संग माइ अर्जुन अधिकारीले गरेको कुराकानीको केहि अंशः

राजनीतिक गतिरोध जारी रहेको अवस्थामा सहमतिका आधारमा संविधान आउने आधार देख्नु हुन्छ ?
जनयुद्धको घोषणा गरेर हतियार बोकी हत्या हिंसा गर्दै हिडेको तत्कालीन नेकपा माओवादीलाई नेपाली कंग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले हतियार बिसर्जन गरेर शान्त्तिको बाटोमा ल्याउन तयार हुनु भयो । त्यसै अनुसार राष्ट्रलाइ निकास दिन भन्दै हतियार सहितको माओवादी सित नेपाली कंग्रेसले हार्ने स्थिति रहदा रहदै पनि देशमा शान्त्ति र स्थिरता कायम हुन्छ भनेर गिरिजा बाबुले संविधान सभाको चुनाव सम्पन्न गराउनु भयो । अन्तत्गत्व त्यो संविधानसभाले संविधान नै नदिइ विघटन हुन पुग्यो । माओवादीले हतियार राज्यलाइ बुझाएपछि संघीयता लोकतन्त्र, समावेशीता र राष्ट्रिय एकताको पक्षमा रहेको पार्टी नेपाली कंग्रेस संविधानसभाको चुनावमा जनताको अभिमतबाट पहिलो पार्टी बन्न पुग्यो । नेपाली कंग्रेस सहितका राजनीतिकदलहरुले एक बर्ष भित्रमानै लोकतान्त्रीक संविधान दिन्छौ भनेर चुनावका बेला जनतासमक्ष प्रतिवद्धता गरेका थियौं तर दिन सकिएन । त्यसैले हामीले अब जनतालाई लामो समय भुङ्ग्रामा राख्न मिल्दैन केहि दिनमै संविधान जारी गर्नु पर्छ । प्रक्रिया सुरु भैसकेको छ प्रस्ताव पेश गर्न दिईरहेका छैनन् प्रतिपक्षिले तर आइतवार बस्ने बैठकले केहि आसालाग्दो प्रगति गर्छ भन्नेमा हामी आसावादी छौं । जनता अझैपनि शान्त्ति ,स्थाइत्व , संविधान र विकासको पक्षमा उभिएका छन् । जनमतको कदर नेतृत्व लेवलमा बस्नेहरुले गर्नु पर्छ ।


तपाइहरुसंग बहुमत रहदा रहदैपनि लोकतान्त्रीक प्रक्रियामा जान अझै आनाकानी गरिहहनु भएको छ नी ?

संविधान भनेको कुनै व्यत्ति र अमुख पार्टीका लागी नभइ समग्र मुलुकका लागी हो । संविधान व्यत्ति र पार्टीलाइ भन्दा पनि राष्ट्रलाइ चाहिएको छ । त्यसैले हामीले लोकतान्त्रीक प्रक्रियाबाट संविधान जारी गर्नका लागी अव हिचकिचाउन आवश्यक छैन् । पदीय भागबण्डा नमिलेका कारण संविधान जारी गर्न तयार नभएको भए पदको भागबण्डा लगाए हुन्छ तर संघीयताको विषयमा भो पदीय बाडफाड जस्तो गरी भागबण्डा गर्न सकिदैन् । त्यसका कारण हाम्रो नेतृत्वले लोकतान्त्रीक प्रक्रियाबाट राष्ट्रलाई निकास दिने कुरामा अब डराउन मिल्दैन ।

नेपालमा कस्तो किसिमको संघीयता उपयुक्त हुन्छ ?

नेपाल यस्तो मुलुक हो जुन हिमाल पहाड र तराइ मिलेर बनेको राष्ट्र हो । हिमाल, पहाड र तराइलाइ छुट्याएर संघीय राज्य निमार्ण गर्न सकिन्न । तराइका जनतालाई पहाडका जनताबाट अलग बनाउने र पहाडका जनतालाई तराई र हिमालका जनताबाट अलग बनाउने कार्य हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । त्यसैले राजनीतिक, सामाजीक, आर्थीक, भौगोलीक, सास्कृतिक एैतिहासीक, पर्यटकीय र वातावरणीय लगायतका हिसावले पनि नेपालमा विद्यमान रहेको पाँच वटा विकास क्षेत्रलाइ नै पाँच वटा संघीय प्रदेशको मान्यता दिइ तीनीहरुको राजनीतिक सहमतिका आधारमा नामाङ्कन गरी विकास र विस्तार गर्दा सबैभन्दा उपयुक्त हुन्छ ।
देश संघीयतामा जानु भनेको सामान्य कुरा नभएकाले दिर्घकालीन योजना बनाएर अगाडि बड्नु पर्छ ।

नेपालमा नेतृत्वो कर्ता नै भएनन् भन्ने आरोप छ, गिरिजा बाबुको असामाहिक निधन पश्चात नेतृत्वको आवश्यकता खड्कीएको हो ?

गिरिजा बाबु भनेको नेपालको राष्ट्रिय नेता हुनुहुन्थ्यो । उहाँले अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो बेग्लै पहिचान बनाउन सफल बन्नु भएको थियो । धरै बर्ष निरन्तर रुपमा राजनीतिमा लागेकाले उहाँ समक्ष थुप्रै अनुभवहरु थिए । जहिले पनि गिरिजा बाबु सत्य र अहिँसाका पक्षमा अडिग भएर लागी रहनु भयो । उहाँसंग राजनीतिलाई सहज ढङ्गबाट बिश्लेषण गर्न सक्ने क्षमता थियो । त्यसैले उहाँलाई जनताको साथ र समर्थन कहित्यै टुटेन् । जनताको चाहना बमोजिम मात्रै गिरिजाबाबुले काम गर्नुभयो आफ्नो एकलौटि निर्णय कहित्यै भएन् । जसका कारण उहाको निधन पश्चात त्यस्तो नेतृत्व नेपालले पाउन नसक्दा सबैतिर गिरिजाबाबुको अभाव खड्कीएको जनतालाई महशुस भएको छ ।

जबरलाल नेहरुको निधन पश्चात उनकी छोरी इन्दिरा गान्धिले भारतको नेतृत्व गरीन् गिरिजाबाबुको निधन पश्चात नेपालमा तपाइले नेतृत्व गर्ने सम्भावना छ ?

म जहिले पनि जनचाहना अनुसार अगाडि बढ्न चाहान्छु । गिरिजा बाबुले मुलुकलाई शान्त्ति, स्थाइत्व, र संविधान दिएर देशलाइ विकास र अग्रगमनको बाटो तर्फ लैजाने सोच बनाउनु हुन्थ्यो । आज म पनि गिरिजा बाबुको अधुरो रहेको योजनाहरुलाई साकार पार्नका लागी निरन्तर लागी परिरहेको छु । जनताले चाहेको खण्डमा नेपालको नेतृत्व गर्न आफु सधै तयार र तत्पर रहेको छु । मुलुकले दिएको जिम्मेवारी बहन गरेर सफलता पुर्वक सम्पन्न गर्नका लागी मलाइ कुनै कठिनाइ छैन् ।

संविधानमा कस्तो परराष्ट्र नीति अवलम्बन गर्नु पर्छ ?

हामीले अख्तीयार गरेको परराष्ट्र नीति पञ्चसीलको सिद्धान्तमा आधारीत छ । यो नीतिलाई नेपालले लामो समय देखि अवलम्बन गर्दै आइरहेको छ । यो पञ्चशिलको सिद्धान्तमा आधारीत नीति अहिलेको समयमा पनि उत्तीकै सान्दर्भीक र समय अनुकुल रहेको छ । यो नीतिलाई आत्मसाथ गरेर संविधानमा स्पष्ट व्यवस्था गर्नुपर्छ । संविधानमा छिमेकी र मित्रराष्ट्रहरुलाइ अहित हुने गरेर पनि हैन आफुलाई हित हुने किसिमको परराष्ट्र नीति बनाउनु पर्छ ।

विदेश नीति भनेको राष्ट्रले बनाउने हो तर नेपालमा पार्टीनै पिच्छे विदेशनीति बनाउने गरिन्छ कीन ?

यो कुरा ठिक हो । विदेश नीति भनेको राष्ट्रले बनाउने हो । यो एउटै किसिमको हुन्छ तर नेपालमा राजनीतिक पार्टीहरुले यो कुरा मान्न तयार भैरहेका छैनन् । कुनैपनि पार्टीले आफ्नो स्वार्थ अनुसार परराष्ट्र नीति बनाएर मुलुक र मित्र राष्ट्रलाइ अहित हुने कार्य गरेको छ भन्ने सुनिएको छ । स्थीर सरकार र संविधान नभएकाले यस्तो परिस्थिति आएकाले हो । यसमा राजनीतिक दलहरु आफै इमान्दार भएर प्रस्तुत भएको खण्डमा सहज ढङ्गले समस्याको समाधान हुन्छ ।

0 comments

Write Down Your Responses